उत्तर कोरियाले क्षेप्यास्त्र हान्यो

सोल । अमेरिका र चीनका राष्ट्रपतिहरूको औपचारिक भेटवार्ता हुन लागेका बेला बुधबार उत्तर कोरियाले जापानको समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको छ ।
उत्तर कोरियाको पूर्वी बन्दरगाहा सिन्पोबाट क्षेप्यास्त्र प्रहार गरेको अमेरिका र दक्षिण कोरियाका अधिकारीहरुले दावी गरेका छन् । दक्षिण कोरियाको रक्षा मन्त्रालयले क्षेप्यास्त्रले ६० किलोमिटर अर्थात् झन्डै ४० माइलको दुरी पार गरेको जनाएको छ । दक्षिण कोरियाको विदेश मन्त्रालयले उत्तर कोरियाको यो कदमले विश्वको शान्ति र स्थिरतालाई ठूलो चुनौती दिइरहेको बताएको छ ।
अमेरिकी सेनाले अहिले प्रहार गरिएको क्षेप्यास्त्र मध्यम दुरीमा प्रहार गर्न सकिने क्षमताको भएकाले अमेरिकालाई कुनै चुनौती नभएको जनाएको छ । आतंकवादी सुरक्षा चुनौतीलाई सामना गर्न दक्षिण कोरिया र जापानसँग नजिकबाट सहकार्य गर्न प्रतिवद्ध रहेको पनि अमेरिकी सेनाका एक जना कमान्डरले बताएका छन् ।
अमेरिकाकै विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियाको बारेमा अमेरिकाले यसअघि पनि पटकपटक पर्याप्त बोलिसकेकाले थप बोलिरहनु नपर्ने बताए । जापानका प्रधानमन्त्री सिन्जे आवेले पछिल्लो प्रहार उत्तेजना फैलाउने खालको भएको टिप्पणी गरेका छन् । यसले संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय मूल्य मान्यता र सन्धी सम्झौतालाई पनि उल्लंघन गरेको आवेको दावी छ ।
उत्तर कोरियाले शृखंलावद्धरूपमा यस्ता क्षेप्यास्त्र प्रहार गर्दै आइरहेको छ । यो अहिलेसम्मको सबैभन्दा पछिल्लो प्रहार हो । उत्तर कोरियाले यस्ता प्रहारहरू शान्तिपूर्ण प्रयोजनका लागि गरेको दावी गर्दै आएको छ । पश्चिमा जगतका देशहरूले भने यस्ता प्रहारलाई आणविक हतियार विकास गर्ने सिलसिलाका रूपमा लिने गर्दछन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट्न चिनियाँ राष्ट्रपति सी जिनपिङ् अमेरिका जाँदै गरेको बेला भएकाले यस घटनालाई थप अर्थपूर्णरूपमा हेरिएको छ । अमेरिकाको फ्लोरिडामा शुक्रबार हुने तय भएको दुई विश्व नेताहरूको भेटवार्तामा उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र योजनालाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषय मुख्यरूपमा छलफल गर्ने तयारी भएको छ ।

प्रतिक्रिया