नेपालको इतिहासमा महिलाको लागि यो वर्ष सम्मानको वर्षको रूपमा रह्यो । राष्ट्रका प्रमुख पदहरूमा महिला पुग्नुले पनि यो वर्ष महिलाका लागि विशेष बनेको हो । गणतान्त्रिक नेपालको दोस्रो राष्ट्रपतिका रूपमा पहिलोपटक महिला राष्ट्रपति र सभामुखमा क्रमशः एमाले नेतृ विद्या भण्डारी र एमाओवादी नेतृ ओनसरी घर्ती निर्वाचित भए । न्यायपालिकामा पनि महिला नै आउने भएकी छन् । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको पदावधि सकिनासाथ सुशीला कार्कीले प्रधानन्यायाधीशको पद सम्हाल्ने अवसर प्राप्त गर्नेछिन् । सुशीला यो मुलुकको पहिलो महिला प्रधानन्यायाधीश हुनेछिन् । यसो हुनसके महिलाका लागि यो वर्ष कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा नेतृत्व सम्हाल्ने वर्ष हुनेछ
राष्ट्रपति : विद्यादेवी भण्डारी
नेपालको पहिलो महिला राष्ट्रपति एवं गणतान्त्रिक नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीले जान्ने सुन्ने भएदेखि कम्युनिस्ट विचारबाट राजनीति सुरु गरेकी हुन् । यही पृष्ठभूमिको आधारमा उनी मुलुकको राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिन् । भण्डारीका पति एवं एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधनपछि एमालेमा सक्रिए भएकी हुन् । पतिको निधनपछि काठमाडांै क्षेत्र नं १ मा भएको उपचुनावमा विजयी बनेसँगै उनले संसदीय राजनीतिमा क्रियाशीलता बढाएकी हुन् । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराइलाई हराएर एकाएक चर्चामा आएकी उनले ०५१ को उपनिर्वाचनमासमेत सोही क्षेत्रबाट निर्वाचित भइन् । ०५४ मा पहिलोपटक महिला तथा बालबालिकामन्त्री भएकी भण्डारीले नेपालमा पहिलो महिला रक्षामन्त्रीकोसमेत भूमिका कुशलतापूर्वक निर्वाह गरेकी थिइन् ।
०१८ सालमा भोजपुरको माने मानेभज्याङमा जन्मेकी राष्ट्रपति भण्डारी स्कुल जीवनदेखि नै राजनीतिमा लागेकी हुन् । तत्कालीन माले पार्टीबाट राजनीतिमा लागेकी उनले पार्टी कामकै दौरान भेट भएका नेता मदन भण्डारीसँग ०३९ मा विवाह गरेकी थिइन् । विवाहपछि केहीसमय राजनीतिको अग्रपंक्तिमा नरहेकी भण्डारीको जीवन पतिको राजनीतिमा सहयोगी र दुई छोरीलाई सम्हालेर बितेको थियो ।
०५१को उप निर्वाचनबाट भएको राजनीतिको पुनरागमनपछि ११ कातिक ०७२ मा उनी राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । १२ कात्तिकमा पद तथा गोपनीयताको शपथसँगै उनले पदभार ग्रहण गरेकी हुन् । भण्डारी राष्ट्रपतिमा निर्वाचित भएकामा आमनेपाली महिलाले गर्व गरेका छन् । राष्ट्रपति भण्डारी नेपालमा मात्र होइन विश्वका चर्चित महिलाको सूचीमा समेत परेकी छन् । विश्वका चर्चित व्यक्तिहरूको सूची प्रकाशित गर्दै आएको प्रख्यात पत्रिका फोब्स म्यागेजिनले यसवर्ष भण्डारीलाईसमेत सूचीकृत गरेको छ । यसले नेपाली महिलाको शिर अझ उँचो भएको छ । जर्मन चान्सलरदेखि एन्जेला मार्क, पूर्वअमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन, विल गेट्सकी पत्नी मेलिन्डा, ओवामा पत्नी मिसेल, बर्मेली नेतृ आङसाङ सुकीसँगै भण्डारीको नाम पनि सूचीकृत भएको हो ।
सभामुख : ओनसरी घर्ती
