कुशल व्यवस्थापनले लोडसेडिङ अन्त्य

मुलुकमा विद्युत्भार कसरी अन्त्य भयो, के छ यसमा जादु, लामो समयदेखि धेरैको मनका यही प्रश्न छ तर उत्तर सर्वसाधारणले सहज रूपमा पाएका छैनन् । एक कार्यक्रममा ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका उच्च अधिकारीले विद्युत्भार कटौतीको अन्त्यको कारण एउटा कला र व्यवस्थापन भएको बताए । लामो समयसम्म विद्युत्भार कटौतीको मारमा परेका उपभोक्तालाई सात महिनादेखि विद्युत् गएको अनुभव गर्न पाएका छैनन् । सामान्य प्राविधिक समस्या हुँदा मात्रै एकाध समय विद्युत् जानु सामान्य हो, तर मुलुकभर नै विद्युत्भार कटौतीको अन्त्य भएको छ ।
मन्त्रालयले आयोजना गरेको ‘नियमित विद्युत् आपूर्तिले अर्थतन्त्रमा पारेको प्रभाव’ विषयको अन्तक्र्रियामा ऊर्जामन्त्री जनार्दन शर्माले नियमित रूपमा जनतालाई विद्युत् सेवा दिने विषयमा सरकारले प्रस्ट योजनाका साथ काम अगाडि बढाएको तथा माग र आपूर्तिको सन्तुलन मिलाएकाले सफलता हासिल भएको बताए । उनले भने, ‘२५ वर्षपछि ६ दशमलव पाँच प्रतिशत आर्थिक वृद्धि हुनु सामान्य विषय होइन, हामीले चाह्यौँ भने धेरै गर्न सकिन्छ भन्ने आत्मविश्वास पैदा भएको छ ।’
ऊर्जामन्त्रीले आगामी पाँच वर्षभित्र हरेक नेपालीलाई एक लाख बराबरको सेयर प्रदान गर्ने गरी कार्ययोजना बनिरहेको बताए । उनले भने, ‘पैसा लगानी गर्न सक्नेलाई लगानीको आग्रह गर्ने, नसक्नेलाई श्रममार्फत सेयर दिने व्यवस्था गरिन्छ । त्यसको कार्ययोजना बनिरहेको छ । पहिलो चरणमा कर्णालीका जनतालाई एक लाखको सेयर प्रदान गरिनेछ र क्रमशः सबैलाई सेयर प्रदान गर्ने गरी कार्ययोजना बनिरहेको छ ।’ ‘नेपालको पानी जनताको लगानी’ योजनानुसार नै मुलुकभित्रैको साधन र स्रोत जुटाएर आगामी सात वर्षभित्र २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको बताउँदै मन्त्री शर्माले सरकारी तथा गैरसरकारी तहबाट भएका प्रयास र प्रयत्नले उक्त सफलता हासिल गरिने जानकारी दिए । पूर्वदेखि पश्चिमसम्म ६ सय ६५ केभीको प्रसारण लाइन र उत्तर दक्षिण तथा नदी कोरिडोर प्रसारण लाइनको कार्ययोजना अगाडि बढेको पनि उनले स्पष्ट पारे ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकभित्रका ठूला जलविद्युत् आयोजना साँझमा मात्रै चलाइएको तथा भारतबाट गतवर्षभन्दा ४५ मेगावाट मात्रै विद्युत् आयात गरेर आन्तरिक व्यवस्थापन गर्दा नै ठूलो उपलब्धि हासिल भएको बताए । प्राधिकरणले गत साउनदेखि हालसम्म चार प्रतिशत विद्युत् चुहावट घटाएको, पूर्ण क्षमतामा आयोजना सञ्चालनमा ल्याइएका कारण पनि काम गर्न सहज भएको उनले स्पष्ट पारे ।
कार्यक्रममा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले कार्यपत्र प्रस्तुत गरेका थिए । मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, डा.भोला रिजाल, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाइँलगायतले सरकारले विद्युत्भार कटौती अन्त्य गरेर मुलुकमा नयाँ आशाको सञ्चार गरेको बताए । कार्यक्रममा नियमित विद्युत् आपूर्तिपछि होटल व्यावसाय सञ्चालनमा सहजता भएको, उद्योगको उत्पादन क्षमता बढेको, रोजगारीको अवसर बढेकाले आर्थिक क्षेत्रमा नै सकारात्मक प्रभाव परेको जानकारी दिइएको थियो ।

प्रतिक्रिया