पाल्पा। पाल्पामा एचआइभी सक्रमितको संख्या दुई सय ९५ छन् । तीमध्ये एक सय ५७ पुरुष र एक सय ३८ महिला रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार, संक्रमित मध्ये १८ वर्ष मुनिका ३८ जना छन् । संक्रमितमध्ये ९१ पुरुष र ८० महिला गरी कुल एक सय ७१ जनाले निःशुल्क औषधि सेवन गरिरहेको जनाइएको छ । औषधि सेवन गर्नेमा १८ वर्षमुनिका २७ बालबालिका छन् ।उनीहरूले जिल्लाको एक मात्र मिसन अस्पताल पाल्पाबाट निःशुल्क रूपमा औषधि सेवन गरिरहेको सूचना अधिकारी ज्ञवालीले बताए ।
गत आर्थिक वर्षमा जिल्लामा दुई सय ६५ जना एचआइभी संक्रमित थिए । गतवर्षको तुलनामा चालु आर्थिक वर्षमा २७ जना संक्रमित बढेका छन् ।
संक्रमितमध्ये ४१ जनाले समाजमा खुलेर बसिरहेका छन् भने धेरै बिरामी घरपरिवार, आफन्त र समाजका डरले रोग लुकाएर बस्न बाध्य भएको सूचना अधिकारी ज्ञवालीले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले एचआइभी न्यूनीकरण र उनीहरूलाई समाजमा आत्मसम्मानपूर्वक बाँच्नका लागि विभिन्न तालिम, गोष्ठी, जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।
प्रतिक्रिया