मतदाता शिक्षा कार्यक्रममा ढिलाइ

काठमाडौं । निर्वाचन हुन अब ४१ दिन मात्र बाँकी छ तर निर्वाचन आयोगले अहिलेसम्म मतदाता शिक्षा अभियान चलाएको छैन । स्थानीय तहको विकासका लागि आफैंले आफ्नो प्रतिनिधि छान्ने निर्वाचनमा कसरी मतदान गर्ने भन्ने विषयमा व्यापक प्रचार र शिक्षा आवश्यक भएको भए पनि आयोगले यतातर्फ ध्यान दिन नसकेको हो ।विगतको निर्वाचनभन्दा पृथक तरिकाले मतदान गर्नुपर्ने यो निर्वाचनमा हालसम्म निर्वाचनसम्बन्धी शिक्षाको कार्यक्रम सञ्चालन नहुँदा धेरैको मत रद्द हुने सम्भावना रहन्छ । यो सम्भावनालाई कम गर्न आयोगले मतदातासम्बन्धी शिक्षा नमुना मतपत्रको वितरण तथा आफूले रुचाएको प्रतिनिधिलाई भोट दिने तरिकाबारेमा जानकारी दिने गर्नुपर्दछ ।
कतिपय गाउँवस्तीका सर्वसाधारण मतदाताको प्रशिक्षणविना मत रद्द हुने गरेको छ । विगतको निर्वाचनमा दुईटा मतपत्रको प्रयोग गरिएको थियो । मतदाताले दुईपटक मत हालेका थिए । तर, यसपटक भने एउटै मतपत्रमा सात जनालाई मत हाल्नुपर्नेछ । सात वटा कोठामा सातपटक स्वस्तिक छाप लगाएर दिइने मतलाई धेरैले बिगार्ने सम्भावना रहन्छ । यसका लागि आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ ।
यसपटक हुन लागेका निर्वाचन यसअघिको भन्दा फरक र फरक उद्देश्यले हुन लागेकाले मतदाता शिक्षा आवश्यक हुन्छ । आयोगले चैत अन्तिम साताबाट मात्र मतदाता शिक्षा अभियान सुरु गर्ने बताएको छ । दलहरूबीच राजनीतिक असमझदारी बढेको र निर्वाचन तालिकासमेत प्रभावित भएको छ । यसको असर मतदाता शिक्षामा पर्न सक्छ । यदि मतदाता शिक्षा अभियान प्रभावकारी नहुँदा मतदान गर्ने स्थिति आयो भने कसरी मतदान गर्ने ? कस्तो अवस्थामा तपाईंले गरेको मतदान बदर हुन्छ वा गणना हुँदैन भनेर आयोगले मतदानको क्रममा ५ प्रकारको गल्ती नगर्न आग्रह गर्दै सूचनामूलक तस्बिर सार्वजनिक गरेको छ । मतदान केन्द्र पुगेपछि तपार्इंको हातमा सेतो कागजमा नीलो मसीले प्रिन्ट भएको मतपत्र प्राप्त हुन्छ । त्यसअघि तपार्इंले तपार्इंको मतदाता नामावलीको क्रम संख्या पत्ता लगाएर जानुपर्छ । त्यही क्रम संख्याका आधारमा तपाईंको नामावली पत्ता लाग्छ र तपाईंलाई मत हाल्ने अनुमति हुन्छ ।
तपाईंले प्राप्त मतपत्रमा मतदान अधिकृत कै अगाडि हस्ताक्षर गर्नुपर्छ । त्यसपश्चात् मतदान अधिकृतले हस्ताक्षर गरेपछि तपार्इंको हातमा रहेको मतपत्र मतदान गर्न योग्य हुनेछ । अब तपाईंले मतदान गर्दा ध्यान दिनुपर्छ । तपाईंले मत चिह्नभन्दा बाहिरको घेरा छुने गरी मत संकेत गर्न पाउनु हुन्न । तपार्इंले जुन निर्वाचन चिह्नमा मतदान गर्न चाहनुभएको हो, त्यही चिह्नभित्र स्वस्तिक छाप लगाउनुपर्छ । त्यहाँभन्दा बाहिर मत संकेत भयो वा घेरा छोइयो भने तपाईंको मत बदर हुने नियमावलीमा उल्लेख छ । यसैगरी तपार्इंले मतदानका क्रममा गर्न सक्ने दोस्रो गल्ती हो, दुई मतचिह्नको बीचमा मत संकेत गर्नु । यदि त्यसरी मतसंकेत गरेमा पनि तपार्इंको मत बदर हुनेछ । आयोगले त्यस्तो मतलाई मान्यता दिँदैन ।

प्रतिक्रिया