सन् २०१७ को २० जनवरीमा अमेरिकी राष्ट्रपतिको शपथ लिएका राष्ट्र्पति डोनाल्ड ट्रम्पको कार्यकालको समीक्षा अमेरिकामा एकपछि अर्काेगरी सुरु भएको छ । यसै क्रममा आएको छ पछिल्लो आर्थिक विकास र यसको अवस्थाको मूल्यांकन ।
विश्व राजनीतिमा राम्रैसँग चर्चाका साथ सुरु भएको उनको सत्तारोहणपछिका सय दिनमा के कस्ता काम भए भनेर यतिखेर विभिन्न क्षेत्रमा चर्चा परिचर्चा हुन थालेका छन् । उनको सत्तारोहणले ल्याएको नयाँ तरंगसँगै अब अमेरिकी अर्थतन्त्र र कृषि उत्पादनका क्षेत्रको पनि विश्लेषण गरिएको छ ।
उनका चुनावी एजेन्डासँगै आप्रवासी तथा शरणार्थीलाई अमेरिका प्रवेश गर्न नदिने सम्बन्धमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा नीति लिएसँगै उनी सत्तामा पुगेसँगै यो नीति लागू गरेका कारण केही विवाद पनि भयो । अब यसले के कस्तो क्षेत्रमा राम्रो वा नराम्रो ग¥यो भन्ने बारेमा यतिखेर अर्थशास्त्री र विज्ञहरूको अनुसन्धान जारी छ ।
यसै क्रममा अमेरिकी कृषि उत्पादनको क्षेत्र प्रभावित भई जोखिममा समेत पर्ने देखिएको उनीहरूको पछिल्लो निष्कर्ष छ । गैरकानुनी तरिकाबाट होस् वा लुकीछिपी अमेरिका प्रवेश गरी सस्तो ज्यालादरमा काम गर्ने श्रमिकको हाल अमेरिकामा खाँचो नै परेको छ, जसकाकारण कृषि व्यवसायमा लागेका बहुसंख्यक अमेरिकी व्यवसायीहरू अब संकटमा पर्न लागेका छन् ।
तरकारी तथा फलफूल उत्पादक कृषक, दूध वा दुग्धजन्य पदार्थका उत्पादक कृषक, विभिन्न वनस्पति वा नर्सरी व्यवसायमा लागेका उद्यमी, ठूला परिमाणमा दाख, काजु, अंगुरको खेतीपाती, उत्पादन गर्ने उच्चस्तरीय कृषक सबैले यथेष्ट मात्रामा कामदार नपाउँदा उनीहरू चिन्तित बनेको पाइएको छ । साथै उनीहरूले राष्ट्रपति ट्रम्पको कडा नीतिको तीब्र आलोचना पनि गरेका छन् ।
यसैगरी कृषि श्रमिकको हाहाकार हुँदै जाने हो भने अमेरिकी कृषक वा कृषि उद्यमीले एक दिन आफ्नो पेसा, व्यवसाय त्याग गर्नुपर्ने र अमेरिकी जनतासमेतले आफ्नो देशको कृषि उत्पादन देख्न नपाई तरकारी, फलफूल, दही दूध, अन्नलगायत सबै थरी कृषि उत्पादन उपभोग गर्न विदेशको भर पर्नुपर्ने अवस्था उत्पन्न हुने भय थपिएको अमेरिकी उद्यमीहरूकै भनाइ छ ।
जति आप्रवासी वा शरणार्थी कडा परिश्रम गर्छन् तर रैथाने अमेरिकी त्यत्ति गर्न सक्दैनन्, जान्दैनन् वा चाहँदैनन् । वर्षौं अघिदेखि धेरैजसो रैथाने अमेरिकी जनताले अन्य पेसा वा व्यवसायमा लागेर मनग्ये आयआर्जन गरी सोख र मोजमस्तीमा हुर्केबढेका हुनाले उनीहरू कडा शारीरिक परिश्रम वा मेहनत निकै कम गर्छन् भनिन्छ ।
कसैकसैमामा मेहनत गर्ने बानी भएता पनि त्यो वर्ग खेतबारीमा जोतिएर काम गर्न चाहँदैन । अमेरिकी कृषि व्यवसायमा आवश्यक पर्ने सीप, कला, कौशलको ज्ञान उनीहरूमा लगभग छैन भने पनि हुन्छ । कतिपय ठूला कृषकहरू रिपब्लिकन पनि छन् । उनीहरूले आँखा चिम्लेर ट्रम्पको पक्षमा मतदान गरेका थिए ।
आज ती कृषकहरू रिपब्लिकन पार्टीकै उच्चस्तरीय नेताहरू कहाँ दौडधूप गरी आप्रवासी तथा शरणार्थीसम्बन्धी राष्ट्रपति ट्रम्पको नीति लचिलो वा खुकुलो बनाउन र आफ्नो परम्परागत पेसा संरक्षणका लागि धाउँदैछन् । अमेरिकामा अन्य उद्योगधन्दा तथा गैरकृषि व्यवसायको तुलनामा कृषि व्यवसायमा संलग्न हुनेले सस्तो ज्यालादरमा कडा परिश्रम गर्ने श्रमिकहरूलाई काममा लगाउनेबाहेक अन्य विकल्प छैन । त्यस्तो सस्तो श्रम आप्रवासी वा शरणार्थीहरूबाट मात्र उपलब्ध हुन सक्थ्यो । आप्रवासी वा शरणार्थी श्रमिकहरू उपलब्ध नभएमा अमेरिकी कृषि अर्थतन्त्र साँच्चिकै जोखिममा पर्ने र धेरै कृषि व्यवसायीहरूले आफ्नो पेसाबाट हात धुनु पर्ने भयले उनीहरूलाई सताएको जनाइएको छ ।
