बर्दिया, १३ फागुन । विषादी प्रयोग गरेको तरकारी तथा फलफूल सेवनले सबैभन्दा बढी असर गर्भवती महिलालाई हुने गरेको अध्ययनले देखाएको छ । नेपालमा पछिल्लो समयमा बढ्दै गएको विषादीको प्रयोगले गर्भवती महिला र नवजात शिशुमा क्यान्सर देखिएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले जानकारी गराए । महिलालाई क्यान्सर हुने, गर्भपतन हुनसक्ने, बच्चा अपाङ्ग हुने, सुस्तः मनस्थिति बन्ने लगायतका खतरा विषादीको प्रयोगका कारण हुने गरेको विषादी बिक्रेता तथा सरोकारवालासँग विषादीको प्रयोग अवस्था र सोको नकारात्मक असरबाट बच्ने उपाय विषयक अन्तरक्रिया कार्यक्रममा उले बताए । ८० प्रतिशत किसान तकारीमा समान्य रोग लाग्ने बित्तिकै एग्रोभेटमा जाने गरेकाले एग्रोभेट सञ्चालक दक्ष हुनुपर्ने वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले बताए ।
किसानले तरकारी तथा फलफूलमा विषादी प्रयोग गर्दा मास्क, पन्जा लगाउने, विषादी राखेको बारीनजिक चुरोट नखाने, हात राम्रोसँग साबुनपानीले धुने गर्दा विषादीको असर कम हुने विज्ञको सुझाव छ । यसबाट किसान महिलालाई क्यान्सर भएको छ भने पुरुष प्यारालाइसिस जस्ता रोगको सिकार बनेका छन् । विषादीबाट मुख्य असर किसानलाई नै पर्ने गरेको छ । तरकारी र फलफूलमा विषादी आवश्यक भएपनि सहीरूपमा प्रयोग नगर्दा खतरा बढेको हो । विश्वका अन्य देशको तुलनामा विषादी प्रयोगको मात्रा नेपालमा कम भए पनि व्यवस्थित नहँुदा किसान तथा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको हो ।
नेपालमा प्रतिहेक्टर एकसय ४२ ग्राम रासायनिक विषादी प्रयोग हुने गरेको छ । जुन परिमाणको हिसाबले अन्य देशमा भन्दा निकै कम हो ।भारतमा प्रतिहेक्टर तीनसय ८१ ग्राम, चीनमा दुई किलो २५ ग्राम, अमेरिकामा एक किलो नौ ग्राम, जापानमा १० किलो आठ ग्राम र सबैभन्दा धेरै दक्षिण कोरियामा १६ किलो पाँच सय ५५ ग्राम विषादी प्रयोग हुने गरेको तथ्याङक छ । ती मुलुकमा विषादीलाई व्यवस्थित रूपमा प्रयोग गर्दा किसानको उत्पादन राम्रो ुने गरेको र उपभोक्ताले पनि स्वस्थकर तरकारी तथा फलफूल सेवन गर्न पाएको उनले बताए ।रावतले भने, ‘हाम्रो देशमा विषलाई औषधिका रूपमा बुझ्दा किसानमा गम्भीर प्रकारका रोग लागेका हो, उपभोक्ताहरूमा पनि दीर्घकालीन असर देखिएको छ ।’ नेपालमा अहिले ९५ प्रतिशत किसानले विषादी तरकारीमा प्रयोग गर्ने गरेका छन् । नेपालमा २००५ सालतिरदेखि मलेरिया नियन्त्रण गर्ने उद्देश्यले विषादी भित्रिएको भएपनि विषादीको सदुपयोग गर्न नसक्दा मानव स्वास्थ्यमा गम्भीर असर पारेको उनले बताए ।
यस्तै, विषादीका कारण कतिपय पन्छी पनि लोप हुने अवस्थामा पुगेको छ । पछिल्लो समयमा अस्पतालमा क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको चिकित्सक बताउँछन् । बालबालिकामा रगतको क्यान्सर, छालाको क्यान्सर हुने गरेको भेटिएको छ । तत्काल उत्पादन बढाउनका लागि अत्यधिक विषादी प्रयोग गर्दा नेपालमा थप समस्या देखिएको छ । रावतले भने, ‘किसानलाई छिटो नाफा कमाउनका लागि पनि अत्यधिक मात्रामा विषादी प्रयोग गरेका छन् त्यो असर उपभोक्ताको स्वास्थ्यमा परेको छ ।’विषादी प्रयोग गर्दा प्रत्यक्ष असर किसानलाई पर्ने भए पनि अधिकांश किसान अनभिज्ञ रहेको कारण स्वास्थ्यमा समस्या परेको हो । नेपालमा विषादीको प्रयोगका लागि जनचेतनामा कमी रहँदा समस्या आएको हो । धेरै किसानलाई बिषदी प्रयोग गर्दा हुने नोक्सान बारे ज्ञान नहुँदा क्यान्सरजस्ता खतरनाक रोगको सिकार बन्न पुगेको वरिष्ठ कृषि विकास अधिकृत रावतले बताए ।
प्रतिक्रिया