धार उस्तै प्रविधिमा केही फड्को

नेपालमा प्रायः प्रदर्शनमा आउने नयाँ नेपाली फिल्मका निर्माता निर्देशक तथा कलाकरहरूले, ‘फरक धारमा बनेको, बिल्कुलै फरक कथामा रहेको, आमदर्शकले हेर्नैपर्ने फिल्म ।’ भन्ने गरे पनि नेपाली फिल्म भने उस्तै कथामा दौडिरहेको छ ।

नयाँ भनिने फिल्मको कथामा त्यस्ता केही नयाँ शैली तथा गुणस्तरता भेटिँदैन । केही फिल्ममा भने कलाकारको अभिनयदेखि लिएर प्राविधिक पाटो उत्कृष्ट तरिकाले बनेको हुन्छ । तर, कथा शैली त्यही पुरानो ढर्राको ।

नेपाली फिल्म इतिहासले ५ दशकको यात्रा पारगरिसकेको छ । फिल्म निर्माण हुनेक्रम तीव्र छ । तर, संख्यात्मक हिसाबले बढी गुणस्तरका हिसाबमा कमी नै रहेको छ । ०७२ मा बनेका केही फिल्मलाई छाडेर हेर्ने हो भने नतिजा सन्तोषजनक देखिँदैन । ०७२ मा पनि थुप्रै फिल्महरू बने । केही फिल्मलाई ‘झुर’कै संज्ञा दिन मिल्नेसमेत देखियो । केही फिल्मको निर्माण प्रविधिमा भएको विकासले पनि बिस्तारै नेपाली फिल्महरू राम्रो प्रविधिमा खिचिनुलाई सकारात्मक मान्न सकिन्छ ।

त्यो भन्दाअघि रंगीन संसारको दुनियाँ नेपालमा यसवर्ष विनाशकारी भूकम्पका कारण खासै चर्चा र चासोको विषय बन्न सकेन । वैशाख १२ मा विनाशकारी भूकम्प आउनुभन्दा एक दिनअघि बहुप्रतिष्ठत मानिएको चलचित्र ‘रेशम फिलिलि’ प्रदर्शनमा आएको थियो । फिल्मले पहिलो दिनमा नै राम्रो व्यापार गर्दा भूकम्पले फिल्मको प्रदर्शन मात्रै हैन करिब ३ महिनासम्म फिल्मका कुनै पनि गतिविधि हुन सकेन ।

यसका बावजुद पनि फिल्म निर्माताहरूले हलमा फिल्म चलाउने निर्णय गरे । त्यसपछि नेपाली सिनेमा हलहरूमा करिब ३ दर्जनभन्दा बढी फिल्म प्रदर्शनमा आए । व्यापकरूपमा प्रचारप्रसार गरिए पनि कतिपय फिल्मले लगानीसमेत उठाउन सकेको अवस्था रहेन ।

कुनै चलचित्र हप्ता दिन पनि हलमा टिक्न मुस्किल पर्दछ । चलचित्रले ५१ दिनको व्यापार ग¥यो भन्ने शब्द त अब लगभग दुर्लभ नै हुन थालेको छ । गतिलो व्यापार गरेका चलचित्रले पनि करिब ३ सातामा हलबाट बिदा माग्छन् । यस्तो समयमा कुनै चलचित्र ७५ दिनसम्म हलमा चल्यो भन्ने सुन्दा जोकोहीलाई पनि अचम्म लाग्न सक्छ । तर, यसैका बाबजुत केही फिल्महरूले सफलताको स्वाद पनि चाखे । यसवर्ष सफलताको स्वाद चाख्ने फिल्ममा कबड्डी फिल्मको सिक्वेन्स ‘कबड्डी कबड्डी’ र परदेशी र भैरव बन्यो । ‘परदेशी’ले आफ्नो सक्सेस पार्टी नै मनायो ।

चैत महिनामा प्रदर्शन हुने चलचित्रलाई छोडर फागुन महिनासम्म भएका फिल्महरू मध्ये केही चलचित्रले मात्र व्यावसायिक सफलताको स्वाद चाखे । फागुन पहिलो हप्तासम्म चलेका ‘क्लासिक’, ‘प्रेमगीत’, ‘पशुपति प्रसाद’, ‘लुटेरा’जस्ता फिल्मले राम्रो व्यवसाय गर्न सक्यो । ‘रेशम फिलिली’, ‘वडा नम्बर ६’, ‘फन्को’लाई दर्शकले कमै साथ दिए भने राजेश हमालको कमब्याक चलचित्र भनेर प्रचार गरिएको फिल्म ‘बागमती’ प्रचार गरे अनुसार हलमा टिक्न सकेन ।

चैत महिनामा बहुप्रतिक्षित भनेर प्रचार गरिएको दिनेश डिसीको ‘फूलै फूलको मौसम तिमिलाई’ , रेखा थापाको ‘रामप्यारी’, छवि ओझाको ‘किस्मत–२’, करिश्मा मानन्धरको ‘फागु’ फिल्मले पनि ०७२ को फिल्म व्यापारमा प्रभाव पार्ने आँकलन गरिएको छ ।

यसबाहेक विभिन्न स्क्यान्डलले नेपाली रंग क्षेत्र चर्चाको शिखरमा रहे । मोडल तथा लोक गायिका ज्योति मगरको उत्तेजक हाउभाउ र छोटो पहिरनकै कारण कार्यक्रम रोकिनु पनि चर्चाको विषय बन्यो । पूर्व पोर्नस्टार सन्नी लियोनी जस्तै पोर्नस्टार बन्छु भनी महेन्द्रनगरी अर्चना पनेरुले दिएको अभिव्यक्ति पनि चर्चित बन्यो ।

विनाशकारी भूकम्पले थलिएको विभिन्न स्थानहरूमा कलाकारहरू पुगेर राहत वितरणलाई पनि तीव्रता दियो । भने हास्य कलाकारद्वय सीताराम कट्टेल(धुर्मुस), कुन्जना घिमिरे(सुन्तली) ले विद्यालय निर्माणको अभियानमा लागेर सबैको मन जितेका थिए । टेलीशृंखलाका कलाकारहरूलाई यसवर्ष भने खल्लो बन्यो । हरेक हप्ता नियमित रूपमा प्रसारण हुँदै आइरहेको हास्यटेलीशृंखला बन्द हुने क्रम ०७२ मै भयो ।

प्रतिक्रिया