अमेरिकामा गहुुँ, जौ, मकै, धानजस्ता अन्नबाली, दलहन र तेलहनहरू ठूलो परिमाणमा उत्पादन गर्ने ठूला कृषकको संख्या हाल आठ लाख रहेको छ । त्यस्तै साना कृषक तथा तरकारी, फलफूल, दूध वा दुग्ध पदार्थका उत्पादक तथा व्यवसायीहरू त कति छन् कति । ती कृषकले काममा लगाउने श्रमिकहरूको जम्मा संख्याको करिब ४६ प्रतिशत अंश आप्रवासी वा शरणार्थीबाट आपूर्ति हुने गरेकोमा आप्रवासी वा शरणार्थीहरूको संख्यामा कमी आउनासाथ समग्र कृषि उत्पादन क्षेत्र नै संकटमा पर्ने बताइन्छ ।
ट्रम्पले आफ्नो निर्वाचन अभियानका क्रममा उठाएका कतिपय एजेन्डा सजिलै कार्यान्वयन हुन नसक्ने खालका छन् । राष्ट्रपति ट्रम्पले चुनावअघि व्यक्त गरेका कतिपय प्रतिबद्धतालाई वास्तवमा प्रायः असम्भव नाराका रूपमा लिइएको थियो । यो तथ्यलाई स्वयं अमेरिकावासीले मात्र नभएर विश्वका अरू देशका राजनीतिज्ञ र जनताले पनि विश्लेषण गरिरहेका थिए ।
अर्को विषयवस्तु हो राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचन अभियानमा आप्रवासी र शरणार्थीप्रति अनुदार नीति । उनले ह्वाइट हाउस प्रवेश गरेको दुई हप्ता हुन नपाउँदै सोही नीतिअनुसार काम गर्न थालेका थिए । अस्टे«लियाबाट शरणार्थी स्वीकार गर्न तयार भएको अघिल्लो ओबामा प्रशासनको निर्णय पनि उनले सीधै इन्कार गरिदिएका थिए ।
आतंकवादको कारण भन्दै उनले विभिन्न पाँच कट्टर मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा नै प्रतिबन्ध लगाइदिने नीतिको पनि व्यापक आलोचना भएको थियो । कुनै पनि परिस्थितिमा कुनै देशले अर्काे कुनै देशका कुनै पनि नागरिकलाई सोझै प्रवेशै दिन्न भन्नु अव्यावहारिक निर्णयबाहेक अरू केही पनि होइन भन्ने आवाज सर्वत्र उठेको छ । राष्ट्रपतिको यस निर्णयको अमेरिका र विश्वभर आलोचना भएको थियो । ठूलाठूला अमेरिकी बहुराष्ट्रिय व्यापारिक घरानाले त यसको खुलेरै विरोध गरेका थिए ।
चुनावीे क्रममा विश्वका कुनै पनि नेताले विभिन्न वाचा गर्ने गर्छन् । चुनावीे प्रचारप्रसारको क्रममै आतंकवादको अन्त्य गर्ने उद्घोष ट्रम्पले पनि गरेका थिए । तर, वास्तबमा आतंकवादकै अन्त्यका लागि उनले लागू गर्न लागेको आप्रवासी उपर कडाइ, मेक्सिको सीमामा पर्खाल लगाउने र मुस्लिम बाहुल्यका देशका नागरिकलाई अमेरिका प्रवेश निषेधजस्ता प्राथमिक चरणका कार्यादेश सुरुमै तीव्र विवादित रहे ।
विश्वको एक शक्ति राष्ट्रको रूपमा रहेको अमेरिकाको हालसम्मको परिस्थितिलाई हेर्दा यो अमेरिकी मूलका रैथाने अमेरिकीको मात्र देश नभई यस देशलाई समग्र विश्वले एक सुरक्षित राजधानी र साझा भूमिका रूपमा प्रयोग गर्दै आएको पाइन्छ र यही भावनाअनुरूप अमेरिकी सरकारले विनासर्त विश्वभरीका नागरिकलाई संरक्षण दिँदै आएको पाइन्छ । यसबाट नै अमेरिका चलेको र अमेरिका बनेको विश्वास गरिन्छ । अमेरिका यस प्रकार प्रयोग भइरहँदा अमेरिकी मूलका रैथाने नागरिकलाई असहज परिस्थिति उत्पन्न हुनु नै ट्रम्पको विजयको मूल कारण बनेको थियो ।
यसरी ट्रम्प प्रशासनको सय दिनको मूल्यांकन विभिन्न कोणबाट गर्न थालिएको छ । कतिपयले उनको आप्रवासी नीतिका कारण अमेरिकामा आतंकवादको उन्मूलनमा सहयोगको विश्वास व्यक्त गरेका छन् भने कतिलाई यसले कुनै असर नपार्ने मानसिकता पनि छ । त्यसैगरी यस नीतिका कारण अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर पर्नेसक्ने चासो र चिन्ता भने धेरैमा देखिन्छ । यसका कारण नै यो कृषि क्षेत्रको चिन्ता पनि सुरु भएको हुनसक्छ । यसै कारणले गर्दा पनि अमेरिकाको नयाँ राष्ट्रपतीय कार्यकालको मूल्यांकन सुरु भएको हुनसक्छ । (एजेन्सीको सहयोगमा)
प्रतिक्रिया