रोहिंज्या गाउँमा नियोजित रूपमा आगजनी

manmar gauम्यानमार १ असोज । अधिकारवादी संस्था एम्नेस्टी इन्टरन्यासनलले पश्चिमी म्यानमारस्थित रोहिंज्या गाउँहरूमा ‘सुनियोजित अभियान’अन्तर्गत आगो लगाइएको भूउपग्रह तस्बिरबाट देखिएको जनाएको छ । ती तस्बिरहरू म्यानमारको सुरक्षा फौजले अल्पसंख्यक मुस्लिम रोहिंज्या समुदायलाई देशबाट निकाल्ने प्रयास गरिरहेको प्रमाण भएको उसले बताएको छ । सरकारी सेनाले उग्रवादीहरूविरुद्ध लडिरहेको भन्दै सर्वसाधारणलाई लक्षित नगरिएको दावी गरेको छ ।

गत महिना रोहिंज्या उग्रवादीहरूले प्रहरी चौकीहरूमा आक्रमण गरेपछि हिंसा भड्किएको थियो र झन्डै ३ लाख ८९ हजार रोहिंज्या मुस्लिमहरू ज्यान जोगाउन भागेर छिमेकी देश बांग्लादेश प्रवेश गरेका छन् । म्यानमार सरकारले रखाइन राज्यस्थित रोहिंज्या गाउँहरू कम्तीमा ३० प्रतिशत खाली भएको बताएको छ ।राज्यविहीन रोहिंज्याहरू मुख्यतः मुस्लिम अल्पसंख्यक हुन् र बौद्धमार्गी बहुल म्यानमारमा उत्पीडनमा पर्दै आएको बताइएको छ । उनीहरूलाई ‘गैह्रकानुनी आप्रवासी’ भन्दै विभेदपूर्ण व्यवहार गरिन्छ । रोहिंज्याहरू रखाइनमा पुस्तौंदेखि बस्दै आएपनि म्यानमार सरकारले उनीहरूलाई नागरिकका रूपमा स्वीकारेको छैन र नागरिकता पाउनबाट उनीहरू वञ्चित छन् ।

भूउपग्रह तस्वीर र भिडिओ तथा प्रत्यक्षदर्शीसँग लिइएका अन्तरर्वार्ताबाट रोहिंज्या गाउँहरूलाई सुनियोजित रूपमा लक्षित गर्दै झन्डै तीन सातासम्म आगजनी गरिएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।एम्नेस्टी इन्टरन्याशनलकी तिराना हसनाले भनिन, ‘यी प्रमाणबाट के अकाट्य छ भने म्यानमारको सुरक्षा फौजले उत्तरी रखाइन राज्यमा रहेका रोहिंज्या मुस्लिमहरूलाई म्यानमारबाट धपाउन ती गाउँहरूमा आगो लगाएको हो । यो जातीय सफाया नै हो ।’ रोहिंज्याहरूप्रति गरिएको व्यवहारका कारण म्यानमारले अन्तर्राष्ट्रिय आलोचना खेपिरहेको छ ।

प्रतिक्रिया