‘कसैसँग नहार्ने परमाणु शक्ति सम्पन्न देश’

kasaisaga naharneजापान २७ भदौ । उत्तर कोरियाले गत शनिबार आफ्नो स्थापनाको ६९औँ वर्षगाँठ मनाएको छ । एकातर्फ उत्तर कोरियाको सामना गर्न अन्तर्राष्ट्रिय समुदायले निरन्तर प्रयास गरिरहेको छ भने अर्कोतर्फ आफ्नो स्थापना दिवसका अवसरमा उत्तर कोरियाले अमेरिकाविरुद्ध उभिन सक्ने र विश्वस्तरीय सैन्य सामथ्र्य भएको प्रदर्शन गरेको छ । जापानी समाचार संस्था क्योदोका अनुसार उत्तर कोरियाको सबैभन्दा प्रभावशाली पत्रिका रोडोङ सिनमुनले आफ्नो अग्रपृष्ठमा मुलुकको प्रशंसा गर्दै लेखेको छ, ‘उत्तर कोरिया कसैसँग हार्न नसक्ने परमाणु शक्ति सम्पन्न राष्ट्र हो ।’

परमाणु बमपछि हाइड्रोजन बम र अहिले आएर अन्तरमहादेशीय बलेस्टिक क्षेप्यास्त्रको विकास गरेरे उत्तर कोरियाले त्यस्तो सामथ्र्य हासिल गरेको रोडोङ सिनमुनले दावी गरेको छ । मुलुकको स्थापना दिवसका अवसरमा उत्तर कोरियाका लगभग सबै पत्रपत्रिकाले देशभक्तिको भावना जगाउने खालका सामग्री प्रकाशन गरेको देखियो । रोडोङ सिनमुनले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘विश्व मानचित्रमा कुनैबेला दुर्भाग्यको अवस्थामा रहेको उत्तर कोरिया अहिले एउटा स्वतन्त्र र सम्प्रभु राष्ट्रका रूपमा अगाडि आउन सकेको छ । भविष्यमा हाम्रा बाटाहरू काँडाले भरिएको पक्कै हुनेछन् तर उत्तर कोरियाको भविष्य उज्ज्वल छ ।’

अर्को पत्रिका मिन्जु जोसानले उत्तर कोरियालाई एउटा शक्तिशाली समाजवादी देश निर्माणका लागि नागरिकहरूलाई देशभक्तिपूर्ण समर्पण देखाउन अपिल गरेको छ । यसअघि बिहीबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाविरुद्ध सैन्य कारबाही गर्ने आफ्नो प्रशासनको पहिलो रोजाइ नहुने बताएका थिए ।
सेप्टेम्बर ३ तारिखमा उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको बताएपछि उसको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढेको छ । उक्त बम शक्तिशाली भएको र त्यसलाई लामो दुरीको क्षेप्यास्त्रमा पनि राख्न सकिने उसले दावी गरेको थियो ।

गत अगस्टमा उत्तर कोरियाले परीक्षण गरेको लामो दुरीको एउटा क्षेप्यास्त्र जापानी आकाश हुँदै समुद्रमा खसेको थियो । छुट्टै प्रसंगमा उत्तर कोरियाले संयुक्त राष्ट्रसंघमार्फत आफूविरुद्ध कडा प्रतिबन्ध लगाउने दिशामा अमेरिका अघि बढिरहे उसलाई ‘ठूलो पीडा र दुःख’ दिने चेतावनी दिएको छ । विदेश मन्त्रालयद्वारा प्योङयाङमा जारी एउटा विज्ञप्तिमा उत्तर कोरियाको परमाणु विकासलाई उल्ट्याउन चाहने अमेरिका एउटा ‘रक्तपिपाशु जनावर’ भएको आरोप लगाइएको छ । उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउन अमेरिकाले गरेको प्रस्तावमाथि छलफल गर्न सुरक्षा परिषद्को बैठक सोमबार बस्दै छ ।

प्रतिक्रिया