लन्डन । बेलायतमा आगामी जुनमा हुने मध्यावधी निर्वाचनमा प्रधानमन्त्री थेरेसा मेको कन्जर्भेटिभ पार्टीको पक्षमा परिणाम आउने आइतबार सार्वजनिक गरिएको निर्वाचन सर्वेक्षण परिणामले देखाएको छ । कमरेस मत सर्वेक्षण कम्पनीले मिरर दैनिकको आइतबारको अंकका लागि गरेको सर्वेक्षणले सन् १९९१ को जनवरीपछि पहिलोपटक ५० प्रतिशतभन्दा बढी जनताको समर्थन कन्जर्भेटिभ पार्टीमा रहेको देखाएको छ । मत सर्वेक्षणले गत हप्ताको तुलनामा अनुदारवादी मेको दललाई चार नम्बरमाथि पु¥याउँदै ५० प्रतिशत समर्थन जम्मा भएको बताएको छ भने प्रतिपक्षी दल लेबर पार्टीको पक्षमा गत हप्ताकै नतिजा दोहोरिएको छ अर्थात् लेबरलाई यसहप्ता पनि २५ प्रतिशत समर्थन देखिएको सर्वेक्षणले देखाएको छ । त्यसैगरी यूरोप पक्षधर अभियानमा सरिक बेलायतको अर्को मध्यपन्थी प्रतिपक्षी दल लिबरल डेमोक्रेट्सको पनि यस पहिलेको परिणाममा कुनै परिवर्तन नदेखिएको अर्थात् ११ प्रतिशत मत पाउने देखाएको छ । यसहप्ता सार्वजनिक भएका अन्य सर्वेक्षणले सानो तर अर्थपूर्ण नेतृत्वमा कन्जर्भेटिभ पार्टी रहेको बताएको छ । विभिन्न अन्य सर्वेक्षणले अनुदारवादी मेको दललाई ४० देखि ४८ प्रतिशत समर्थन रहेको देखाएका छन् ।
त्यस्तै सर्वेक्षणले लेबर पार्टीलाई २५ देखि २९ प्रतिशतको बीचमा समर्थन रहेको देखाएका छन् । मध्यावधि निर्वाचनको मिति जुन ८ आउन झन्डै सात हप्ता रहेका बेला आएका परिणामले कन्जर्भेटिभ दलका समर्थकलाई आत्मसन्तुष्ट बनाउने र निर्वाचन तयारीमा यसको नकारात्मक प्रभाव पनि पर्नसक्ने चेतावनी कमरेसका कार्यकारी प्रमुख एन्ड्रु हकिन्सले दिएका छन् । त्यो दलका लागि सकारात्मक परिणाम भएको तर फेरि पनि मत परिणाम अकल्पनीय बन्ने र नतिजा सर्वेक्षणमा देखिएभन्दा उल्टिएर आउनसक्ने, उनले बताए ।
युरोपियन युनियन (इयू) बाट बेलायत बाहिरिने पक्षमा बेलायतका ५२ प्रतिशत जनताको समर्थन पाएपछि गरिमामय पद सम्हालेका प्रधानमन्त्री मेले गत मंगलबार मध्यावधि निर्वाचनको आह्वान गरी बेलायतीहरूलाई आश्चर्यचकित पारेका हुन् । उनले मध्यावधिमा जाँदा आफूलाई नयाँ जनादेश चाहिएको बताउँदै निर्वाचनको घोषणा गरेको जनाएका छन् ।
प्रतिक्रिया