पाल्पामा स्वाइनफ्लुबाट एकको मृत्यु

Swine-Flu

बुटवल २२ साउन । रूपन्देही र पाल्पा जिल्लामा स्वाइनफ्लुु संक्रमणका बिरामी भेटिएका छन् । पाल्पामा भाइरल फिबरबाट बिरामी परेकामध्ये एकजनामा स्वाइनफ्लुको संक्रमण भेटिएको हो । बिरामी भई लुम्बिनी मेडिकल कलेजमा भर्ना भएका माथागढी गाउँपालिका कसेनीका ६७ वर्षका मानबहादुर चिदीको बयोधा हस्पिटल काठमाडौंमा उपचारको क्रममा स्वाइनफ्लुुबाट ज्यान गएको पुष्टि भएको छ । रुखाखोकी, श्वासप्रश्वाससम्बन्धी बिरामी भई भर्ना भएका ७ जनामध्ये रैनादेवी छहरा गाउँपालिका वडा नं. १ का ७९ वर्षीय मानबहादुर कुमाल, माथागढी ३ का २२ वर्षीया चन्द्रा राना, माथागढी ४ का ६७ वर्षीया वसन्तीकुमारी कुँवरको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको छ । उनीहरूको स्वाइनफ्लुुको लक्षणबाट मृत्यु भएको आशंका गरिए पनि पुष्टि नभएको लुम्बिनी मेडिकल कलेजका आइसियु संयोजक चिकित्सक डा. महेश शर्माले बताए ।

स्वाइनफ्लुुको आशंकामा गम्भीर बिरामी मदनपोखराकी २४ वर्षीया नीरमा सारुको काठमाडौं बयोधा हस्पिटलमा, पाणिनी गाउँपालिका ३ की १६ वर्षीय सविना भुसाल र मित्याल पाल्पाका ६६ वर्षीय खेमबहादुर सुनारी मेडिकल कलेजको आइसियुमा उपचार भइरहेको छ ।भाइरल फिबरका अन्य १० जना लुम्बिनी मेडिकल कलेज र ५ जना मिसन अस्पताल तानसेनमा उपचार भइरहेको अस्पतालले जनाएको छ । गम्भीर बिरामीहरूको ल्याब टेस्ट र आवश्यक औषधि र सतर्कता अपनाउने प्रयास गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले बताए । पाल्पामा स्वाइनफ्लुुको लक्षण देखापरेपछि उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरूको बैठक बसेको थियो । आवश्यक माक्स, ट्यामी फ्लुु औषधि र भ्याक्सिनेसन व्यवस्थापन गर्न थालिएको छ । महामारी रोग नियन्त्रण महाशाखा र केन्द्रीय प्रयोगशाला टेकुको टिम रगत परीक्षणका लागि पाल्पा आएको छ ।

त्यस्तै, रूपन्देहीका दुईजना व्यक्तिमा स्वाइनफ्लु देखिएको छ । बुटवलका अस्पतालमा उपचार हुन नसकेर काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका लागि पुगेका उनीहरूमा स्वाइनफ्लु देखिएको हो । रूपन्देहीका जनस्वास्थ्य प्रमुख केयरसिंह गोदारले दुई जनामा सिजनल इन्फ्लुएन्जाको जीवाणु भेटिएको बताए । दुईजना बिरामी देखिए पनि उनीहरूको बसोवास भएको क्षेत्रमा अन्यमा लक्षण नदेखिएको बताए । जनस्वास्थ्य कार्यालयले उच्च ज्वरोसहित उपचारमा आउने बिरामीको निरन्तर निगरानी गरिएको जनाएको छ । रूपन्देहीका अस्पतालमा फ्लु परीक्षण गर्ने किट नहुँदा बिरामीहरू काठमाडौं जान बाध्य छन् । लुम्बिनी अञ्चल अस्पतालमा अहिले ज्वरो आएर उपचारमा आउने बिरामीको संख्या अत्यधिक बढेको सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए । जनस्वास्थ्य कार्यालयले उच्च ज्वरो, शरीर दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा चेक गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया