विरोधका बीच अर्को ‘पद्मावती’ आउने !

एजेन्सी मुम्बई । बलिउडमा विवादको चुलीमा रहेको सञ्जय लीला भन्साली निर्देशित चलचित्र ‘पद्मावती’ को विवाद सेलाउन नपाउँदै अर्को ‘पद्मावती’ बन्ने भएको छ ।

निर्माणकै चरणबाट विवादमा घेरिएको यो चलचित्रको १ डिसेम्बरमा प्रदर्शन गर्ने मितिसमेत सरेको छ ।  विवादका कारण चलचित्रको रिलिज नै अनिश्चित बनेको छ ।

यस चलचित्रलाई लिएर भारतका राजस्थान, गुजरात लगायतका विभिन्न राज्यमा विरोध गरिएको थियो । विरोधमा उत्रिएका विभिन्न समूहले निर्देशक सञ्जय लिला भन्साली र अभिनेत्री दीपिका पादुकोणको ज्यान मार्नेसम्मको धम्की खेप्नुपरेको छ ।

विवादको घेरामा रहेको ‘पद्मावती’ का बारेमा केही निष्कर्ष ननिस्की यही विषयमा केन्द्रित रहेर अर्को चलचित्र बन्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  खबरअनुसार नयाँ चलचित्रको नाम ‘मैं हूँ पद्मावती’ राखिने भएको छ । अशोक शेखर निर्माता रहेको चलचित्र ‘मैं हूं पद्मावती’ मा नयाँ अनुहारलाई समेटिने निर्माण पक्षले जनाएको छ । यो चलचित्रलाई राजस्थानी र हिन्दी भाषामा रिलिज गरिने जनाइएको छ ।

प्रतिक्रिया