‘अपांग सिंगिङ आइडल २०१६’ आयोजना हुने

apanga-ideal1काठमाडौं, ८ जेठ । शारीरिक रूपमा अपांगहरूको गायन प्रतिभा प्रस्फुटनको लागि ‘अपांग सिगिङ आइडल–२०१६’ आयोजना हुने भएको छ । अपांग व्यक्तिहरूलाई सामेल गराई नेपालमै पहिलोपटक देशव्यापी रूपमा उक्त प्रतियोगिता हुन लागेको हो ।

देशका पाँचै विकास क्षेत्रका मुख्य सहरहरूमा छनोट राउन्ड गरिनेछ भने फाइनल राउन्ड काठमाडौंमा हुनेछ । कार्यक्रम सम्पन्न गर्न जोडदाररूपमा लागि परेका विश्व साइकलयात्री चित्र पौडेलका अनुसार उक्त प्रतियोगिता असारको अन्त्यसम्ममा सम्पन्न गरिनेछ । उनै पौडेल यस प्रतियोगिताको संयोजकका काम गरिरहेका छन् । पोलियो प्रभावित विश्वकै एक मात्र अपांग साइकलयात्री पौडेलले अहिलेसम्ममा करिब ५५ वटा देशहरू भ्रमण गरिसकेका छन् ।

उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार पुरस्कार प्रदान गरिनेछ । साथै प्रथम हुनेलाई विभिन्न गिफ्ट ह्याम्पर, गिगी एल्बम साथै विभिन्न चलचित्रमा गीत गाउने अफर प्रदान गरिने बताइएको छ । उक्त प्रतियोगितालाई चर्चित गायक राजेशपायल राईलगायत चर्चित कलाकारहरूले निर्णायकको भूमिका निर्वाह गरी अपांगहरूको गायन क्षमतालाई मूल्यांकन गर्नेछन् ।

नेपालयात्रा साप्ताहिकका दिनेश कार्कीले मिडिया संयोजकका रूपमा काम गरिरहेको उक्त प्रतियोगिता नेपालको सन्दर्भमा बिल्कुल नयाँ प्रयोग हुने दाबी गरेका छन् । रिस्क्यु क्रियसनको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिता अपांगता भएकाहरूको सिर्जनशील क्षमतालाई प्रस्फुटन गर्ने उक्त कार्यक्रमको उद्देश्य रहेको रेस्क्यु क्रियसनका अध्यक्ष सुमन अधिकारीले जानकारी दिएका छन् । उक्त प्रतियोगिताको बजार व्यवस्थापन गरिरहेका नेपाल होचापुड्का संघका अध्यक्ष विष्णुलाल गुरुङले यस कार्यक्रमले अपांगहरूको प्रतिभाको सम्मान हुने र उनीहरूलाई समाजले हर्ने नजरमा सकारात्क परिवर्तन आउने बताएका छन् ।

अपांगहरूलाई मायाभन्दा पनि अवसरको खाँचो छ भन्ने मान्यताका साथ गर्न लागिरहेको यस प्रतियोगिताको सफलताको लागि केही व्यावसायिक संस्थाहरूले सहआयोजकका रूपमा काम गर्न इच्छा देखाएको कार्यक्रम संयोजक पौडेलले जानकारी दिएका छन् । यसअघि एल्बम निकालेका अपांग व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने छैनन् भने अन्यले सहभागिता जनाउन ५ सय रुपियाँको फारम भर्नुपर्नेछ । साथै अपांग परिचयपत्र अनिवार्य समावेश गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया