महोत्तरी जिल्लाका दलित वस्तीका महिला अहिले वनजंगलका पातपतिंगर समेटेर राम्रो आम्दानी गरिरहेका छन् । मुख्य रूपमा कृषि मजदुरी गर्दै आएका जिल्लाका दलित वस्तीका मुसहर जातिका महिला फुर्सदको उपयोग गर्दै वनजंगलका पातपतिंगर समेटेर राम्रो आम्दानी गरिरहेका हुन् । अहिले कृषि कार्यमा फुर्सदको बेला भएकाले वनजंगलमा पातपतिंगर समेटेर घरगुजारा टार्ने गरिएको मुसहर समुदायका महिलाको भनाइ छ ।
समेटेर थुप्य्राइएको पातपतिंगर परबर खेती गर्ने किसानले राम्रो मूल्य दिएर लाने गरेपछि आपूmहरूको घरगुजारामा निक्कै राहत भएको २२ किलोमिटर टाढाबाट सोत्तर (सुकेका पात पतिंगर) सोहोर्न हात्तीलेट वनक्षेत्र पुगेकी जिल्लाकै हतिसर्वा–४ जमुनियाँको दलित वस्तीकी बुधनी सदाले बताइन् । अहिले पातपतिंगर समेटेर भएको आर्जनले घरगुजारा चलाएर दैनिकजसो १÷२ सय जोगिने गरेको सो काममा संलग्न महिलाले बताएका छन् ।
जिल्लाका भंगाहा, हतिसर्वा, सिङग्याही, धर्मपुर, हरिहरपुरहरिनमरी र सोनामाईसहितका गाविस वस्तीबाट आएका दलित महिला अहिले जिल्लाको उत्तरी क्षेत्रस्थित वनक्षेत्रमा पतिंगर सोहोर्न व्यस्त देखिएका छन् । जिल्लाका बर्दिवास र गौशाला नगरपालिका एवं हात्तीलेट, बेलगाछी, खयरमारा र लक्ष्मीनियाँ गाविसमा पर्ने वनक्षेत्रमा पछिल्ला १५ दिनयता सयौँको संख्यामा पतिंगर सोहोर्ने महिला देखिने गरेका छन् । वसन्त ऋतु सुरु भएसँगै रूखबुटाका पात झर्न थालेपछि जिल्लाको मध्य क्षेत्रसम्मका मुसहर समुदायका महिला पतिंगर सोहोर्न व्यस्त देखिएका हात्तीलेट–९ का ब्रह्मदेव यादवले बताए ।
परबर रोपिएको जग्गा पातपतिंगरले छोप्दा चिस्यान रहिरहने भएकाले अहिले यसको बिक्री निक्कै बढेको छ । पातपतिंगर (सोत्तर) सोहोर्न अन्य घरकामले नभ्याएका बेला मुसहर महिलाले थालेका कामले आपूmहरूलाई निक्कै सजिलो भएको परबर खेती गर्ने किसानको भनाइ छ । वनक्षेत्रमा सोत्तर (सुकेका पातपतिंगर) सोहोर्न दलित महिलाबीच तँछाड–मछाड नै हुने गरेको देखिन्छ । पतिंगरको किनबेच हुन थालेपछि अहिले यो काम राम्रो रोजगारी बनेको छ । दलित महिलाले फुर्सदको समय उपयोग गर्दै थालेका काममा अन्य समुदायले समेत चासो बढाउन थालेका बर्दिवास उद्योग वाणिज्य संघका महासचिव भवनाथ खतिवडाले बताए ।
वनक्षेत्रमा सोत्तर सोहोर्नेको चहलपहलले वन्यजन्तु र चराचुरुंगी भने भाग्न थालेका छन् । धुम्रपान (बिँडी÷चुरोट) गर्ने लतका महिलाले राम्ररी ननिभाइएको बिँडीचुरोटको ठुटा र सलाईको काँटीले वनमा आगलागीका घटना भने बढाएको वन हेरालुको गुनासो छ । पतिंगर सोहोर्न वनक्षेत्र पुगेका महिलाले भने वनक्षेत्रसँगै जोडिएका वस्तीका बासिन्दाले डढेलो लगाइदिँदा पतिंगर खोज्न भौँतारिनु परेको गुनासो गरेका छन् ।
प्रतिक्रिया