कैलालीको गाउँगाउँमा छाउपडी

 

जनचेतनाको कमीका कारण पहाडी क्षेत्रमा छाउपडी प्रथा रहेको समाचार सार्वजनिक हुने गरे पनि आफूलाई शिक्षित ठान्नेहरूको बसोवास रहेको कैलाली जिल्लामा छाउपडी प्रथा कायम रहेको छ । विकट क्षेत्रका बासिन्दाहरूलाई मात्र कुप्रथा कायम राखेको आरोप लगाएर आफू बच्न खोज्नेहरूको बस्तीमा नै छाउपडी प्रथा कायम रहनु दुःखद भएको स्थानीय बासिन्दाहरू बताउँछन् ।
रुढीवादी चिन्तन र परम्परागत कुसंस्कारको कारण समाजमा व्याप्त रहेको छाउपडी प्रथा अन्य जिल्लाको तुलनामा विकसित भनिने कैलाली जिल्लामा समेत निक्कै रहेको पाइएको हो । धनगढी उपमहानगरपालिकालगायत जिल्लाका विभिन्न स्थानमा छाउपडी प्रथा रहेको छ । महिनाबारी भएको समयमा महिलाहरू अहिले पनि छाउगोठमा बस्ने गरेका छन् । सुदूरपश्चिमका अछाम, डोटी, बाजुरा, बझाङलगायत पहाडी जिल्लामा मात्रै नभई कैलालीका विभिन्न स्थानमा यो प्रथाले जरो नै गाडेको छ ।
जिल्लाको मध्यवर्ती क्षेत्र भजनीत्रिशक्ति नगरपालिका–१० झलझलिया गाउँमा एक सय ५० भन्दा बढी छाउपडी गोठ रहेका छन् । रजस्वला भएका महिलालाई राख्न झलझलियामा छुट्टाछुट्टै तथा सामूहिक छाउपडी गोठ बनाइएका छन् । सो गाउँमा तीन सयभन्दा बढी घरधुरी छन् । भजनीत्रिशक्ति नगरपालिका १० खैलाड टोलकी गोमा भण्डारी रजस्वला भएका बेला घरभन्दा दुई सय मिटर टाढा बनाएको छाउगोठमा बस्ने गरेको बताउँछिन् । रजस्वला भएको बेला घरभित्र बसे राम्रो नुहने भएकाले आफूहरू छाउगोठमा सुत्ने गरेको भण्डारीको भनाइ छ । गाउँ घरमा बनाइएका छाउगोठमा न त भित्ता छन्, न बत्ती । उनी भन्छिन्, ‘हिउँदमा जाडोले सताउँछ ।’ सो टोलकी पुष्पा भण्डारी पनि रजस्वला हँुदा घरमै बस्दा देवता रिसाउने र बाबुआमालाई सञ्चो नहुने डरले घरपरिवारले छाउगोठमा बस्न पठाउने गरेको बताए । ‘चिसो दिनमा त झन् गाह्रो हुन्छ’, उनी भन्छिन्, ‘कतिपय परिवारले त रजस्वला हुँदा बाक्लो र न्यानो ओढ्नेओच्छ्याउने कपडासमेत दिँदैनन् । पाँच दिन त हो भन्छन् ।’ पगियापसारको पिपरकोटी टोलकी निर्मला रेग्मीले र हिमानी जैशीका अनुसार भजनीत्रिशक्ति नगरपालिकामाको हरेक गाउँमा छाउगोठ छन् । त्रिशक्तिभजनी नगरपालिकामा मात्रै होइन, धनगढी उपमहानगरपालिकाका कतिपय बस्तीमा छाउगोठ छन् । मुख्य बजारसँगै रहेको शान्तिटोलमा समेत छाउगोठ छन् । शान्तिटोलमा रहेका अधिकांश छाउगोठका ढोकामा खापासमेत छैनन् । यी छाउगोठ घरभन्दा केही टाढा गाईभैँसी बाँध्ने गोठसँगै छन् ।
‘कसैले महिनाबारी भएको बेला छोरीबुहारीलाई यस्तो असुरक्षित ठाउँमा नराख्न र घरमै राख्न सल्लाह दिँदा उल्टै टोलका अभिभावक बढी जान्ने नबन भन्दै हप्काउने गर्छन्’, स्थानीय सुशीला विकले भने । ‘पढेलेखेका परिवारमा समेत परम्पराका नाममा यो प्रथा कायमै छ ।’ शान्तिटोलमा करिब एक सय ५० घरधुरी छन् । सुशीलाका अनुसार केही छाउपडी गोठ हाल भत्काइएका छन्, केही बाँकी छन् । जिल्लाको दुर्गम गाविस सुगरखालमा महिनाबारी भएका बेला महिलाले निकै कठिनाइ बेहोर्नु परिरहेको तथ्यांकहरूले देखाएको छ । सुगरखाल स्वास्थ्य चौकीमा रहेको समुदाय स्वास्थ्य प्राप्तांक बोर्डले त्यहाँ छाउपडीको अवस्था निकै दयनीय रहेको देखाएको छ । चेतनामा कमी, अन्धविश्वास, रुढीवादी परम्पराका कारण छाउपडी प्रथामा सुधारका लागि गरिएका प्रयास सफल हुन नसकेको बताइएको छ । कैलालीकै अर्को पहाडी गाविस निगालीमा पनि छाउपडीको अवस्था खराब रहेको पाइएको छ । समाजमा रुढीवादी सोचका कारण छाउपडी प्रथा उन्मूलनमा अवरोध आइरहेको बताइन्छ ।
धनगढी उपमहानगरपालिकाका सामुदायिक विकास शाखा अधिकृत टंकबहादुर विष्टले छाउपडी प्रथा उन्मूलनका लागि हालसम्म उपमहानगरपालिका कार्यालयले कुनै ठोस कार्यक्रम सञ्चालन नगरेको बताए । जिल्ला विकास समिति, कैलालीका सामाजिक विकास अधिकृत एकम कलेले कैलालीलाई छाउपडीमुक्त जिल्ला बनाउन आवधिक जिल्ला विकास योजनामा प्राथमिकतामा राखिएको बताए । अधिकृत कलेले छाउपडीमुक्त घोषणा गर्ने गाविसलाई सम्मान र आर्थिक सहयोग दिने नीति बनाइएको र कैलालीको कोटातुल्सीपुरलाई छाउपडीमुक्त गाविसको रूपमा घोषणा गरिएको जानकारी दिए । धनगढी उपमहानगरपालिका, नगरपालिका र अन्य गाविस छाउपडीमुक्त घोषणा गरिएका छैनन् ।
सुदूरपश्चिममा सामाजिक, सांस्कृतिक कुरीतिका रूपमा निरन्तरता पाइरहेको छाउपडी प्रथा सहरबजार मै कायम रहनु उदेकलाग्दो भएको अधिकारकर्मीहरू बताउँछन् । सर्वोच्च अदालतबाट ०६२ साल वैशाख १९ गते छाउपडी प्रथा उन्मूलन गर्न आदेश दिएपछि जारी भएको छाउपडी प्रथा उन्मूलन निर्देशिका, ०६४ ले कैलालीका महिलाहरूलाई छुन सकेको छैन ।

प्रतिक्रिया