नेपालको इतिहास अर्को सर्वाेच्च अंग व्यवस्थापिकामासमेत पहिलोपटक महिला नेतृत्व स्थापित भएको छ । नेपालको संविधान ०७२ जारी भएलगतै भएको सभामुखको निर्वाचनमा उनी निर्वाचित भएकी हुन् । घर्तीले २९ असोज ०७२ देखि नेपालमा पहिलो महिला सभामुखको जिम्मेवारी सम्हालेकी हुन् । राष्ट्रको दुई प्रमुख पदमा महिलाले पाएको जिम्मेवारीपछि महिलालाई सधैँ प्रयोग मात्र गरिन्छ भन्ने आरोप मिथ्या भएको छ ।
रोल्पाको जंकोट–१ माडिचौरमा ३८ वर्षअघि जन्मेकी घर्ती सशस्त्र संघर्षमा १० वर्ष लडाकुको जीवन बिताएकी एमाओवादीका महिला नेतृ हुन् । प्रारम्भिक शिक्षा गाउँ नजिकै रहेका बालकल्याण प्राथमिक विद्यालयबाट लिएकी उनले सदरमुकाम लिबाङको बालउदय माविबाट एसएलसी उत्तीर्ण गरिन् । ०५२ मा उच्च शिक्षाका लागि उच्च माविमा भर्ना मात्र भएकी घर्तीले त्यही ताका स्कूल छाडेर सशस्त्र संघर्षमा होमिएकी थिइन् ।
०५२ मा तत्कालीन माओवादीको एरिया सदस्य हुँदै एरिया इन्चार्ज, इलाका इन्चार्ज, जनसेनाका बटालियन कमिसार हुँदै हेटौँडा महाधिवेशन र विराटनगर सम्मेलनबाट एकीकृत माओवादीको केन्द्रीय सदस्य बनेकी घर्ती एमाओवादी पोलिट्ब्यूरो सदस्य हुँदै झलनाथ खनाल नेतृत्वको सरकारमा १३ दिने युवा तथा खेलकुदमन्त्रीसमेत बनेकी थिइन् । दोस्रो संविधानसभा निर्वाचनमा उनले रोल्पा २ बाट निवार्चित भएकी थिइन् । उनले उपसभामुखको भूमिकासमेत निर्वाह गरिसकेकी छन् ।
दिग्गज नेताहरूको अगाडि बसेर उनीहरूलाई डो¥याउने दायित्व पाएकी घर्तीले आफूलाइ कमजोर ठानेकी छैनन । जति ठूलो चुनौति र जिम्मेवारी छ त्यति नै उनी गम्भीर बनेकी छन् । भर्खरै जारी भएको संविधान लागू गर्न कानुन निर्माणमा सुझबुझपूर्ण निर्णय गर्ने उनीसँग चुनौति रहेको छ ।
न्यायाधीश : सुशीला कार्की
न्यायालयभित्र इमानदार र हक्की स्वभावकी निडर न्यायमूर्तिका रूपमा चिनिने न्यायाधीश हुन् सुशीला कार्की । बहालवाला प्रधानन्यायाधीश कल्याण श्रेष्ठको कार्यकाल सकिनासाथ कार्कीको पदस्थापन हुने भएको छ । २८ चैतमा संवैधाननिक परिषद्ले उनलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । ०७३ वैशाखको सुरुआतसँगै उनी नेपालको पहिलो महिला प्रधानन्यायाधीश बन्नेछिन् । यसअगाडि पनि उनको नाम न्याय परिषद्बाट सिफारिस भने नभएको होइन । तर, दलीय चलखेलका कारण उनको प्रधानन्यायाधीश बन्ने अवसर गुमेको थियो ।
०६५ सालबाट सर्वोच्च अदालतमा न्यायाधीशको नियुक्त भएकी कार्की सधँै इमानदार न्यायमूर्तिका रूपमा रहेकी छन् । आफ्नो विवेक र कानुनको मर्यादाको ख्याल गर्ने उनको फैसलाले तत्कालीन अवस्थामा वहालवाला मन्त्रीलाई जेलसमेत पु¥याएको थियो । शक्तिका उपल्लो तहमा रहेका व्यक्ति पनि उनको न्याय अगाडि झुकेको दृष्टान्त छन् । निष्पक्ष पैmसला गर्न कसैको प्रभावमा नपर्ने कार्की न्यायालयभित्र अब्बल दर्जामा पर्छिन् ।
नेपालको पहिलो महिला प्रधानन्यायधीशको जिम्मेवारी सम्हाल्ने अवसर उनले पाउँदा मुलुकमा कानुनको शासन अझ बलियो हुने अपेक्षा गरिएको छ । कार्कीले यही वर्षमा प्रधानन्यायाधीशको जिम्मेवारी पाएको खण्डमा नेपालको इतिहासमा नयाँ आयाम थपिनेछ । देशको तीनवटै प्रमुख पदहरू कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका महिलाको हातमा हुनेछ । सायद, यस्तो अवस्था इतिहासमा फेरि दोहोरिन कठिन पनि हुनेछ ।
प्रतिक्रिया