पाराग्वे । दोस्रो कार्यकालका लागि राष्ट्रपतीय निर्वाचनमा उठ्न पाउने व्यवस्थासहितको विधेयकको विरोधमा जारी हिंसात्मक प्रदर्शनमाझ पाराग्वेको संसद् भवनमा आगजनी भएको छ । प्रमुख प्रतिपक्षी दलका नेताले प्रदर्शनका क्रममा एकजना युवकको गोली हानी हत्या भएको बताएका छन् । ३५ वर्ष लामो तानाशाही व्यवस्थापछि सन् १९९२ मा जारी पाराग्वेको संविधानले पाँचवर्षे कार्यकाल भएको राष्ट्रपति पदमा एकपटक मात्र उठ्न पाउने व्यवस्था गरेको छ ।
तर, वर्तमान राष्ट्रपति ओरासियो कार्टेसले उक्त प्रतिबन्ध हटाएर दोस्रो कार्यकालका लागि पनि उठ्ने प्रयास गरिरहेका छन् । प्रदर्शनकारीले शुक्रबार राति राजधानी आसूनसियोनस्थित संसद् भवनका झ्यालहरू तोडफोड र भित्रका सामानहरूमा आगजनी गर्दै गरेको तस्बिरहरूमा देखिन्छ ।
एएफपीका अनुसार प्रदर्शनकारीले प्रस्तावित विधेयकलाई समर्थन गरेकाहरूको कार्यालयका सामानहरू ‘लुटपाट’ गरेका छन् । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले घोडचढी एकाइ, रबरका गोली र पानीका फोहोरा प्रयोग गरेको थियो । पाराग्वेको विपक्षी दलका प्रमुख इफ्राइन एलेग्रीले प्रदर्शनका क्रममा एकजना युवा मारिएको बताए । प्रहरीले त्यसको पुष्टि गरिसकेको छैन ।
आसूनसियोनस्थित एकजना पत्रकारले संसद् भवनमा ‘एकदेखि दुई घन्टाभन्दा बढी समयसम्म’ आगो लागेको बीबीसीलाई बताए । सडकमा प्रहरी र प्रदर्शनकारीबीच थुप्रै झडपहरू भएको भन्दै उनले सन् १९९२ मा पाराग्वेमा प्रजातन्त्र आएयता कै सबैभन्दा नराम्रो हिंसा भएको बताए । सामाजिक सञ्जाल ट्विटरमा एउटा वक्तव्यमार्फत राष्ट्रपति कर्टेसले संयम अपनाउन अपिल गरेका छन् । उनले भनेका छन्, ‘प्रजातन्त्रलाई हिंसाको बलले हासिल वा रक्षा गर्न सकिँदैन र तपाईंहरू ढुक्क हुनस् यो सरकारले शान्ति सुव्यवस्था कायम राख्न हरसम्भव प्रयास गर्नेछ ।’ महान्यायाधिवक्ताको कार्यालयले घटनाहरूलाई नजिकबाट नियालेको र हिंसाबारे छानबिन गरिरहेको जनाएको छ ।
यसअघि २५ जना सिनेटरहरूको एउटा बैठकले संविधान संशोधन गर्ने विधेयक पारित गरेपछि एउटा भीड सडकमा उत्रिएको थियो । सो विधेयकलाई अर्को सदनले पारित गर्नुपर्नेहुन्छ जहाँ राष्ट्रपति पार्टीको बहुमत छ । विपक्षीहरूले पछिल्लो कदमले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर तुल्याउने बताएका छन् ।
विपक्षी सिनेटर डेसिरे मासीले भने, ‘सत्तापलट गर्ने प्रयास गरिएको छ । हामीले प्रतिरोध गर्ने छौं र हामीसँगै प्रतिरोध गर्न मानिसहरूलाई आग्रह गर्दछौँ ।’
प्रतिक्रिया