काठमाडौं, ९ जेठ । ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले म्यानचेष्टर शहरमा भएको विस्फोटनबाट प्रभावितहरु प्रति गहिरो सहानुभूति व्यक्त गर्दै सो घटनालाई डरलाग्दो आतंकवादी हमलाको रुपमा छानविन थालिएको जानकारी दिएकी छन्।
म्यानचेष्टर विस्फोटलाई लिएर मंगलबार बिहान प्रधानमन्त्री मे ले ब्रिटेनको उच्चपदस्थ सुरक्षा अधिकारी सहभागी हुने कोब्रा बैठकको अध्यक्षता गर्ने जनाइएको छ। प्रहरीका अनुसार एउटा पप सांगीतिक कन्सर्टमा गराइएको बम विस्फोटनमा कम्तीमा १९ जना मारिएको र झण्डै ५० जना घाइते भएका थिए।
सो विस्फोटनलाई आतंकवादी हमलाका रुपमा अनुसन्धान शुरु गरिएको अधिकारीहरुले जानकारी दिएका छन्। म्यानचेष्टर एरिनामा एक अमेरिकी गायिका एरियाना ग्रान्डीले आफ्नो प्रस्तुती सम्पन्न गर्न लागिरहँदा सो विस्फोट भएको थियो।
विस्फोटन लगत्तै उक्त साङगीतिक महौल अन्यौलपूर्ण परिस्थितिमा बदलिएको थियो। एकदमै शक्तिशाली उक्त विस्फोटनका कारण भवनहरु हल्लिएको प्रत्यक्षदर्शीहरुले जनाएका छन्।
उनीहरुले विस्फोटक सामाग्रीको गन्ध आएको र फलामका टुक्राहरु यत्रतत्र छरिएको उल्लेख गरेका छन्। म्यानचेष्टरका प्रहरीले पहिलो विस्फोट भएको स्थान नजिकै फेला परेको दोस्रो शंकास्पद वस्तु विस्फोटक पदार्थ नभई कपडाहरु सहितको पोका भएको बताएका छन्।
अधिकारीहरुले सञ्चारकर्मीहरुलाई हटाएर सो स्थानमा नियन्त्रित विस्फोटन गराएका थिए। मध्ये म्यानचेष्टरमा रहेको उक्त क्षेत्रमा अहिले बम निस्क्रिय पार्ने विशेष सुरक्षा विज्ञहरुको टोली र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ र नजिकै रहेको रेल स्टेशनको सम्पूर्ण सेवा अवरुद्ध पारिएको छ। केही ट्याक्सी चालकहरुले सो सांगीतिक कार्यक्रम हेर्न गएका तर अहिले अलपत्र परिरहेका किशोर किशोरीहरुलाई निस्शुल्क उनीहरुको घरसम्म पुर्याइदिरहेका छन्।
घटनास्थलमा रहेका पत्रकार टम मुलेन भन्छन् विस्फोटन भएको क्षेत्र आसपास प्रहरीहरुको उपस्थिति एकदमै बाक्लो छ। प्रहरीले अपराधस्थलको दायरा बढाउँदै टेप लगाएर निषेधित क्षेत्र विस्तार गरिरहेको छ र मानिसहरुलाई प्रहरीले परै बस्न भनिरहेका छन्।
कन्सर्ट हेर्न जानेमा अधिकांश किशोर किशोरीहरु रहेका थिए र घटनास्थलको माहौल एकदमै अन्यौलपूर्ण देखिएको थियो। त्यहाँ उपस्थित मानिसहरु एकदमै डराएको र कैयौंका आँखा भरी आँसु देखेको पत्रकार मुलेनले बताए। (बिबिसीबाट)
प्रतिक्रिया