अमेरिका, १९ जेठ । सन् २०१५ मा हस्ताक्षर भएको प्यारिस जलवायु सम्झौताबाट अमेरिकालाई अलग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयसंगै उक्त कदमको अमेरिका भित्र र बाहिरबाट चर्का आलोचनायुक्त प्रतिक्रियाहरु व्यक्त भइरहेका छन्।
ट्रम्पको निर्णयको अन्तराष्ट्रिय तहबाट व्यापक भर्त्सना गरिएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसका एक जना प्रवक्ताले हरित गृह उत्सर्जन कटौतीको विश्वव्यापी प्रयासमा अमेरिकी निर्णयले ठूलो निराशा थपेको प्रतिक्रिया दिएका छन्।
युरोपेली संघ इयुले विश्वका लागि दुखद दिन भन्दै आफू इतिहासको सही पानामा उभिएको र जलवायु परिवर्तन विरुद्ध लडिरहने जनाएको छ। फ्रान्सका राष्ट्रपति एम्मानुएल माक्रोंले विश्वव्यापी तापमान वृद्धिविरुद्ध लड्न अर्को वैकल्पिक योजना नरहेको टिप्पणी गरेका छन्। एउटा संयुक्त विज्ञप्तीमा जर्मनी, इटली र फ्रान्सले अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्यारिस सम्झौताका बारेमा पुनः अर्को छलफल गर्न नसकिने चेतावनी दिएका छन्।
ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले अमेरिकी निर्णयप्रति असहमति जनाउँदै ब्रिटेन उक्त सम्झौताप्रति प्रतिबद्ध रहने बताएकी छन्। उनले प्यारिस सम्झौताले पृथ्वीको समृद्धि र भावी पुस्ताको भविष्य संरक्षणका लागि सहि विश्वव्यापी प्रारुपहरु निर्धारण गरेको पनि उल्लेख गरेकी छन्।
अमेरिकामा रहेका प्यारिस सम्झौताका पक्षधरहरुले राष्ट्रपति ट्रम्पको निर्णयको कडा आलोचना गरेका छन् । सन् २०१५ मा उक्त सम्झौताका लागि वार्ताहरु गरेका पूर्व राष्ट्रपति बराक ओबामाले ट्रम्प प्रशासनले भविष्यलाई अस्वीकार गरेको प्रतिक्रिया दिएका छन्। उनले अमेरिकी राज्यहरु, शहरहरु र व्यावसायिक क्षेत्रहरुले अग्रसरता देखाउँदै पृथ्वीलाई जोगाउन नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
डोमोक्र्याट दल आवद्ध न्युयोर्क शहरका मेयर बिल डे ब्लाजियोले ट्रम्प प्रशासनको निर्णय पृथ्वीमा रहेका सबैको स्वास्थ्य र सुरक्षाविरुद्ध गरिएको उनकै शब्दमा अनैतिक आक्रमण भएको टिप्पणी गरेका छन्। डेमोक्र्याटिक सिनेटर बर्नी स्यान्डर्सले भावी सन्ततिका लागि पृथ्वीलाई संरक्षण गर्न चालिएको कदमविरुद्ध पिठ्युँ फर्काउने नैतिक अधिकार अमेरिकासँग नरहेको बताएका छन्।
विद्युतीय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले राष्ट्रपति ट्रम्पको सल्लाहाकार समूह छाड्ने निर्णय गरेका छन्।
प्रतिक्रिया