उत्तर कोरियामा सफलताको उत्सव

NKOREA-NUCLEAR-MISSILE-CELEBRATIONप्योङयाङ २३ भदौ । उत्तर कोरियाले गएको आइतबार गरेको शक्तिशाली आणविक परीक्षणको खुसियालीमा बिहीबार उत्तर कोरियाको राजधानी प्योङयाङ्मा उत्सव मनाइएको छ । यस समाचारलाई संसारका समाचार समितिहरूले बिहानदेखि निकै प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उक्त परीक्षण गर्ने वैज्ञानिकलाई उत्तर कोरियाली नागरिकले बधाई ज्ञापन गर्दै सो उत्सव मनाएको बताइएको छ । उत्तर कोरियाको राजधानी सहरमा १०औँ हजार नागरिक उभिएर ध्वजापताकासहित नाचगान गर्दै उत्सव मनाएका दृश्य सरकारी टेलिभिजनले देखाएको छ । उत्तर कोरियाली नागरिकहरूले सो आणविक परीक्षणको सफलताको खुसियालीमा यसरी उत्सव मनाउन सडकमा ओर्लिएको जनाएका छन् ।

गत आइतबार उत्तरले गरेको सो परीक्षण लगत्तै उक्त परीक्षण हाइड्रोजन बम भएको समाचार गर्वका साथ सार्वजनिक गरेको थियो । उत्तरले उक्त परीक्षणलाई निकै सफल भएको भनेको थियो । बिहीबार बिहानै १०औं हजार नागरिक प्योङयाङको किम इल सुङ स्क्वायरमा जम्मा भएका थिए । उनीहरूले विभिन्न रंगीचंगी ध्वजापताका बोकेर आपसमा बधाई ज्ञापन गर्नुका साथै उत्तर कोरियाका नेताको पनि जय जयकार गरेका थिए । उनीहरूले उत्तर कोरियाली नेताको जय जयकार र उनको पक्षमा नाराबाजी पनि गरेका थिए । उनीहरूले यस सफलताको पहिलो श्रेय उत्तर कोरियाली नेताको रहेको पनि सो अवसरमा बताएका थिए ।उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ । केही समय मात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो ।

तर, पनि यस पटकको परीक्षणलाई यसअघिको भन्दा करिब १० गुणाबढी शक्तिशाली रहेको दक्षिण कोरियाले बताएको छ । उसले भनेको छ, ‘उत्तर कोरियाले यसअघि गरेको पाचौँ पटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली छ ।’  विश्वमा उक्त परीक्षणको बिपक्षमा निन्दा र विरोधका स्वरहरू चर्किरहेको बेला यता उत्तर कोरियामा भने यसको सफलताका लागि उत्सव नै मनाइएको छ । बिहीबारको सो उत्सव सरकारले आयोजना गरेको नभई नागरिक तहबाटै सुरु भएको खुसियाली हुनसक्ने त्यहाँबाट प्राप्त समाचारहरूमा जनाइएको छ । बिहीबारको उक्त खुसियाली ¥यालीमा जम्मा भएका नागरिकले उत्तर कोरियालाई अब संसारको कुनै पनि देशले कुनै पनि प्रकारको हानी पु¥याउन नसक्ने बताएका थिए ।

उनीहरूले अब उत्तर कोरियाको आणविक शक्तिमा नै संसारको र विशेषगरी अमेरिकाको भविश्य रहनेजस्तो टिप्पणी पनि सो अवसरमा गरेका थिए ।उत्तर कोरियालाई कमजोर नठान्न र उसका क्रियाकलापहरूलाई कमजोर रूपमा नलिन पनि उनीहरूले संसारलाई सन्देश दिइरहेका थिए । उत्तर कोरियाको यो पछिल्लो पटकको परीक्षणका कारण संसारमा नयाँ हलचल पैदा भएको छ । संसारका नेताहरूले उत्तर कोरियाको यो परीक्षणले शान्तिपूर्ण समाधानभन्दा पनि संसारमा नै हतियार र शक्तिको दम्भ शुरु हुने चिन्ता व्यक्त गरेका छन् ।  उत्तर कोरियामाथि थप नाकाबन्दी तथा कारबाहीको घोषणा गरिँदै छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले पनि उत्तर कोरियाको यस कदमको विरोध गरेको छ । उसले अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउन पनि प्रस्ताव गरेको छ ।

इयुले पनि नाकाबन्दी लगाउने

युरोपियन युनियनले उत्तर कोरियाविरुद्ध थप नाकाबन्दीको तयारी गरिरहेको जानकारी सो संस्थाका कूटनीतिक प्रमुखले दिएका छन् । उनले उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणको विरुद्धमा युरोपियन युनियनले हाल कायम राखेको आर्थिक लगायतको नाकाबन्दीलाई थप कडा बनाउनेबारे तयारी सुरु गरेको समाचारमा उल्लेख गरिएको छ । उक्त संस्थाका कूटनीतिक विभग प्रमुख फेडरिका मोगारिनीले भने ‘उत्तर कोरियाविरुद्ध थप नाकाबन्दी लगाउबारे मैले मन्त्रिपरिषद्का सदस्यहरूलाई भनेको छु, अब यसले छिट्टै नै पूर्णता पाउनेछ ।’

उत्तर कोरियामाथि विभिन्न देश र संघसंस्थाले थप नाकाबन्दी तथा कारबाहीको घोषणा गर्ने जनाएका छन् । सो आणविक परीक्षणको विरोध गर्दै आएको युरोपियन युनियनले पनि उसका विरुद्ध नाकाबन्दीको तयारी गरेको हो ।  संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाको यस कदमको विरोध गरेको छ । उसले अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउनुका साथै अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै कडा कारबाहीको पनि प्रस्ताव गरेको जनाइएको छ ।

प्रतिक्रिया