बाढीपहिरोले तीन सयको मृत्यु

कोलम्बिया । दक्षिणी कोलम्बियामा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या बुधबार सम्म दुई सय ९० पुगेको छ । खोजी तथा उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने अधिकारीले बताएका छन् । भीषण वर्षापछि मोकोआ क्षेत्रमा शुक्रबार आएको पहिरोमा परी अरू तीन सय ३२ जना घाइते भएका छन् ।
गत शुक्रबार मोकोआका तीन ओटा नदीमा ठूलो बाढी आएको थियो भने बाढीले ठूलो मात्रामा ढुंगा, माटो, रुख बगाउनुका साथै विशाल पहिरो गएको थियो ।
सरकारी तथ्यांकअनुसार मोकोआमा झन्डै ७० हजार जनसंख्या रहेको थियो । ती मध्ये झन्डै ४५ हजार जना अहिलेको बाढी पहिरोबाट पीडित भएको रेडक्रसले जनाएको छ । चोरी तथा लुटपाटका घटना बढ्न सक्ने भएकाले त्यसका लागि पनि सुरक्षाकर्मी परिचालन गरिएको कोलम्बिया सरकारले जनाएको छ ।
बाढीग्रस्त क्षेत्रमा विद्युत वितरणका संरचना फेरी बनाएर विद्युत् सुचारु गर्न अझै केही दिन लाग्ने स्थानीय अधिकारीहरूले बताएका छन् । स्वास्थ्यकर्मीहरूले बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगहरूको प्रकोप फैलिन सक्ने भएकाले पूर्व सतर्कता अपनाउन आह्वान गरेका छन् ।
प्रकोपग्रस्त मोकोआलाई कोलम्बिया सरकारले स्वास्थ्य, खानेपानी तथा सरसफाइ र आर्थिक संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बाढीपीडितका लागि पुनर्निर्माणको काम तत्काल सुरु हुने राष्ट्रपति जोन म्यानुअल सान्तोषले बताएका छन् । आगामी जुन महिनासम्म वर्षा भइरहन सक्ने मौसम भएकाले फेरी यस्तै क्षति हुन सक्नेतर्फ उनले सचेत रहन आह्वान गरेका छन् । संकटग्रस्त क्षेत्रमा राष्ट्रपति सान्तोषले उद्धार तथा राहतका लागि निरन्तर चासो दिइरहेका छन् । अहिले बाढीपहिरोबाट पीडित व्यक्तिहरू झन्डै पाँच दशक लामो गृहयुद्ध र गरिबीबाट पनि पीडित थिए ।

प्रतिक्रिया