–नयाँ संविधान कार्यान्वयनका लागि दोस्रो चरण २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन आउन ३ दिन बाँकी छ । सोमबार मध्यरातीदेखि मौन अवधि सुरु हुँदै छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश लेखकले पनि आफ्नो चुनावी क्षेत्रमा भेटघाटलाई तीव्र पारेका छन् । लेखकले विद्यार्थी जीवन ०३७ सालदेखि राजनीतिक यात्रा सुरु गरेका हुन् । कांग्रेस निकट नेपाल विद्यार्थी संघ सिद्धनाथ विज्ञान क्याम्पसको नेपाल विद्यार्थी संघको स्वतन्त्र विद्यार्थी युनियनको सचिवदेखि राजनीतिक यात्रा थालेका लेखक आइएस्सी सकेर त्रि–चन्द्र कलेज काठमाडौं, भारतस्थित लखनउमा नेपाली विद्यार्थी युनियन गठन गरेरसमेत नेपाली विद्यार्थीको हकहितका लागि संघर्ष गरे ।
अध्ययन सकेर गृह जिल्ला कञ्चनपुर आएका लेखक ०४८ सालमा नेपाली कांग्रेस कञ्चनपुरका सचिव भए । पहिलोपटक ०५६ सालमा चुनाव लडेका लेखकलाई पहिलो प्रयासले नै सफलता दिलाएको थियो । ०५८ सालमा कांग्रेसको सचेतक भएका लेखक ०६२÷६३ को जनआन्दोलनमा कांग्रेस प्रजातान्त्रिक समूहबाट आन्दोलन परिचालन समितिको सदस्य भई आन्दोलिनमा होमिए । दोस्रो जनआन्दोलनका क्रममा लेखक तीन महिना जेल परे । ०६४ सालमा समानुपातिक तर्फबाट सभासद् भएका लेखकको शान्ति प्रक्रियामा उल्लेखनीय भूमिका रह्यो ।
०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन निर्वाचन क्षेत्र नम्बर ४ बाट अत्याधिक मतले निर्वाचित भएका लेखक २१ मंसिर ०७४ मा हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका हुन् । लेखक श्रमराज्यमन्त्री हुँदै ०७३ सालमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका थिए । मन्त्री हुँदा लेखकले यस क्षेत्रको विकास निर्माणमा भूमिका निर्वाह गरेका थिए । यसपटकको निर्वाचनमा कांग्रेसका तर्फबाट लेखक र संयुक्त वाम गठबन्धनका उम्मेदवार डा. दीपक भट्टबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । ३ नम्बर निर्वाचन क्षेत्रमा ८७ हजार १ सय २५ मतदाता छन् । यिनै मतदाताले लेखक या भट्टको भाग्य रेखा कोर्नेछन् ।
निर्वाचनको प्रचारप्रसारमा होमिएका कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश लेखकसँग सौर्य दैनिकका लागि पत्रकार हरिस भट्टले गरेको कुराकानी :
तपाईंको प्रचारप्रसार कस्तो रह्यो ?
मेरो प्रचारप्रसार राम्रै भएको छ । यो निर्वाचनको क्षेत्र बढेको छ । हरेक मतदाताको घरदैलोमा पुग्न पाए राम्रो हुन्थ्यो, तर म हरेक टोल, बस्ती, वडामा पुगिसकेको छु । तथापि, पनि मैले आमसञ्चार एवं समाजिक सञ्जालमार्फत मतदातासँग भोट मागिरहेको छु । हेर्नुहोस, जति समय भए पनि अपुग हुँदोरहेछ । सबै साथीभाई एवं पार्टीका नेता कार्यकर्ताको साथले मेरो चुनाव प्रचारप्रसार अत्यन्त राम्रो रह्यो ।
यस क्षेत्रका मतदाताको रुझान कस्तो रह्यो ?
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा मतदाता अत्यन्तै चेतनशील बुझ्ने नागरिक छन् । कांग्रेसका पक्षमा जनलहर उत्पन्न भएको छ । जनता कांग्रेसलाई भोट हाल्न अत्यन्तै आतुर छन् ।
मैले यस निर्वाचन क्षेत्रका मतदाताको रोजाई कांग्रेस नै भएको पाए । जनता कहिले भोट हाल्ने दिन आउँदा भनेर पर्खिरहेका छन् । जनताले कांग्रेसलाई भोट हाल्छन् ।
तपाईंका चुनाव जित्ने आधार के हुन् ?
