जीवनस्तर उकास्नु एडिबी उद्देश्य ः नाकाओ

जापान । एसियाली विकास बैंक (एडिबी) का अध्यक्ष ताकाहिको नाकाओले निरपेक्ष गरिबीको रेखामुनि रहेका एसियाका ३३ करोड जनाताको जीवनस्तर उकास्नु एडिबीको मुख्य लक्ष्य एवं उद्देश्य भएको बताएका छन् ।
बैंकको स्वर्णमहोत्सवको समाचार संकलन गर्न योकोहामा अन्तर्राष्ट्रिय सम्मेलनस्थलमा एकत्रित भएका विश्वभरका चार सयभन्दा बढी आर्थिक पत्रकारसँगको भेटमा उनले सबै मिलेर समृद्ध एसिया निर्माण गर्नु एडिबीको लक्ष्य भएको बताए ।
एसियालाई आर्थिक रूपमा समृद्ध महादेश बनाउन यातायात, सञ्चार, ऊर्जाजस्ता भौतिक पूर्वाधार निर्माण गर्न एसियालाई वार्षिक एक खर्ब ७० अर्ब डलर आवश्यक पर्ने बताउँदै उनले त्यस निम्ति बैंक लागिपरेको स्पष्ट गरे ।
‘दिगो विकासको सुनिश्चितता तथा समावेशितासँगै राष्ट्रराष्ट्रबीचको साझेदारी र सहकार्यबाट मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ,’ उनले भने । सहरीकरणले अवसरसँगै वातावरणीय चुनौती थपेको तर्क गर्दै उनले हरित सहर विकासलाई बैंकले प्राथमिकता दिएको बताए ।
क्षेत्रीय सहयोग विस्तार, व्यापार विविधीकरण र एकीकरण एसियाको समृद्धिका लागि अपरिहार्य तत्व भएका बताउँदै उनले सदस्य देशका सरकारसँगको साझेदारी, समन्वय र सहकार्यबाट लक्ष्य हासिल गर्न सकिने विचार व्यक्त गरे ।
जलवायु परिवर्तनका असरविरुद्ध लड्न तथा पर्यावरणीय सन्तुलन कायम गर्दै सामाजिक सुरक्षाका साथ दिगो विकास हासिल गर्ने उद्देश्य प्राप्तिमा भरथेग गर्न बैंक सधैँ सदस्य मुलुकका साथमा रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
एडिबीका सदस्य देशलाई बैंकले पूर्वाधार क्षेत्रको विकासका लागि ७० प्रतिशतसम्म ऋण सहयोग गर्दै आएको र बैंकसँग त्यसो गर्न पर्याप्त पुँजी रहेको जानकारी उनले दिए ।
चीनले अघिसारेको ‘एकक्षेत्र एक मार्ग’ (ओबोर) अवधारणा सम्पर्क र सञ्जाल विस्तारको उपयुक्त उपाय हो भन्दै अत्यन्त कम जनसंख्या भएका केही मुलुकमा ओबोरको सम्भाव्यताबारे पुनर्विचार गर्नुपर्ने टिप्पणी गरे । सदस्य देशका ऊर्जा समस्या सम्बोधन गर्न बैंकले स्वच्छ ऊर्जा प्रवद्र्धनमा जोड दिएको बताउँदै उनले वायु, सौर्य, नवीकरणीय र जलविद्युत् बैंकका प्राथमिकता हुन् भने ।
कोेरियाली प्रायद्वीपमा बढ्दो तनाब र चुलिँदो प्रतिरक्षा खर्चले एसियाली देशको विकास बजेटमा पर्ने प्रभावबारेको अर्को एक प्रश्नको जवाफमा उनले विद्यमान तनाव अन्त्य भई शान्त र समृद्ध एसिया निर्माणमा त्यसले बल पुग्ने विचार व्यक्त गरे ।
यसैबीच बैंकले नेपालको सहरी विकास, खानेपानी आपूर्ति तथा व्यवस्थापन, ढल तथा नदी क्षेत्र सुधारका तीन वटा परियोजनाबारे जानकारी दिएको छ । बैंकले यो वर्ष क्षेत्रीय १४ करोड ७० लाख अमेरिकी डलरको लागतमा क्षेत्रीय सहरी विकास आयोजना, आगामी वर्ष चार करोड अमेरिकी डलरको लगानीमा वाग्मती नदी किनार सुधार परियोजना (अतिरिक्त लगानी) र १८ करोड ५० लाख अमेरिकी डलरको लागतमा सन् २०१९ मा दोस्रो काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना सञ्चालन गर्ने भएको छ ।

प्रतिक्रिया