७४ जिल्लामा तोकियो मतदान केन्द्र

काठमाडौं । सप्तरी जिल्लाबाहेक सबै जिल्लाको मतदान केन्द्र टुंगो लगाइएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आफ्नै कार्यतालिकाअनुसार प्रदेश नम्बर २ का जिल्लाहरूका मतदान केन्द्र तोक्न सकेको थिएन । मधेसी मोर्चाले स्थानीय तह र जिल्ला निर्वाचन कार्यालयमा ताला लगाएर अवरोध गरेको थियो ।
अब केन्द्रबाट मतदान केन्द्र तोक्न थालिएको छ । मंगलबार महोत्तरीको मतदान केन्द्र तोकेको र अब सप्तरी जिल्लामा मात्र मतदान केन्द्र तोक्न बाँकी रहेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । सप्तरी जिल्ला भित्रको मतदान केन्द्र पनि चाँडै तोकिने उनले बताए । निर्वाचनका दिन मतदाताले मतदान गर्न तोकिएको स्थानलाई मतदान केन्द्र भनिन्छ ।
आयोगका प्रवक्ता शर्माले भने, ‘सप्तरीबाहेक सबै जिल्लाको मतदान केन्द्र तोक्ने काम सकियो, सप्तरी जिल्लाको पनि चाँडै तोक्छौँ । यससँगै निर्वाचनका लागि आयोगको मुख्य तयारीहरू सकिएको छ ।’ प्रवक्ता शर्माका अनुसार देशभरका ६२ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र छपाइ जनक शिक्षा सामग्री केन्द्रले गरिरहेको छ । बाँकी जिल्लाको मतपत्र छाप्ने काम केही दिनमै सकिने शर्माले बताएका हुन् । निर्वाचन आयोगले समयमा मतपत्र छापेर देशभरका मतदान केन्द्रमा समयमा मतपत्र पु¥याउनुलाई मुख्य चुनौती ठानेको थियो ।

प्रतिक्रिया