यसरी सकियो भक्तपुरको होली

bhaktapur holiफागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरु भएको फागु अर्थात् होली पर्व संगीतमा रमाउँदै यौनपर्वका रूपमा भक्तपुरका बासिन्दाले १ सातासम्म मनाएका छन् ।

मन्दिरबाट लिंग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि विधिवत् रूपमा होली समापन हुने परम्परा छ । छोरा जन्मन्छ भन्ने विश्वासका आधारमा लिंग बोक्न चाहनेकोे प्रतिस्पर्धा हुने गरेको छ ।

भीमसेन गुठीका गायजुले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि पूर्णिमासम्म ‘भीमसेन देया लज खंग लो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला’ अर्थात् ‘भीमसेनको लिंगले मन लोभियोकी, भाग्नु नपर्ने गरी हेर्न आउनु भयोकी’ जस्ता यौनसँग सम्बन्धित गीत गाएर होलीलाई आजबाट बिदाइ गरेका छन् ।

भक्तपुरको दत्तात्रय मन्दिरअगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रूपमा भीमसेनलाई पुज्दै होली पर्व मनाएको हो । भीमसेन मन्दिरमा भीमसेनको लिंग र द्रौपतीको योनीको प्रतीकलाई झुन्ड्याएर यौन समागमका रूपमा १ सातासम्म प्रदर्शनमा राखिएकामा आज त्यसलाई खोलामा लगेर पखालेपछि होली पर्व विधिवत् रूपमा विसर्जन हुने परम्परा रहेको छ ।

काठबाट निर्मित भीमसेनको लिंगलाई फागुन शुक्ल अष्टमीको दिन बिहान २ जनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, बम्हायणी, च्यामासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे दर्शन एवं पूजा गरी साँझ मन्दिरको पाटीमा झुन्ड्याएको थियो ।

भक्तपुरका संस्कृतिविद् ओम धौभडेल नेवारी परम्पराअनुसार यसलाई चीर स्वायगू (लिंग घुमाएपछि) भनिने बताउँछन् । घुमाएको लिंगलाई स्थानीयवासीले ढोग्ने र दान दक्षिणा दिने परम्परा छ । यसो गरेमा व्यापार फस्टाउने विश्वास रहिआएको स्थानीय व्यापारी माइलाराम श्रेष्ठ बताउँछन् ।

बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिंग र योनी आकारको प्वाल भएको रातो कपडासमेत भीमसेनको मन्दिरमा झुन्ड्याइन्छ । झुन्ड्याएको लिंग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यसलाई विकृतिका रूपमा नभई सांस्कृतिक महत्वको मान्दै भीमसेन र द्रौपतीको यौन समागमका रूपमा संरक्षण गरिँदै आएको स्थानीयवासीको भनाइ छ ।

दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने होली पर्व यहाँ भने भीमसेनसँग सम्बन्धित रहने गरेको संस्कृतकर्मीको भनाइ छ । चीर स्वायगू अर्थात् लिंग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने प्रचलनसमेत रहिआएको छ ।

प्रतिक्रिया