नेपाली जुडोले विभिन्न आरोह र अवरोह पार ग¥यो । भद्र मार्सल आर्टको रूपमा परिचित यो खेलको क्षेत्र साँघुरो छ । त्यतिसारो चर्चा र परिचर्चा छैन । तर, महत्वपूर्ण समयमा यसै खेलले नेपाली जुडोमा केही महत्वपूर्ण उपहार दिएको छ । सातौँ दक्षिण एसियाली खेलकुद मद्रासमा हुँदा नेपालले जितेका ४ स्वर्ण पदक मध्ये ३ पदक जुडोका थिए । काठमाडौंमा आठांै दक्षिण एसियाली खेलकुदको आयोजना हुँदा जुडो खेल समावेश गरिएन । पाकिस्तानमा भएको नवौँ दक्षिण एसियाली खेलकुदमा पनि जुडो खेल अटाएन । कोलम्बोमा सन् २००६ मा भएको दशौँ दक्षिण एसियाली खेलकुदमा जुडोले केही रजत तथा कांस्य पदक जितेको थियो । ११औँ सागमा पनि नेपाली जुडोले केही पदक जित्यो । १२औँ सागमा आइपुग्दा नेपालले जुडोमा नै स्वर्ण पदक जित्यो ।
नेपालको यो सफलतामा महिलाहरूको उल्लेख्य योगदान रह्यो । यसपटकको सागमा फुपूले सफलता पाउनुपूर्व यिनै फुपूसहित लली अधिकारी र सुनीता थापा मगरले एसियालीस्तरको उमेर समूहको प्रतियोगितामा सफलता पाइसकेका थिए । १२औँ सागमा नेपालले पाएका धेरै पदक महिलाले हात पारेका थिए । जुडो खेलमा पनि यसै शृंखला कायम रह्यो । नेपालकै देवु थापा बेइजिङ ओलम्पिकमा सहभागी थिइन् । फेरि रियो ओलम्पिकमा सफलता पाउने लक्ष्यका साथ फुपू हंगेरीमा प्रशिक्षण गरिरहेकी छन् । महिला जुडोवाजले यी सफलता दिलाए पनि नेपाली जुडोमा महिला उपस्थितिको कथा धेरै पुरानो भएको छैन ।
५० को दशक नेपाल मार्सल आर्टको देशको रूपमा छबी बनाउन सफल भएको थियो । ४० को दशकमा नेपालमा मार्सल आर्टले व्यापकता पाउन थालेपछि यसको असर ५० को दशकमा देखापरेको हो । ४० को दशकमै नेपाली महिलाहरूको मार्सल आर्ट क्षेत्रमा व्यापक उपस्थिति रह्यो । यसरी उपस्थिति देखाउने क्रममा ४० को दशकमै आशा ओझा नेपाली मार्सल आर्टमा उदाइन् । ०४१ सालमा नेपाल प्रहरीबाट प्रतिनिधित्व गर्ने १८ वर्षिया आशा जुडोमा प्रवेश गरिन् । केही टिनएजरहरू यो खेलमा प्रवेश गरेपछि नेपालमा बिस्तारै महिलामा पनि यो खेलको प्रभाव बढ्न थाल्यो । महिलाको पनि राष्ट्रिय च्याम्पियनसिप हुन थालेपछि केही समयपछि आशा सुरुआतमा ४७ किलो तौल समूहमा राष्ट्रिय च्याम्पियन भइन् । पछि यो क्रम बढ्दै गएर ५० किलो र ५५ किलोमा पनि कायम रह्यो ।
उनी मिहिनेत गर्दै गइन् । सफलताहरूले उनलाई पछ्याउँदै गयो । यसै क्रममा सन् १९८९ मा दिल्लीमा भएको अन्तर्राष्ट्रिय च्याम्पियनसीपमा उनले कांस्य पदक जितिन् । लखनउमा भएको च्याम्पियनसिप उनले गुमाइन् । घरेलु प्रतियोगिताको हकमा ०५१ सालमा नेपालगञ्जमा भएको छैटौँ राष्ट्रिय जुडो प्रतियोगिताको स्वर्ण पदक उनका लागि महत्वपूर्ण रह्यो । नेपाली खेलकुदका केही वातावरण असहज भएको पनि महसुस उनलाई नभएको होइन । तथापि निरन्तर खेलमै लागिरहेकी उनको जीवनको सम्पूर्ण अंग अन्ततः जुडोसँग नै जोडिन पुग्यो । साफ स्वर्णधारी रमेश बस्ेनतसँग उनी वैवाहिक जीवनमा बाँधिएको २ दशक पार गरिसकेको छ । यसैकारण उनलाई जीवनमा जुडोले नै सबै चिज दिलाएको अनुभव हुन्छ ।
नुवाकोट जिल्लाको नामबाट उनको परिचय खुलेको हो । संयोगवश नेपाली खेलकुद त्यसमाथि पनि मार्सल आर्टमा अत्यधिक महत्वपूर्ण उपलब्धी दिलाउने नुवाकोटकै आशाको बाल्यकाल भने अस्थिर रह्यो । बाबु भारतीय सेनामा जागिरे भएका कारण बाल्यकालका धेरै समय उतै बिताएकी थिइन् ।
काठमाडौं आएपछि सिद्धी गणेश स्कुलमा अध्ययन, प्रहरीको जागिर र जुडो खेल ३ वटै सँगै लैजान सफल उनी खेलाडीको रूपमा यावत सफलतापछि बीचमा जुडोबाट टाढा भएकी थिइन् । बिदेसिएकी उनी नेपाल फर्केपछि फेरि जुडोमा सक्रिय भइन् । ०६० को दशकको आधा समय सकिएपछि उनी फेरी जुडोमा सक्रिय भइन् । यसपछि उनले दोस्रो डान ग्रेडिङ गर्नुका साथै राष्ट्रिय रेफ्रीको प्रशिक्षण लिइन् । लगातार प्रतियोगिता कन्डक्टमा व्यस्त उनी थप कोर्ष गर्दै अन्तर्राष्ट्रिय रेफ्री बन्ने चाहनामा छिन् ।
नेपाली जुडोको यो लामो इतिहासमा थुप्रै स्टारको उदय भएको छ । थुप्रै सफलता नेपाली जुडोले पाएको छ । उल्लेख्य जनशक्ति पनि छ । यसमा महिला जुडोकर्मीको भूमिका पनि उत्साहजनक छ । परन्तु, नेपालमा जुडो खेलको विकासक्रमको चर्चा गर्दा पहलो पुस्ताकी महिला जुडो खेलाडी आशा बिर्सन नहुने नाम बनेकी छिन् । हाल जुडो प्रशासनीक तथा व्यवस्थापनमा समेत चासो दिँदै आएकी उनी काठमाडौं जिल्ला जुडो संघमा समेत आबद्ध छिन् ।
प्रतिक्रिया