अलपत्रमा दुःखीलालको दुःख

alpatra ko dukhilalaकाठमाडौं । होङकु सिनेमाको प्रस्तुतिमा रहेको युट्युब सिरियल अलपत्रमा रहेका पात्र दुःखीलाल काका अर्थात् अरुण राई खोटाङ जिल्लाको जलेश्वरीमा जन्मेर काठमाडौंमा संघर्षरत एक हास्य कलाकार हुन् । प्रारम्भिक शिक्षा गाउँकै सिम्ले प्राविबाट गरेका उनले विद्यालयमा छँदा खास अभिनय सिकेनन् र गरेनन् पनि । एसएलसी परीक्षामा सामेल भएपछि भने गाउँमा दसँैतिहारको बीचमा नाटक देखाउने भनेपछि उनले अभिनय यात्रा सुरु गरे । गाउँमा खुलेको सयपत्री एकता समाज नामक क्लबमा आबद्व भएर उनले सुरु गरेको अभिनय यात्राले उनलाई अहिले दुःखीलाल काकासम्म पु¥याएको छ । छिमेकी गाउँबाट आएका दाजु मुगाधन राईको विशेष हौसला र साथीहरू माओदीप, लक्ष्मी, सुस्मिताको साथमा अभिनयको यात्रा सुरु गरेको बताउने उनले त्रिभुवन उच्च मावि ऐंसेलुखर्कबाट प्लस टु सकेका छन् ।
हाल पशुपति बहुमुखी क्याम्पसमा स्नातक तहका नियमित विद्यार्थी रहेका उनले काठमाडौं आउँदा विदेश जाने सपना बोकेर आएको सुनाए । ‘विदेश जाने भनेर पासपोर्ट बोकेर आको मेनपावरले ढिलो गर्दा कलाकार बन्ने मौका मिल्यो ।’ होङकु सिनेमामा लगातार प्रसारण भइरहेको ‘अलपत्र’ सिरियलको मुख्यपात्र उनी स्टेजहरूमा समेत उत्तिकै जम्न थालेका छन् । सुरुमा लघुचलचित्रहरूमा अभिनय गर्दागर्दै उनले एउटा कथाको परिकल्पना गरे । उनको परिकल्पना सन्तोष राईले सुने र लेखे पनि । ‘गाउँमा दसैंतिहारमा देखाइने नाटकहरू लेख्दै आएका सन्तोषले कथा लेखेपछि यसलाई छायांकन गरियो तर नाम भने जुरेकै थिएन’, उनले सुनाए । पछि सबै सम्पादनको काम सकिएपछि पनि नामको बारेमा केही नजुरेको बेला केदार राईले जुराए नाम ‘अलपत्र’ दुःखीलालले सुनाए ।
‘यसरी सुरु गरेको अलपत्र पनि ३३ भाग पुग्यो’, उनले भने, ‘यसले मलाई निकै राम्रो ऊर्जा मिलेको छ ।’ आर्थिक अभावलगायत विभिन्न किसिमको दुःखहरू झेल्दै कलाकारितामा रहेका उनले अहिले बजारमा आउने हास्य कलाकारहरू जस्तै आफूलाई निखार्न अझै केही समय लाग्नेसमेत सुनाएका छन् । ‘सकिन्छ भन्ने लागेर नै यहाँसम्म आएको छुँ । हेरौँ कतिसम्म गरिन्छ ?’ उनले आफूलाई नै पनि प्रश्न गरे । होङकु सिनेमा प्रालिप्रति ऋणी रहेको भन्दै उनले यसका प्रोपाइटर गणेश राईले दिएको अवसर नै निकै महत्वपूर्ण रहेकोसमेत बताएका छन् । हाल अलपत्रको काममा व्यस्त उनले गीतसमेत लेख्दै आएका छन् ।
उनले दर्शक तथा श्रोताले माया गर्न थालेकोमा गर्व गर्दै आगामी दिनमा यसक्षेत्रमा अझै केही नयाँ स्वादहरू पस्किँदै जाने बताए । साथी र सहकर्मी सबैसँग सन्तुष्ट रहेका उनले कलाकारितमा नै आफ्नो भविष्य खोज्ने बताउँदै अझै गाउँगाउँमा भइरहेका घटना परिघटनालाई कथामा उतार्न कोसिस गरिरहनेसमेत बताएका छन् ।

प्रतिक्रिया