मेरो चुनाव जित्ने आधार थुप्रै छन् । जनता कांग्रेस र कांग्रेस जनताबीचको कडी राम्रो छ । यो देशको हरेक राष्ट्रिय एजेन्डा कांग्रेसकै नेतृत्वमा पूरा भएका छन् ।
राष्ट्रिय मुख्यमुख्य एजेन्डा सम्बोधन गर्ने कांग्रेस पार्टी नै हो ।कांग्रेसले नेतृत्व नलिँदा राष्ट्रिय एजेन्डा सम्बोधन हुन नसकेको जनताले मनन् गरेका छन् । देशमा शान्ति संविधान ल्याउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । विगतमा एकातिर माओवादीले जनयुद्धमा हतियार उठायो, अर्कातिर सेनाले हतियार उठायो । दुवैका बन्दुकले जनता मारे । कांग्रेसले दुवै बन्दुकको बीचमा गएर उभियो ।
यो हिक्मत कांग्रेसबाहेक अरू पार्टीले गरेन । जुनबेला कांग्रेस सभापति स्वः गिरिजाप्रसाद कोइराला नेतृत्वमा शान्ति गर्दै थिए । एमाले हेर्दै थियो । आन्तरिक र संविधान बनाउने कुरा कांग्रेस नेतृत्वमै भयो । कम्युनिस्ट पार्टी संविधानसभामा ठूला भएर पनि केही गरेनन् । त्यसैकारण पहिलो संविधानसभा असफल भयो ।
कम्युनिस्टले संविधानसभा असफल बनाए । आफू पनि असफल भए । दोस्रो संविधानसभामा कांग्रेस ठूलो पार्टी बन्यो । संविधान पनि बनायो । यसले जनतामा विश्वास जगाएको छ । अर्का कुरा विकास निर्माणको हो । कांग्रेसले जे जे विकास गर्न सकेको छ, त्यो अरू पार्टीले गर्न सकेका छैनन् ।
तपाईंका चुनावी एजेन्डा के के छन् ?
अबको मेरो मुख्य एजेन्डा भनेको राजनीति विकास र विकास समृद्धिका लागि नै हो । मैले यस क्षेत्रको बेरोजगारी, गरिबीबाट मुक्त गर्ने एउटै उपाय कञ्चनपुरलाई व्यावसायिक नाका बनाउने हो । कञ्चनपुरलाई नेपाल, भारत र चीनसँग जोडेर त्रिद्देशीय नाका बनाउने मेरो मुख्य एजेन्डा हो । कञ्चनपुरलाई सजिलै भारतको राजधानी दिल्ली र उत्तरतिर महाकाली कोरिडोर हुँदै चीनको तिंकरसँग जोडेर यस क्षेत्रको आर्थिक विकासमा फड्को मार्ने र यहाँको गरिबी, अभाव र बेरोजगारी अन्त्यगरी आर्थिक समृद्धि मेरो मुख्य योजना छ ।
प्रक्रिया अघि बढिसकेको छ । पूर्वाधारसमेत बनिरहेका छन् । चार लेनको पुल त्यसलाई पूर्णता दिन सुख्खा बन्दरगाह बनाएर नेपाल–भारत पारवाहन र सँगसँगै ब्रम्हेदेवदेखि तिंकर जोड्ने त्रिद्देशीय नाका बनाउने हो । ५ वर्षभित्रै कञ्चनपुरलाई त्रिद्देशीय नाकाको रूपमा विकसित गराएर देशकै ठूलो नाकाको रूपमा स्थापित गर्छौं । आफ्नै पालामा महाकालीमा चार लेन पक्की पुल निर्माण हुँदै छ । विकासको कुरा गर्दा मलाई एउटा कुरा भन्न मन लाग्छ । एमालेले मलाई लेखकले १५÷१८ वर्षमा के ग¥यौँ ? भन्छन् । मलाई यो कुरमा खुसी लागेको छ ।
यस क्षेत्रमा भएका विकासका काममा मैले गरेको भनेर एमालेका नेता चुनाव लड्दैछन् । यदी विकास नभएको भएमा कसले विकास ग¥यो । रमेश लेखकले के ग¥यो ? भन्दा विकास नभएको एजेन्डा छैन । महाकालीमा झोलुंगे पुल कसले बनायो । कहिले बनायो देखाउनुप¥यो । महाकाली जोगबुढा, कमिकाटे खोलामा पुगेका बजेट कांग्रेसले ल्याएको हो । मैले गरेको विकासका कामलाई एमालेले मैले गरेको हुँ भनेर चुनाव लड्दै छन् । विकास नै नभएको हो त ? महाकालीमा बनेको झोलुंगे पुल मैले नै बनाएको हुँ ।
चुनावका दौरानमा विकासमा मुद्दा उठेका छन् । मेरो सबैभन्दा महत्वपूर्ण योजना विकास हो । सुदूरपश्चिम विश्वविद्यालयको ऐन र सुप विश्वविद्यालयलाई मेरै पहलमा कञ्चनपुरमा स्थापना गरे । लडाइँ गरेर यो विश्वविद्यालय मैले नै यहाँ ल्याएको हुँ, अहिले सुप विश्वविद्यालयका १५ आंगिक क्याम्पस बनाउने छलफल गरेर निर्णय गराएको छु । यस्तै मेरो एजेन्डा महाकाली तेस्रो चरण हो । विकास र लोकतन्त्र रक्षाका लागि पनि आफूलाई जनताले भोट दिने मैले आशा लिएको छु ।
जनताले तपार्इंबाट के अपेक्षा लिएका छन् ?
