सेयरमा भ्याट नलगाउन सुझाव

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउन नमिल्ने सुझाव सरकारलाई दिएको छ । महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदनमा सेयर किनबेचमा पनि भ्याट लगाउनु पर्ने उल्लेख गरेपछि बोर्डले उक्त सुझाव दिएको हो ।  महालेखाको प्रस्तावलाई आगामी बजेटमा सम्बोधन गर्नेबारे अर्थमन्त्रालयले छलफल चलाएपछि बोर्डले मंगलबार सुझाव पठाएको हो । बोर्ड बैठकले सेयर बजारलाई भ्याटको सीमामा ल्याउन नमिल्ने निष्कर्ष निकालेपछि मन्त्रालयमा सुझाव पठाएको हो ।  सेयर कारोबार गर्ने लगानीकर्ताले तिरेको ब्रोकर कमिसनमा १३ प्रतिशत भ्याट लिनुपर्ने बताएको थियो । त्यस अनुरूप गत आर्थिक वर्षको अर्थमन्त्रालयको अडिट गर्दा सेयर कारोबारमा भ्याट नलिएको भन्दै महालेखाले बेरुजुमा राखिदिएको छ । ब्रोकरले पनि त्यसको विरोध गर्दै आएका थिए ।
नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएको हुँदा त्यसका नियमलाई उल्लंघन गर्न नसक्ने सुझाव बोर्ड अर्थमन्त्रालयलाई दिएको छ । ‘विश्व व्यापार संगठनका सदस्य देशले वित्तीय क्षेत्र र धितोपत्र बजारलाई भ्याट छुट दिएको कारण नेपालले पनि अनुसरण गर्नुपर्ने’ बोर्डको ठम्याइ छ । मूल्य अभिवृद्धि कर ऐन २०५२ को अनुसूची १ मा पनि वित्तीय क्षेत्र, बिमालगायतलाई भ्याटको सीमा नराखेको हुँदा सेयर कारोबारलाई पनि त्यस्तै व्यवहार गर्नुपर्ने बोर्डको तर्क छ । बस्तु या सेवा व्यापारजस्तो सेयर कारोबारमा अन्तिम उपभोक्ता नहुने हुँदा भ्याट लगाउन नमिल्ने जनाइएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐनमा पनि धितोपत्र कारोबारबाट कमाएको आयमा कर तिरे नतिरेको जाँच नगर्ने व्यवस्था रहेको पनि बोर्डले मन्त्रालयलाई स्मरण गराएको छ ।
बेलायतमा र नाइजेरियामा सेयर कारोबारमा भ्याट लिन खोज्दा असफल भएपछि सरकारले फिर्ता लिएको थियो । छिमेकी भारतदेखि पाकिस्तान, बंगलादेशलगायत मुलुकमा पनि सेयर खरिद बिक्रीमा भ्याट लाग्ने गरेको छैन । राजधानीमा सीमित सेयर बजारलाई मोफसलमा विस्तार गर्ने अभियानमासमेत भ्याट लगाउँदा धक्का पुग्न सक्नेतर्फ समेत बोर्डले सरकारलाई सचेत गराएको छ ।

प्रतिक्रिया