माटेको ढुंगाखानी सञ्चालन गर्न स्थानीयवासीको माग

 

लामो समयदेखि बन्द अवस्थामा रहेको प्रदेश नं ४ कै सबैभन्दा ठूलो माटेको ढुंगाखानी सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । पर्वत जिल्लाको मोदी गाउँपालिका–४ स्थित माटेको लेकमा रहेको ढुंगाखानी उत्खनन गर्न आसपासका बासिन्दाले माग गरेका हुन् । तत्कालीन चार गाविसको विवादका कारण करिब दुई दशक अघिदेखि बन्द भएको ढुंगाखानी अझै पनि सञ्चालनमा आउन सकेको छैन । अहिलेको मोदी गाउँपालिकामा पर्ने क्याङ, देउपुर, देउराली र भुकताङ्ले गाविसका बासिन्दाबीच खानी सञ्चालनमा विवाद बढ्दै गएपछि जिल्ला वन कार्यालयले ढुंगा निकाल्नका लागि प्रतिबन्ध लगाएको छ । चारवटै गाविसले उक्त ढुंगाखानीआ–आफ्नो गाविसभित्र पर्ने भन्दै दाबी गरेकाले विवादमा परेको हो । सम्बन्धित गाविसले आ–आफ्नो गाविसको भन्दै दाबी गर्न थालेपछि कुन गाविसभित्र पर्छ भन्ने पुष्टि भइनसकेकाले सञ्चालनमा नआए पनि अहिले चारवटै गाविसका बासिन्दाले सहमति गरेर सञ्चालनमा ल्याउन माग गरे पनि सञ्चालन हुन नसकेको स्थानीयवासी दाताराम चापागार्इंले जानकारी दिए ।
चार गाविसमा बढी चिसो हुने र जस्ता पाताभन्दा ढुंगाले घरगोठका छाना छाउँदा उपयुक्त हुने भएकाले सहमति गरेर खानी सञ्चालनमा ल्याउन चार वर्षदेखि नै माग हुँदै आएको थियो । उनीहरूले समिति नै बनाएर खानी सञ्चालनको प्रयास गरी ढुंगाको आकार र साइजअनुसार साइली ढुंगालाई एक सय १०, माइलीलाई एक सय २०, डबल धोतीलाई ६० र अन्य ढुंगालाई एक सय र ९० प्रति वर्गमिटरका दरले बिक्री गर्नेगरी दर कायम गरेका थिए ।
उक्त खानीबाट निकालिएका ढुंगा क्याङ, शालिजा, देउपुर, देउराली, भुकताङ्लेलगायत गाविसमा छाना छाउने मात्र नभई धौलागिरि अञ्चलका पर्वत, बाग्लुङ, म्याग्दीका विभिन्न गाविसमा जाने गर्दथे । जस्तापाताभन्दा ढुंगा नै प्रयोग गर्नु राम्रो भएकाले सबै गाविसवासीको भेलाले सहमति गरेर खानी सञ्चालन गर्न माग गरेपनि विभिन्न कारणले सञ्चालनमा ल्याउन नसकेको तत्कालीन क्याङ गाविसका पूर्वगाविस अध्यक्ष नरसिंह पुनले बताए ।
खानी बन्द हुने बेलामा सामुदायिक वनमा पनि विवाद थियो । अहिले वनको विवादसमेत टुंगिएको छ । खानीमा प्रशस्त ढुंगा छन् । खानी सञ्चालनमा आएपछि दैनिक एक सय जनाले प्रत्यक्ष रोजगारी पाउने पुनको भनाइ रहेको छ ।
यहाँका ढुंगा घर, गोठ, मतान छाउन प्रयोग हँुंदै आएका थिए । जस्तापाताभन्दा ठूलो आकारमा आउने, बलियो र टिकाउ भएकाले मानिस अहिले पनि ढुंगाले छाउन मन पराउने गर्दछन् । एक पटक छाएको घर दुई÷तीन पुस्तासम्म पुग्ने गाउँलेको भनाइ छ । सार्वजनिक जग्गाभित्र एक किलोमिटर क्षेत्रफलमा ढुंगाका पाँच वटा खानी छन् । दुई दशकअघि उक्त खानीबाट निकालिएका ढुंगा छिमेकी जिल्ला बागलुङ, पोखरा, काठमाडौं हुँंदै जापान, अमेरिकासमेत लगेको स्थानीय एक वृद्धको भनाइ छ । उत्तरी पर्वतका अधिकांश गाविसका अधिकांश घर ढुंगाले छाइएका छन् । ‘पहिला खानी सञ्चालन हुंँदा गाउँलेले राम्रै रोजगारी पाएका थिए’, स्थानीय हर्कबहादुर पुनले भने, ‘रोजगारी गुमेपछि कोही विदेशतिर गए त कोही गाउँमै मजदुरी गर्दै आएका छन् ।’ खानी तीन हजार एक सय मिटरको उचाइमा रहे पनि आसपासमा बस्ती नभएकाले ढुंगा निकाल्दा कुनै असर पर्दैन ।
असिना पर्दा र अरू कारणले मात्रै ढुंगा फुट्ने र एक पटक लगानी गरेपछि वर्षौंसम्म कुनै झन्झट नहुने भएकाले यो लोकप्रिय बनेको छ । ‘माटेको ढुंगा पाइएमा मानिसले महँगो शुल्क तिरेरै भए पनि छाउने गरेका थिए’, स्थानीयवासी नरबहादुर पुनले भने, ‘ढुंगाखानीबन्द हुँदा बजारबाट जस्तापाता ल्याएर घर छाउनुपर्ने बाध्यतामा रहेको छ ।’ जिल्लाबाहिर समेत मार्बलका रूपमा निकासी गर्न सकिने सम्भावना भएकाले र स्थानीयवासीको रोजगारीको सुनिश्चिताका लागि समेत खानीलाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याउनुपर्ने माग छ ।

प्रतिक्रिया