आरोप प्रमाणित भए, सजाए भोग्न तयार छुु : प्रा. डाक्टर, गुणकुमार श्रेष्ठ

HHJJHASD

एक साताअघि राजधानीका सञ्चार माध्यमहरूमा एकाएस्क मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले पत्थरीको शल्यक्रिया गर्ने क्रममा मिर्गौला निकालेको विषयले निकै प्रथमिकता पायो । यो कुरा सुन्दा सबैलाई अस्पतालको लापरबाहीले वा नियोजित रूपमा तस्करीका लागि मिर्गौला झिकिएको हो भन्ने लाग्यो ।

तर, अस्पताल र उक्त शल्यक्रिया गर्ने चिकित्सकले उक्त घटनाबारे लागेको आरोप र सञ्चार माध्यममा प्रचारित समाचार नियोजित र कपोल्कल्पित भएको भन्दै प्रतिवाद गरेका छन् । नुवाकोट विदुर–१२ का शिवप्रसाद रिमालको शल्यक्रिया गर्ने चिकित्सक गुणकुमार श्रेष्ठ उक्त घटनाबारे आफ्ना अनुभव र यथार्थबारे सौर्य दैनिकका लागि चमिना भट्टराईसँग गरिएको संवाद ।

त्यो मिर्गौला कसैलाई पनि काम लाग्दैनथ्यो । यदि त्यो कसैमा प्रत्यारोपण नै गर्ने हो भने त्यसका लागि प्रत्यारोपण गर्ने बिरामी तयारी हुनुप¥यो त्यो पनि उक्त बिरामीलाई मिल्नुप¥यो । प्रत्यारोपण गर्न निकालेको मिर्गौलाको नली लामो राखेर काट्न पर्छ ।

त्यसका लागि निकै सावधानी अपनाएर आइसमा राख्नुपर्छ । अर्को बिरामी तयारी भएको अवस्थामा निकाल्नुपर्छ । जुन अवस्थामा मिर्गौला निकालिएका छ त्यो प्रत्यारोपण गर्ने मिल्दैनथ्यो । खसीको मासु काटेको जस्तो झ्यापझुप काटेर फ्रिजमा राखेर आरामसँग मनलागेको बेला पकाएर खाएजस्तै प्रत्यारोपण गर्न मिल्दैन । मिर्गौला निकालेर बिरामीको परिवारलाई हेर्न बोलायौं ।

उहाँहरूले वास्तै गर्नुभएन । त्यसपछि वायोस्पी गर्नका लागि ल्यापमा पठायौं । अहिले पनि सुरक्षित छ । कसैले परीक्षण गर्न चाहने हो भने पनि पाइन्छ । त्यो मिर्गौला सुरक्षित छ ।

पत्थरी उपचार गर्न आएका बिरामीको मिर्गौला झिकेको आरोप लागेको छ किन निकाल्नुभयो मिर्गाैला ?
–२५ वर्षको चिकित्सकीय अनुभवमा नुवाकोट विदुरका शिवप्रसाद रिमालको शल्यक्रियाले म र मैले काम गर्ने संस्थाको बदनाम गर्ने नियोजित प्रयास गरियो । मनमोहन अस्पताललाई विवादमा पार्न गरिएको निराधार आरोप हो यो । बिरामी रिमाललाई मृत्युको मुखबाट बचाउनुपर्छ भनेर एउटा मिर्गौला निकालेको हुँ । त्यो पनि परिवारको सहमतिमा । यदि त्यो शल्यक्रिया केही मिनेट मात्र ढिला गरेको भए वा मिर्गौला निकाल्न त्यसै छोडेको भए बिरामी बचाउन सकिँदैथ्यो । त्यति मात्र होइन मैले आफूलाई सम्हालेर काम गरेकोले बिरामी बचाएको हुँ । थोरै ढिला गरेर वा संयमता नगरेको भए जे पनि हुन्थ्यो ।

तपाईंको व्यावसायिक जीवनमा यस्तो केस पहिला भएको थियो कि थिएन ?
–मेरो अनुभव र दक्षता भनेकै मिर्गाैलाको प्रत्यारोपण गर्नु र त्योसँग सम्बन्धित शल्यक्रिया गर्नु हो । २२ वर्ष शिक्षण अस्पतालमा काम गर्दा पनि धेरै बिरामीको मिर्गाैलाको शल्यक्रिया गरें । तर, अहिलेको जस्तो अभियोग कहिल्यै भोग्नुपरेको थिएन । अनेक उपाए गरेर मान्छे बचाउँदा तस्करी, मिर्गाैला चोर, अपराधी जस्ता तल्लो स्तरको गाली बेइजतीको सामना गर्नुपर्यो । यो मेरो जीवनको दुखद क्षण हो । काम गर्दा यस्ता आरोप पनि आउलान् भनेर कहिल्यै सोचकै थिइन् । हामी डाक्टरहरु मान्छे बचाउन सक्यौं भने खुसी हुन्छाैँ उपचार गर्दा गर्दै मान्छे म¥यो भने दुःखी हुन्छौं । बिरामीको अवस्था र रोगको प्रकृतिको आधारमा उपचारका क्रममा मान्छे मर्छ पनि । तर, बिरामी मर्दा कुनै पनि डाक्टर खुसी हुँदैन असफल भएँ भनेर दुखी हुन्छ । सकेसम्म बचाउने कोसिस गर्छौं रिमालको मिर्गौला पनि त्याही प्रयास हो आरोप जे आए पनि मेरो टिम र अस्पताल सफल भएको छ ।

तपाईंलाई लागेको आरोप जस्तै रिमालको निकालेको मिर्गौला चाहेको खण्डमा अरू कुनै बिरामीलाई काम लाग्थ्यो कि लाग्दैनथ्यो ?
–त्यो मिर्गौला कसैलाई पनि काम लाग्दैनथ्यो । यदि त्यो कसैमा प्रत्यारोपण नै गर्ने हो भने त्यसका लागि प्रत्यारोपण गर्ने बिरामी तयारी हुनुप¥यो त्यो पनि उक्त बिरामीलाई मिल्नुप¥यो । प्रत्यारोपण गर्न निकालेको मिर्गौलाको नली लामो राखेर काट्न पर्छ । त्यसका लागि निकै सावधानी अपनाएर आइसमा राख्नुपर्छ । अर्को बिरामी तयारी भएको अवस्थामा निकाल्नुपर्छ । जुन अवस्थामा मिर्गौला निकालिएका छ त्यो प्रत्यारोपण गर्ने मिल्दैनथ्यो । खसीको मासु काटेको जस्तो झ्यापझुप काटेर फ्रिजमा राखेर आरामसँग मनलागेको बेला पकाएर खाएजस्तै प्रत्यारोपण गर्न मिल्दैन । यो सबैले बुझ्नु जरुरी छ । त्यो मिर्गौला ठीक अवस्थामा भए त्यहि बिरामीलाई काम लाग्थ्यो । उनको शरिरमा काम नलागेको अरूलाई कसरी काम लाग्छ ? यस्तो गम्बीर बिषयमा पनि बुुझ्दै नबुझि बोल्न मिल्छ ?

20170712_153046

शल्यक्रिया कहिले गर्नुभयो याद छ ?
–सबै बिरामीको शल्यक्रिया गरेको मिति याद हुँदैन । तर, शिवको शल्यक्रिया गरेको समय बिर्सन गाह्रै हुन्छ । परिस्थितिले त्यो दिन सम्झना गराइरहने छ । उनी जेठ २२ गते अस्पताल भर्ना भएका हुन् । शल्यक्रिया भने २५ गते भएको हो । हामीले उनको शल्यक्रिया गरेर ठीक बनाएर घर पठाएको बिरामीका अभिभावकले हप्ता÷दस दिनपछि के कारण थियो त्यस्तो आरोप लगाउनु हामी आफैँ पनि दुःखी र आश्चर्य चकित भएका छौं ।

त्यतिबेला बिरामीको स्वास्थ्य अवस्था कस्तो थियो ?

–उनको पत्थरी मिर्गौलाको दुवैपट्टि थियो । तर, देब्रे भागमा भने ठूलो थियो र त्यो मिर्गौला भित्र थियो । उक्त पत्थरी पिसाबको थैली नजिकसम्म पुगेको थियो । सामान्यतया मान्छेको मिर्गौला उनको भएको स्थानभन्दा माथि हुन्छ । तर, उनको तल झरेको थियो । यो सामान्य पत्थरीभन्दा खतरापूर्ण हुन्छ हामीले त्यसबारे बिरामीका परिवारलाई सबै कुरा जानकारी गराएका थियौं । शल्यक्रिया गर्नुअघि गरिएको सिटिस्क्यानको रिपोर्टको आधारमा बिरामीको अवस्था र शल्यक्रिया हुँदा आउन सक्ने समस्याबारे परिवारलाई जानकारी दिएका थियौं । शल्यक्रिया जोखिमपूर्ण छ । धेरै रक्तश्राव भएर रोकिएन भने परिणाम जे पनि आउन सक्छ भन्नेबारे सल्लाह गरेर नै शल्यक्रिया सुरु गरेका थियौं । रिपोर्टको आधारमा नै उनको मिर्गौला भित्र (स्टोन) पत्थरी भएकोले र पत्थरी निकाल्दा आउन सक्ने समस्या परिवारलाई पूर्वजानकारी थियो । त्यसैले उहाँहरूले हामीलाई शल्यक्रियाको अनुमति दिएका थिए । रक्तश्राव रोकिएन भने मिर्गौला निकाल्नुपर्ने हुन सक्छ भनेर पनि भनेका थियौं सामान्य बिरामीको भन्दा यो अवस्थामा शल्यक्रिया जोखिमपूर्ण हुन्छ भन्ने प्रस्ट पारेर नै शल्यक्रिया गरेका

त्यस्तो अवस्थामा गरिने शल्यक्रियाबारे परिवारले के भनेका थिए ? उनीहरूले त मिर्गाैला निकालेको आरोप लगाएका छन् नि !

–उनीहरूले गर्न सहमति जनाएपछि मात्र हामीले शल्यक्रिया सुरु गरेका हौं । त्यतिबेला उनीहरू आफ्नो बिरामी ठीक होस भन्ने चाहन्थें । जसरी हुन्छ हाम्रो बिरामीलाई निको पार्नु भनेका थिए । तर, पछि किन त्यस्तो गम्भीर आरोप लगाए हामी पनि छक्क परेका छौं ।

बिरामीकोे मिर्गौलाको अवस्था भित्र कस्तो थियो ?
–मैले २५ वर्ष भयो मिर्गाैला शल्यक्रिया गर्न थालेको पहिला शिक्षण अस्पतालमा काम गर्थें । त्यतिबेला पनि कैयौं पटक शल्यक्रिया गर्दा गर्दै गाउनमा बाहिर निस्केर परिवारको थप अनुमति लिएर शल्यक्रिया गर्नुपरेको थियो । यही मनमोहन अस्पतालमा आएपछि पनि कैयौं पटक त्यस्तो गरेको छु । यो केसमा पनि त्यस्तै भयो । बिरामीको आफन्तलाई पहिलै भने जस्तै बिरामीको मिर्गौलाबाट ह्वाल ह्वाली रगत आउन थाल्यो । रगत रोक्न धेरै कोसिस ग¥यांै सकिएन त्यसपछि म बिरामीलाई त्यतिबेला टेबलमा छोडेर शल्यक्रियामा सहयोग गर्ने डक्टर र नर्सलाई थिचेर भए पनि केही क्षण रगत रोक्न भन्दै गाउनमै बाहिर आएर परिवारलाई बिरामीको अवस्था जानकारी गराएँ ।

त्यतीबेला ढुंगा निकालिसकेका थियौं । बिरामीका आफन्तलाई हामीले निकालेको ढुंगा देखाउँदै बिरामीको अवस्था जानकारी गराएँ । रगत रोकिएन अब मिर्गौला निकाल्नैपर्ने भयो । अझै पनि कोसिस गर्छु भएन भने मिर्गौला निकाल्नुपर्छ तपाईंहरूलाई जानकारी दिन आएकाु हुँ भनें । सुरुमा हुँदैन भने मानेनन् अनि मैले भनें नत्र बचाउन सकिँदैन ! मान्छे टेबलमा नै मर्न दिने त ? भनेपछि उहाँहरूले मिर्गौला निकाल्दा केही असर हुन्छ कि हुँदैन भनेर सोधे । मैले केही हुँदैन भनेपछि हुन्छ जसरी भए पनि मान्छे बाचाइदिनु भने र हामी अघि बढ्यौं ।

तपार्इं र अस्पतालप्रति लागेको आरोप त गम्भीर छ नि के भन्नुहुन्छ ?
–बिरामी घर लगेको एक सातापछि कहाँबाट कसरी यस्ता आरोप लाग्यो ? त्यो पनि सुरुमा चिकित्सकको लापरबाहीले ढुंगा झिक्नुपर्ने ठाउँमा मिर्गौला झिकेको भने । फेरि दुई दिनपछि विभिन्न सञ्चारमाध्यमार्फत त्यही विषयलाई मिर्गौला तस्करी गर्न खोजेको हो भने र कैयौं सञ्चार माध्यमले यथार्थ बुझ्दै नबुझी हो मा हो लगाएर त्यसैको प्रचार गरे । यो मलाई मानमर्दन गर्ने कपोल्कल्पित आरोप हो यसमा कुनै सत्यता छैन । यसले सिंगो मेडिकल जगतलाई बदनाम गराउने कुचेष्टा भएको छ ।

यस्तो गम्भीर आरोप खेप्नुपर्दा कस्तो महसुस भइरहेको छ?
–मेरो लामो अनुभव र काम गरेका आधारमा जोखिमपूर्ण अवस्थाको शल्यक्रिया गरेको हुँ । २५ वर्षदेखि निरन्तर मिर्गाैलाको शल्यक्रिया गर्दै आएको छु । अनुभवको आधारमा जे गरें सही काम गरेको छु । यो क्षेत्रमा लागेकै मान्छे बचाउन हो र त्यही गरें यदि त्यसो नगरेर उनको मिगांैला त्यसै छोडेको भए उनी बाच्ने सम्भावना थिएन । काममा कुनै पश्चाताप छैन । तर, एउटा मान्छे बचाएवापत मैले र संस्थाले जुन आरोप खेप्नुप¥यो त्यसप्रति दुखी छु । यो व्यक्तिगत रूपमा म मेरो टिम र संस्थागत रूपमा बदनाम गराउन नियोजित षड्यन्त्र हो भन्ने लागेको छ ।

