लघुकथा: फूलको हत्या

goma-sitoula gomaझुपडीमा गुजारा चलाउने निःसन्तान दम्पत्तीले सन्तान प्राप्तिको लागि अनेकौँ झाक्री र डाक्टरकोमा धाए । भगवान्को कृपाले बुढेसकालमा पुत्रीलाभ भयो, नाम राखे ‘कृपा’ ।

संसारलाई जितेको, स्वर्ग महसुस गर्दै, कृपालाई आँ…आँ…उँ…उँ…सिकाए । तर, कृपाको जीवन पूmल्न सकेन । उनको बोली आएन । पैसाको अभावले उपचार पनि गर्न सकेनन् उनका बुबाआमाले । खुसी सधँै कहाँ टिक्छ र ! दैव लाग्यो ! कृपा दश वर्षकी हुँदा उनका बुबा–आमा पनि पहिरोमा पुरिएर मरे । शब्दविना रचिएकी ती बालिकाको निस्सासिएको एक्लो जीवनमा बिहानबेलुका उसलाई काममा लगाएर खान दिई, रातमा त्यही कटेरोमा निदाउन पठाउने निर्दयी समाजले आफूलाई ‘धन्य’ र ‘संरक्षक’ ठान्यो ।

गाउँलेको सेवा गर्दै उनले जसोतसो आफूलाई घिसार्दै जिन्दगी गुजारिन् । समयले कोल्टे फेर्दै गएसँगै उनको शरीर पनि राम्रै आकारप्रकारमा फक्रिँदै गयो । झुम्राझाम्रा लुगामा पनि मानौँ, हिलोमा फुलेको कमलको फूलजस्तै देखिन थालिन् ।

फूलमा भँवरा लाग्नु कुन ठूलो कुरा भयो र ? दिनमा छिःछि भन्दै घिनाउनेहरू नै रातमा अत्तर छर्केर रात्रीचर भँवराहरू रसपानमा मस्त हुन थाले ।

एकदिन एक हुल निर्दयीहरूको करणीको असह्य पीडाले उनको मृत्यु भयो । कृपाको जवानीको फाइदा लिनेहरूको, ‘सुनपानी छर्केर’ मरेपछि सहानुभूति देखाउनेको ताँती नै लाग्यो । कोही आफ्ना छोराहरूको ‘फोहोरी खेल’ छताछुल्ल होला भन्ने डरले लाशको छेउ पर्न पनि डराए । समाजका कोही पाका भद्रभलाद्मीहरू भने उसलाई गतिलो संरक्षण दिन नसकेको महसुस गर्दै मृत्युपश्चात् भए पनि अभिभावकत्व पूरा गर्न दाहसंस्कारको काममा अघि सरे । कताकता लासबाट चित्कार आयो ।

‘मेरा प्रिय आफन्तहरू ! म जन्मजात लाटी एउटी अपांग गरिब टुहुरीले तपाईंहरूलाई तृप्त बनाउन सकेँ, गर्व गर्छु । बाँचुन्जेल मेरो भावना जलाएर, शरीरसँग मोज गर्नुभयो अब श्वासविहीन मेरो शरीरलाई जलाएर, खरानी बनाएर के काम ?

बरु टुकाटुक्रा बनाई पकाएर भोज गर्नुहोस् । आखिर तपाईंहरू केवल स्वार्थ पूरा गर्नका लागि मात्र जन्मिनुभएको न हो ।’अघि भर्खरै छोरी सम्झिँदै अभिभावकको कर्तव्य पूरा गर्ने भाषण छाँटेका एकजना पाका भलाद्मी महापुरुष हड्बडिएर अर्कोलाई सोधे, ‘हँ…तपाईंले केही सुन्नुभयो ?’ आवाज झनझन गर्जिन थाल्यो … !

 

प्रतिक्रिया