सौर्य समाचार
काठमाडौं ७ पुस । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम आएलगत्तै एमाले र माओवादी केन्द्रले पार्टी एकताको खाका कोर्न सुरु गरेका छन् । वाम गठबन्धनका मुख्य दल एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गर्ने गरी चुनावमा सहकार्य गरेका थिए । उनीहरूले सरकार गठन र पार्टी एकताको गृहकार्य सँगै सुरु गरेका हुन् ।
पार्टी एकताका लागि दुवै दलले आन्तरिक तयारी र एकता संयोजन समिति गठनबारे छलफल सुरु गरेका छन् । सरकार गठनमा केही समय लाग्ने देखिएपछि पार्टी एकताबारे आन्तरिक बहस अघि बढाउने निष्कर्षमा पुगेको एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।
पहिला पार्टीभित्र समान धारणा बनाउने र शीर्ष नेताबीच वार्ता गरी एकतालाई टुंगोमा पु¥याउने तयारी छ । एकता प्रक्रियालाई अघि बढाउन दुवै दलले छुट्टाछुट्टै बैठक बोलाएका छन् । बैठकमा दुवैतर्फ आफ्नो दलको आधिकारिक धारणा बनाउने र त्यसलाई संयुक्त बैठकमा छलफल गर्ने तयारी छ ।
एकताबारे छलफल गर्न एमालेले स्थायी समिति बैठक बोलाएको छ भने माओवादी केन्द्रले केन्द्रीय कार्यलयको बैठकमा यसअघि नै छलफल गरिसकेको छ ।
पार्टी एकता र निर्वाचनपछिको परिमाणबारे छलफल गर्नका लागि एमालेले शुक्रबार स्थायी समितिको बैठक बोलाएको पाण्डेले जानकारी दिए । बैठकमा पार्टी एकता, चुनावी समीक्षा र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने उनले बताए ।
पार्टी एकतापछि नेतृत्वलाई कसरी सञ्चालन गर्ने र जिम्मेवारी कसरी बाँडफाँट गर्ने भन्नेमा दुई दलबीच बहस चलिरहेको छ । दुवै पार्टीका शीर्ष नेताले यस विषयमा लगभग सहमति बनिसकेको दाबी गर्दै आएका छन् । तर, दोस्रो तहका नेताले भने फरक धारणा राख्दै आएका छन् । शीर्ष नेतृत्व र दोस्रो तहका नेताको भनाइमा एकरूपता ल्याउन एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
संयोजन समितिको बैठक शुक्रबार वा शनिबार बस्ने र पार्टी एकताबारे बृहत् छलफल हुने श्रेष्ठको भनाइ छ । ‘शुक्रबार वा शनिबार समितिको बैठक बस्छौँ,’ उनले भने, ‘त्यसपछि पार्टी एकताबारे छलफल चलाइनेछ ।’
सरकार गठनअगावै एकीकृत पार्टी बनाउनमा आफ्नो जोड रहने उनको भनाइ छ । ‘सकभर सरकार गठनभन्दा अगाडि पार्टी एकता गर्ने हाम्रो प्रयास रहन्छ,’ श्रेष्ठले भने, ‘यदि त्यसो गर्न नसकिए सरकार गठनपछि पार्टी एकता हुन्छ ।’
पार्टी एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम छन् भने माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल छन् ।
एमाले स्थायी कमिटी बैठक आज
एमाले स्थायी कमिटी बैठक शुक्रबार बस्ने भएको छ । एमाले उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा अपराह्न बैठक बोलाइएको हो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिमाण आइसकेपछि पहिलोपटक बैठक बस्न लागेको हो । बैठकमा माओवादी केन्द्रसँग पार्टी एकता, सरकार गठन, समानुपातिकतर्फ पार्टीले प्राप्त गर्ने सिटमा कस–कसलाई पठाउनेबारे छलफल हुने एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
प्रतिक्रिया