हामीले जनताको अपेक्षा थुप्रै पाएका छौँ । जस्तै विकास, रोजगारी नै हो । जुन बस्तीमा गए पनि विकासकै कुरा उठ्ने गरेको छ । जनताले विकास गर्ने कांग्रेस नै हो भनेर भन्दै छन् । जति पनि विकास भएको छ, त्यो कांग्रेसले गरेको जनतामा विश्वास छ ।
भोलिका दिनमा पनि विकासका लागि जनताले कांग्रेस रोजेका छन् । हाम्रो इमानदारी, लगनशील र यस क्षेत्रको विकासका लागि निर्वाह गरेको भूमिकाप्रति जनताले राम्रो टिप्पणी गरेका छन् । आफू मन्त्री हुँदा ३० वर्षकै बढी बजेट ल्याएर विकास गरेको छु ।
कुन पार्टीले यत्रो बजेट यहाँ ल्याएको छ । एकै वर्षमा ४२ पुल बनिरहेका छन् । म मन्त्री हुँदा पहिले एमाले अध्यक्ष केपी प्रधानमन्त्री थिए । उनले भीमदत्त सडक कालोपत्रेका लागि ४ लाख २० हजार दिए । मैले ३० करोड ल्याएर भीमदत्तका सबै सडक कालोपत्रे गर्दै छु ।
यहाँको विकास केपी ओलीले गर्छ कि मैले त्यो तपार्इं आफैँ बुझ्नुहोस् । पक्की पुल निर्माण, नदी नियन्त्रण, सिँचाइ सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, आर्यघाट निर्माण, पर्यटकीय क्षेत्रको विकास गर्ने, सुकुम्बासीलाई जग्गाधनी बनाउने मतदाताले हामीबाट अपेक्षा लिएका छन् ।
चुनावका दौरानमा जनताको घरदैलोमा पुग्दा जनता हामीप्रति आशावादी देखिएका छन् । जनताले हामीहरूसँग आफ्ना स्थानीय समस्या राखिरहेका छन् । जनताले अझै पनि सडक, विद्युत्, खानेपानी, ढल निकास, खानेपानी, नदी नियन्त्रण, रोजगारीका विषय हाम्रा सामु राखिरहेका छन् । मैले सबै समस्या बुझ्दै समाधान गर्छु ।
महाकालीको पुलको विषयमा के भइरहेको छ ?
महाकालीको पुलको ठेक्का नहुँदासम्म एमालेले कांग्रेसले झुट्टा बोलिरहेको छ, भन्दै हाम्रा विरुद्धमा अफवाह फैलाए । जब पुल ठेक्का भएर सम्झौता हुँदा बन्न थाले अब पुल बन्न नदिन षड्यन्त्र भइरहेको छ । महाकालीमा पुल बन्न नदिने प्रायोजित षड्यन्त्र हो । पुल बनेपछि कांग्रेसले जस लिने भन्दै एमालेले षड्यन्त्र गरिरहेको छ । ठेकेदारले काम गर्दा डिजाइन परिर्वतनका कुरा आए ।
त्यो सरासर पुल बन्न नदिने खेल हो । दोधारा–चाँदनीका लागि शारदा नहरको कहाँबाट रेगुलेट दिने भन्ने कुरा छलफलमा छ । सिँचाइका लागि ६ अर्ब बजेट चाहिन्छ, दुवै विषय टुंग्याउँदै छौँ । केपी ओलीले चार लेनको पुल बनाएको भन्ने भ्रम कुरा हुन् । यो पुल शिलान्यास हुँदा एमाले भित्रभित्रै षड्यन्त्र गर्दै थियो । अब बन्न थालेपछि खुलेरै लागेको छ । महाकालीमा पुल बन्नुपर्छ ।
मतदान ट्रेन्ड कस्तो पाउनुभयो ?
मुख्यतया राजनीतिकका लागि भोट हो । कञ्चनपुरको यो क्षेत्र लोकतन्त्र र कांग्रेसका पक्षमा छ । स्थानीयमा कांग्रेसले टिकट ढिला दिँदा समस्या भयो । हामीले यसपटक टिकट चाँडै टुंगो लगाएर चुनावी मैदानमा उत्रेका छौँ । हाम्रो पक्षमा मतदान हुने ट्रेन्ड पाएका छौँ ।
अन्तमा मतदातालाई केही भन्नुहुन्छ ?
म आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्ति संविधान र विकासका निर्माणका लागि म र कांग्रेसलाई भोट दिन अनुरोध गर्दछु । यो देशलाई औद्योगिक एजेन्डा हो ।
त्यो एजेन्डा पूरा गर्न म तत्पर छु । यस क्षेत्रको विकास र समृद्धिका लागि म तयार छु । तसर्थ मलाई अमूल्य मतदिन अनुरोध गर्दछु ।
प्रतिक्रिया