तीर्थस्थलमा २० जनाको हत्या

इस्लामाबाद। पाकिस्तानको एक धार्मिकस्थलमा आइतबार बिहान २० जनाको हत्या भएको छ भने अरू चार जना घाइते भएका छन् । पञ्जाब प्रदेशमा पर्ने मोहम्मद अलीको स्मृतिस्थलमा भएको घटनामा परी मृत्यु हुने २० जनामध्ये चार जना महिला रहेका छन् । स्मृतिस्थलका रक्षकसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ । ‘स्मृतिस्थलका रक्षक ५० वर्षीय अब्दुल वाहीदले आपूmलाई मार्न आएको ठानेर उनीहरूलाई नै मारिदिएको हुनसक्छ,’ क्षेत्रीय प्रहरी प्रमुख जुल्फीकर हमिदले एएफपीलाई भने । उनले नियन्त्रणमा लिइएका व्यक्तीहरूमा मानसिक समस्या भएको पनि हुनसक्ने बताउँदै घटनाको बारेमा विस्तृत अनुसन्धान सुरु भइसकेको जानकारी दिए ।
पञ्जाबका मुख्यमन्त्री शाहबाज सरिफले २४ घन्टाभित्रमा अनुसन्धान प्रतिवेदन पेस गर्न प्रहरीलाई निर्देशन दिएको एक उच्च सरकारी अधिकारीले बताए । घटना भएको ठाउँ पाकिस्तानमा निकै प्रसिद्ध र धेरै मान्छे जाने ठाउँका रूपमा चिनिन्छ ।
झारफुक गर्ने ठाउँहरूमा कहिलेकाहीँ केही व्यक्तिहरूको हत्या पाकिस्तानमा बेलाबेलामा हुने गर्दछ । तर, यस्तो धेरै जनाको एकैचोटी हत्या भने निकै कम मात्रै हुने गरेको थियो । पाकिस्तानका लाखौँ जनताले अहिले पनि झारफुकजस्ता रूढीवादी परम्परामा विश्वास राख्दछन् ।

प्रतिक्रिया