काठमाडौं २२ साउन । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै ११औं पटक अनशनरत डा. गोविन्द केसीको समर्थनमा राजधानीमा शनिबार बृहत् प्रदर्शन भएको छ । केसीको माग सम्बोधनका लागि दबाब सिर्जना गर्न भन्दै नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन र विवेकशील साझा पार्टी तथा नागरिक समाजको संयुक्त पहलमा प्रदर्शन आयोजना गरिएको हो । राजधानीको माइतीघर मण्डलाबाट सुरु भएको विरोध प्रदर्शनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहित चिकित्सक, नागरिक समाजका अगुवा, विद्यार्थीलगायत सहभागी थिए । प्रदर्शनकारीले डा. केसीका माग तत्काल सम्बोधन गर्न माग गर्दै चिकित्सा शिक्षामा देखिएको माफियाकरणलाई अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए । प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । सभाका वक्ताहरूले डा. केसीको मागलाई सम्बोधन गर्न सरकारले तदारुकता नदेखाए थप कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।
पूर्वप्रधानन्याधीश सुशीला कार्कीले केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै उनको माग राष्ट्र र जनहितमा रहेकाले तत्काल सम्बोधन हुनुपर्नेमा जोड दिइन् । ‘डा. केसीले उठाउनुभएका माग कानुनसम्मत छन्, यसलाई पूरा गराउनका लागि सबै पक्षले यसमा साथ दिनुपर्र्छ’, उनले भनिन् । मेडिकल शिक्षाको नाममा सक्रिय माफिया सञ्जाल तोडिनुपर्ने उनको भनाइ थियो । संसारका थुप्रै देशहरूमा यस किसिमका आन्दोलनबाट परिवर्तन सम्भव भएको उदाहरण दिँदै उनले डा. केसीको सत्याग्रह पनि सफल हुने विचार व्यक्त गरिन् । केसी पक्षका वार्ता टोली सदस्य डा. जीवन क्षेत्रीले माथेमा आयोगको प्रतिवेदन समेटेर चिकित्सा शिक्षा ऐनलाई तत्काल संसद्बाट पारित गराउन सरकारको ध्यानाकर्षण गराए । केही सांसद ऐन संसद्बाट पारित नगराउने खेलमा लागेको उनको आरोप छ । केसीका माग सम्बोधन गर्न भन्दै भएका पटक–पटकका वार्तामा सरकारी पक्ष गम्भीर रूपमा प्रस्तुत नभएको उनको आरोप छ ।
नागरिक समाजका अगुवा कृष्ण पहाडीले पनि डा. केसीका मागमा दलहरूले देखाएको व्यवहार अत्यन्तै खेदजनक रहेको टिप्पणी गरे । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहालप्रति निकै आक्रामक देखिएका उनले दाहालमा अझै युद्धको धङधङी बाँकी रहेकाले डा. केसीका माग पूरा नगराउने खेलमा लागेको आरोप लगाए । अधिवक्ता सुरेन्द्र भण्डारीले डा. केसीको माग सम्बोधनका लागि सरकार तत्काल गम्भीर तत्पर नदेखिए सामूहिक सत्याग्रह सुरु गर्ने चेतावनी दिए । राज्यको ढुकुटी रित्याएर सामान्य टाउको दुख्दा पनि विदेशमा उपचार गर्न जानेहरू केसीविरुद्ध रहेको उनले बताए । उनले पटक–पटक केसीसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै यस किसिमको छलकपट अन्त्य हुनुपर्नेमा जोड दिए । यसअघि, शुक्रबार डा. केसीलाई प्रमुख ३ दलका शीर्ष नेताले सरकार माग सम्बोधनका लागि तत्पर रहेको भन्दै अनशन तोड्न आग्रह गरे पनि केसीले यो पटक ठोस सहमतिको पहल नभएसम्म अनशन नतोड्ने अडान राख्दै आएका छन् ।
केसीको स्वास्थ्य अवस्था जटिल
अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उनको शरीरमा ग्लुकोज तथा पानीको मात्रा कम देखिनुका साथै मांसपेशीहरूसमेत चल्न छाडेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
राष्ट्रपतिद्वारा दुःख व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङको ढोरपाटन नगर र निसीखोला गाउँपालिकामा पहिरोमा पुरिएर शुक्रबार एकै घरका ४ जनासहित ६ जनाको तथा डोटीमा जिप दुर्घटनामा परी ९ जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गरेकी छन् ।साथै, राष्ट्रपतिले देशका विभिन्न भागमा बाढीपहिरो तथा सडक दुर्घटनामा भएको जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । प्राकृतिक प्रकोपबाट हुने क्षति घटाउन सरकार सधैं सजग रहनुपर्नेमा राष्ट्रपतिले जोड दिएकी छन् । उनले बाढी पहिरोलगायत प्राकृतिक प्रकोपका घटना र सडक दुर्घटनाबाट हुने जनधनको क्षतिप्रति सचेत रहन सम्बद्ध सबै सरकारी निकायलाई अविलम्ब ध्यान दिन आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया