कहाँ चुक्यो कांग्रेस ?

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणाम करिब–करिब आइसकेको छ । परिणामअनुसार नेकपा (एमाले) सबैभन्दा ठूलो दलका रूपमा स्थानीय तहमा स्थापित भएको छ । नेपाली कांग्रेसले यो परिणामलाई स्वीकार गरे पनि अनपेक्षित परिणामका रुपमा लिएको देखिन्छ । नेपाली कांग्रेसले किन अप्रत्याशित पराजय भोग्यो भन्ने प्रश्नको जवाफ हुन्छ– कम मत पाएर । कांग्रेसले अब यही बिन्दुबाट आफ्नो समीक्षा थाल्नु पर्छ । किन कांग्रेसलाई कम मत आयो ? कुनै पनि घटनाक्रमलाई विश्लेषण गर्दा ऐतिहासिक आधारमा समेत हेर्नुपर्ने हुन्छ । कांग्रेसको पराजयको कारण हेर्ने हो भने एक प्रकारले स्वाभाविक पनि देखिन्छ किनभने नेपालको सबै निर्वाचनमा निराशाको मत निर्णायक हुने गरेको छ । अझ यसलाई सजिलोसँग बुझ्नका लागि हेरौ, २०१५ सालमा दुईतिहाइ बहुमत ल्याएको कांग्रेसको सत्ता मात्र हैन व्यवस्था नै १८ महिनापछि अपदस्थ हुँदा पनि नागरिक स्तरबाट त्यसको खासै प्रतिवाद भएन ।

२०३७ सालको जनमत संग्रहमा राजाले पञ्चायत नजोगिने देखेर ‘सुधारिएको पञ्चायत’को पक्षमा आफूलाई उभ्याए । ०४८ र ०४९ मा कांग्रेस अत्यधिक ठूलो दल रहेको अवस्थामा २०५१ को मध्यावधिमा दोस्रो हुन पुग्यो । त्यसपछि एमालेले सरकार चलायो । अहिलेसम्म चुनावी नारा बनाएको वृद्धभत्ता बाँड्ने एमालेको सरकार ९ महिनामा ढल्यो तर ऊसमेतको संयुक्त सरकारले २०५६ मा चुनाव गरायो । वृद्धभत्ताको नारा भजेन र कांग्रेसले संसद्मा स्पष्ट बहुमत ल्यायो । दलहरुप्रति अविश्वास बढिरहेको समयमा उदाएका राजा पनि टिक्न सकेनन् । उनको राजसंस्था जोगाइदिन कोही पनि सडकमा आएन । संसद्को एउटा घोषणाले उनी नारायणहिटी छाड्न बाध्य भए । २०६४को चुनावपछि अब कांग्रेस र एमालेले आफ्नो साख जोगाउन वर्षौ कुर्नुपर्छ भन्ने चर्चा चल्यो । तर २०७० मा माओवादी पहिलोबाट तेस्रो भयो, कांग्रेसको दिन फक्र्यो । त्यस्तैै अहिले २०७४ मा एमाले उदाएको हो ।

उल्लेखित घटनाक्रमले के देखाउँछ भने नेपाली मतदाताले चाँडो परिवर्तन चाहँदारहेछन् । रोग, भोक, गरिबी, अशिक्षामा केही सुधार आए पनि नयाँ समस्याका रुपमा थपिएका बेरोजगारी, अस्तव्यस्तता, राज्यको व्यबस्थापकीय क्षमतामा देखिने ह्रास, भ्रष्टाचार, आत्मीयतामा प्रहार, भौगोलिक, जातीय साम्प्रदायिक भावनाको विकासजस्ता कुराबाट जनता दिक्क छन् । ‘अब अर्को दलबाट केही हुन्छ कि ?’ भन्ने सोच मतदातामा सधैं आइरहन्छ । तर, सुधारका लागि चमत्कारी नेतृत्वको उदय हुन सकिरहेको छैन । त्यसैले मतदाताले प्रत्येक चुनावमा विकल्पमा रोज्ने मानसिकता बोकेका हुनुपर्छ । यो नेपाली मतदाताको एउटा चरित्रझैं बन्न पुगेको छ । २०७० मा राम्रो जनमत पाएको कांग्रेसको फेरि विकल्प खोजे जनताले यो स्थानीय निर्वाचनमार्फत् । मतदाताको यसप्रकारको भावनालाई कांग्रेसले बुझ्न सकेन । कांग्रेसको हारको पहिलो कारण यही हो । उम्मेदवार चयन गर्दा कांग्रेसले जनताले बिकल्प भेटाएको, संभावना भएको नेतृत्व पाएको अनुभूति हुने प्रकारका पात्रलाई अगाडि उभ्याउन सकेन ।

जनस्तरमा एक प्रकारको बिश्वास जितेका पात्र प्रशस्तै नभएका होइनन्, तर गुटगत प्रतिस्पर्धाको मिचाइमा ती सबै सम्भावना च्यापिएको कांग्रेसले पत्तै पाएन ।काठमाडौंमा विवेकशील र साझा पार्टीले पाएको मत उनीहरुप्रतिको आकर्षणभन्दा पनि मतदाताको विकल्पको खोजी थियो भन्ने कांग्रेसले बुझ्न चाहेन । भर्खरै सत्तारोहण गरेको कांग्रेसले सत्तामा जाने पात्रको छनोटका क्रममा पनि जनताले खोजेको विकल्पलाई सम्बोधन गर्न सकेन । कांग्रेसको विकल्प कांग्रेस नै हो अथवा कांग्रेसको विकल्प कांग्रेसभित्रैबाट सम्भव छ भन्ने भावनाको विकास गर्ने रणनीति कांग्रेसले अख्तियार गर्न चाहेन । त्यसैले ०७० सालमा आफैले ठूलो बनाएको पार्टीलाई जनताले ०७४ सम्म आइपुग्दा फेरि सबक सिकाए ।  नेपाली कांग्रेसले सर्वप्रथम यो कुरालाई मनन गरेर मात्र आफ्नो पराजयका अन्य आन्तरिक कारण खोज्न आवश्यक छ ।

ती कारणलाई बुँदागत रुपमा हेरौ ः
१. उम्मेदवार छनोटमा ढिलाइ गरिँदा स्थानीय चुनाव लड्ने उमेदवारले मतदातालाई मुख देखाउनसमेत घरघर जान पाएनन् ।
२. लोकप्रिययता नाप्ने गलत आधार तयार गरियो । कांग्रेसभित्र हैन गुटभित्र लोकप्रिय खोजियो । पार्टीभित्रका इमानदार, गुटको साहाराविना नै व्यक्तित्व निर्माण गरेका पात्रहरुले टिकट वितरण प्रक्रियामा न्यायको अनुभूति गर्न सकेनन् । पार्टीले न्याय दिन नसक्ने हो त ? भन्ने एउटा डरलाग्दो भावनाको जागृत हुनपुग्यो । त्यसले निराशा बढायो । निराश सिपाहीले युद्ध जित्न असम्भव हुन्छ ।
३. रणनीति र कार्यक्रमरहित चुनावको सामना गर्नु पनि अर्को हारको कारण हो । यो स्थानीय चुनावको लागि पार्टीको कुनै पनि रणनीति देखिएन । त्यस्तै निर्वाचन परिचालन समितिले आयोजना गरेका प्रदेश स्तरीय सभाबाहेक पार्टीले कुनै पनि निर्वाचन केन्द्रित कार्यक्रम दिन सकेन । २०७० सालको चुनावअगाडि गाउँ जागरण अभियान, प्रशिक्षण कार्यक्रम र विकास क्षेत्र स्तरीय सभा गरी चुनावी वातावरण बनाइएको थियो । गाउँ जागरण अभियानले हरेक सक्रिय सदस्यलाई क्रियाशील बनाएकोे थियो । यसपाली पार्टीले कार्यकर्ता परिचालन गर्ने कुनै पनि कार्यक्रम दिन सकेन । कुनै पनि भातृसंगठन चुनाव केन्द्रित अभियानका साथ परिचालित हुन सकेनन् ।
४. सन्तुलनको अभाव पनि अर्को समस्या बन्यो । कांग्रेस पार्टीभित्र गुटका नाममा शक्ति केन्द्रहरु छन् भन्ने सर्वविदितै छ । चुनावमा होमिदा ती शक्तिकेन्द्रबीचमा सन्तुलन कायम गर्नुपर्ने थियो । त्यसो हुन सकेन । पेलेर आफ्ना मान्छे स्थापित गर्ने प्रतिस्पर्धामा गुटका नाइकेहरु लागे । कहीं कसैले पेले, कहीं कसैले । कतै पनि सन्तुलन भएन ।
५. उम्मेदवारका दावेदार बनेकालाई टिकट नपाएको अवस्थामा परिचालित गर्ने रणनीति बनाउन कांग्रेस देशभर विफल भयो । पराजयका पछाडि यो पनि महत्वपूर्ण कारण हो ।
६. पार्टीभित्र विकास हुँदैआएको बदलाको भावना पनि पराजयको महत्वपूर्ण कारण हो । आफूले टिकट नपाएपछि अर्कालाई किन हुन दिने ? भन्ने चरित्र बलियो बन्यो । नेतृत्वले यो चरित्रलाई चिर्न सकेन । अनि त्यो बदलाको भावना अन्तरघातमा परिणत भयो । यही अन्तरघातका कारण कांग्रेसका गढ भनेर चिनिने जिल्ला र क्षेत्रसमेत ध्वस्त हुन पुगे ।
७. टिकटलाई नै पद मान्ने संस्कारले पनि कांग्रेस कार्यकर्ता ग्रसित छन् । पार्टीबाट टिकट लिने भनेको एकैपटक पदमा पुग्नु हो भन्ने सोचेको पाइन्छ ।
विपक्षीसंँग चुनाव लड्नुपर्छ, त्यसका लागि आफूलाई सम्पूर्ण रुपमा तयार गर्नुपर्छ भन्ने कुरालाई महत्व नदिएरै टिकटको आकांक्षा राख्ने प्रवृत्तिले आकांक्षी धेरै हुने गर्छन् । धेरै आकांक्षी हुने र एउटाले मात्र अवसर पाउने अवस्थामा हुनु पनि समस्या हो । कांग्रेसले पार्टी निर्णयभन्दा बाहिर जानेलाई कारबाही गर्ने कुरामा आफूलाई उदार रुपमा प्रस्तुत गर्दै आएको छ । यही कारण पार्टी अनुशासनविहीनहरुको भीडजस्तो पनि देखिन्छ । यही कारणले पार्टीको बचाउ गर्दै पार्टीले गरेका राम्रा कामको प्रचारसमेत गर्न सक्तैन । पार्टीको अर्को नेताको अस्तित्व स्वीकार गर्न पनि यही कारणले गाह्रो मान्ने गरेको देखिन्छ ।

उदाहरणका लागि हेर्न सक्छौ, एमालेले वृद्ध भत्तालाई ०५१ सालदेखि भजाउँदै छ तर गएको सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मा पाएको कांग्रेसले निःशुल्क स्वास्थ्य बिमा, निःशुल्क मुटुको उपचारजस्ता नागरिक स्वास्थ्यसँग जोडिएका विषयलाई उठाउन सकेन । यो कुरा उठाउँदा गगन थापाको प्रचार हुन्छ भन्ने मानसिकता कांग्रेसमा देखियो । यो सबै मानसिकता अराजनीतिक र व्यक्तिवादी प्रवृत्ति व्याप्त भएका कारण विकास भएको हो ।
यस्ता प्रवृत्तिको अन्त्य गर्न पार्टी निर्णयबाहिर जानेलाई पहिचान गरी अनुदार भएर कारबाही गर्ने आँट अब कांग्रेसले देखाउनै पर्छ । यही बिन्दूबाट आफूभित्रको सूक्ष्म व्यवस्थापन गर्दै सुधारको बाटामा हिंड्न विलम्ब गर्नु हुँदैन । यस मार्गमा हिँडेको परिणाम अर्को चुनावमा देखिनेछ ।

प्रतिक्रिया