यसलाई कसरी प्रतिवाद गर्नुहुन्छ ?
–आरोप सुन्ने तर, यथार्थ नबुझ्नेहरूको लागि आरोप सही लाग्छ । पत्थरीको शल्यक्रिया गर्न गएको बिरामीको मिर्गौला झिक्यो भन्ने ! तर, जुन बिरामीको मैले मिर्गौला झिके त्यो अस्पतालको लापरबाही वा चिकित्सकको अनभिज्ञताले भएको होइन । सुजबुजका साथ बिरामी बचाउन गरिएको प्रयासमा मिर्गौला निकालिएको हो । हजाराैँ बिरामीको मिर्गौलाको शल्यक्रिया र प्रत्यारोपण गरेर आएको हुँ । म दावाका साथ भन्छु, मेरो जीवनमा यो पहिलो शल्यक्रिया वा सिकाइ होइन, मेरोबारे र मेरो योग्यता क्षमताबारे शंका छ भने बुझे हुन्छ । कुनै पनि विषयमा आरोप लगानुपूर्व आरोप लगाउने र हो मा हो मिलाउने सबैले वास्तविकता के हो बुझेर आरोप लगाउनु उचित हुन्छ । तर, बुझ्दै नबुझि हल्लाको भरमा आरोप लगाउन पाइन्छ ? म आरोप लगाउने सबै व्यक्ति र संस्थासँग प्रश्न गर्न चाहन्छु ।

तपार्इंको विचारमा उपचार सफल भएको हप्तौंपछि घटनालाई फरक ढंगले मोडेर आरोप लगाउनुको कारण के हुन सक्छ ?
–मनमोहन अस्पतालप्रति अनेक कोणबाट आउने गरेको ईश्र्याको प्रतिकात्मक स्वरूप हो । केही मान्छेहरू यो संस्थालाई कसरी बदनाम बनाउने भनेर बसिरहेका छन् । उनीहरूले यो घटनालाई हतियार बनाए । तर, म त्यो रिमाल परिवार सोचाइ देखेर चकित छु । जटिल अवस्थाको बिरामी बचाएकोमा खुसी हुनुपर्ने उल्टै यस्ता बहुलठ्ठी आरोपको पछि किन लागेका होलान् भनेर । उनीहरूले त जे हो त्यही कुरा गर्नुपर्ने हो नि तर, त्यसो गरेनन् । साच्चै हाम्रो कमजोरी भएको भए वा उनीहरूलाई जानकारी दिएर अनुमति लिएर त्यो शल्यक्रिया नगरेको भए त्यतिबेला के गरेर बस्नु भयो ? म यो पनि प्रश्न गर्न चाहन्छु । अर्को कुरा जुन शल्यक्रिया मैले गरें, त्यो अरू कुनै चिकित्सकले गरेको भए पनि आरोप आउथ्यो । यो विषयमा टेकेर गरिएको योजना गत रूपमा षड्यन्त्र हो । वास्तविकता विस्तारै सबैले बुझ्नेछन् ।

तपाईंको अलिकति कमजोरी वा असावधानी भएको भए के हुन्थ्यो ?
–अत्याधिक रक्तश्रावका कारण बिरामीको ज्यान जान्थ्यो । म मात्र होइन मेरो ठाउँमा अरू कुनै पनि चिकित्सक भएको भए बिरामी बचाउनु अरू कुनै पनि उपाए थिएन । कि बिरामी मर्न दिनुपथ्र्यो वा मिर्गौला निकाल्नुपथ्र्यो । त्यतिबेला बिरामीको आफन्तले बिरामी जेसुकै होस तर, मिर्गौला सहितको बिरामी भए हुन्छ । भनेको भए कुरो अर्कै हुन्थ्यो । त्यतिबेला उहाँहरूलाई बिरामीको ज्यान चाहिएको थियो । मलाई बिरामी जसरी पनि बचाउनु थियो त्यसको लागि अरू कुनै उपाए थिएन । अन्तिम उपाए अरू केही थिएन जे थियो त्यही गरें र बचाएँ ।

एउटा मिर्गौला नभएका ती बिरामीको स्वास्थ्य अब के हुन्छ ?
–अरू कारणले उनको स्वास्थ्य बिग्रिएन भने स्वास्थ्यमा कुनै असर पर्दैन । कुनै पनि मान्छेमा एउटा मिर्गौला हुनु र दुवै हुनुमा केही फरक पर्दैन । मान्छे–मान्छेसँग एउटा र दुईवटा गाडी भए जस्तै हो । गाडी जगेडा राखे जस्तै हो । तपाईं हाम्रो जीवनमा एउटा मिर्गौला र दुईवटा मिर्गौलाले गर्ने काम एउटै हो । उनको स्वास्थ्यमा मिर्गौला निकालेको कारण कुनै असर पर्दैन ।

यस्तो घटना तपाईंको अनुभवमा चाहिँ नौलो हो ?

