एक लाख रोहिंगा शरणार्थी बंगलादेशमा

कोस बजार २१ भदौ । म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण बंगलादेश पुगेका रोहिंगा मुस्लिम शरणार्थीको संख्या मंगलबार एक लाख भन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।  छिमेकमा पर्ने देश म्यानमारमा गत अगस्त २५ बाट सुरु भएको हिंसाको कारण शरणार्थीको रूपमा त्यस समुदायका ती व्यक्ति बंगलादेश आइपुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।

म्यानमारको अल्पसंख्यक हजारौँ रोहिंगा मुस्लिम पछिल्लो समयमा म्यानमारको राखिन राज्यमा सुरु भएको द्वन्द्वको कारण बंगलादेश छिर्ने सीमामा बसेका छन् । सोमबार म्यानमारको पश्चिमी राज्य राखिन र बंगलादेशको सीमा क्षेत्रमा पर्ने स्थानमा करिब २० हजार अधिकांश रोहिंगा मुस्लिम समुदायका व्यक्ति बंगलादेश छिर्नको लागि पर्खेर बसेका र ८७ हजार बंगलादेशभित्र गएका संयुक्त राष्ट्रसंघद्वारा जारी प्रतिवेदनमा जनाइएको छ ।  संयुक्त राष्ट्रसंघले यो जानकारी दिएको भए पनि बंगलादेशी अधिकारीहरूका अनुसार भने गत २५ अगस्तबाट सोमबारसम्म बंगलादेश प्रवेश गर्ने म्यानमारका शरणार्थीको संख्या करिब ९२ हजार पुगेको थियो ।

मंगलबार यो संख्या १ लाखभन्दा बढी हुने अनुमान गरिएको सो समाचारमा जनाइएको छ । करिब १० दिन यतादेखि सुरु भएको हिंसाका कारण ढाकाले आफ्नो सीमा क्षेत्रमा नियन्त्रण गर्न छोडेको छ । हालैका दिनमा बंगलादेशी सीमा सुरक्षा गार्डहरू पनि म्यानमारका शरणार्थीहरूलाई त्यहाँबाट भाग्न र बंगलादेश छिर्न सघाइरहेका छन ।  म्यानमारको राखिन राज्यमा सन् २०१२ बाट सुरु भएको धार्मिक हिंसाको कारण सयौँ रोहिंगा मुस्लिमहरूको मृत्यु भएको छ भने लाखौंको संख्यामा विस्थापित भएर स्वदेश तथा विदेशमा शरणार्थीका रूपमा रहेका बताइन्छ ।

प्रतिक्रिया