–मेरो लागि शल्यक्रियाको विषय नौलो होइन । तर, बदनाम खेपेको चाहिँ पहिलो पटक हो । यस्तो बदनाम कहिल्यै खेपेको थिइनँ । तर, जहाँसम्म ढुंगा निकाल्दा मिर्गौला निकाल्यो भन्ने कुरो छ त्यो नेपालमा मात्र होइन विश्वका जुनसुकै देशमा पनि हुन्छ यस्तो शल्यक्रिया । कसैलाई शंका लाग्छ भने गुगलमा सर्च गरेर हेर्दा हुन्छ यस्ता घटना धेरै हुँदैनन्, तर, हुन चाहिँ अवश्य हुन्छन । शिक्षण अस्पतालमा पनि यस्तै शल्यक्रिया कैयांै गरेको थिएँ । मैले बिर्सेको छैन, एउटा केसमा एकजनाको मिर्गौलाको भित्र ढुंगा पूरै सिमेन्टले प्लास्टर गरेको जस्तो जाम भएको थियो । त्योबेला पनि शल्यक्रिया गर्दा–गर्दै बाहिर आएर आफन्तलाई जानकारी गराएको थिएँ, र अनुमति लिएर मिर्गौला निकालेको थिएँ । कहिले अनुमति लिएर पनि ननिकालिकन शल्यक्रिया सफल हुन्छ हामी सकेसम्म ननिकालिकन शल्यक्रियाको प्रयास गर्छौं । त्यतिबेला आरामले सोच्ने वा धेरै छलफल गर्ने समय हुँदैन । बिरामीको समस्या के छ पहिला नै भनेका हुन्छौं थप जानकारी पनि गराउने हो । बाँकी रिक्स बिरामीको आफन्तले लिनुपर्छ ।

शिव रिमालको मिर्गौला चाहिँ के गर्नुभयो ?
–मिर्गौला निकालेर बिरामीको परिवारलाई हेर्न बोलायौं । उहाँहरूले वास्तै गर्नुभएन । त्यसपछि वायोस्पी गर्नका लागि ल्यापमा पठायौं । अहिले पनि सुरक्षित छ । कसैले परीक्षण गर्न चाहने हो भने पनि पाइन्छ । त्यो मिर्गौला सुरक्षित छ ।

आरोप र घटनाबारे अन्त्यमा बाँकी केही भन्नु छ कि?
–यो घटनाको राम्रोसँग छानबिन हुनुपर्याे । अस्पताल वा मेरो लापरबाहीले निकाल्न नपर्ने अवस्थाको मिर्गौला निकालेको प्रमाणित भएमा जस्तोसुकै कारबाही भोग्न तयार छु । तर, हामीले सुझबुझका साथ बिरामी बचाउन परिवारको स्वीकृतिले निकाल्नैपर्ने अवस्थाको मिर्गौला निकाल्दा अनाआवश्यक रूपमा आरोप लगाउने र त्यसको पछि लाग्ने सबैलाइ कारबाही हुनुपर्छ । कसैप्रति पनि निराधार आरोप लगाउन पाइँदैन । यो विषयमा केही सञ्चार संस्थाले यथार्थ बुझ्दै नबुझी प्रचार गरेका छन् । जस–जसले आरोप लगाएका छन् सबै जवाफदेही हुनुपर्छ ।

प्रतिक्रिया