संगीताको ‘कथामा अल्झिएको प्रेम’

katha copyकाठमाडौं, ५ फागुन । भिजे तथा टेलिसिरियलको निर्देशनबाट चिनिएकी संगीता श्रेष्ठले आफ्नो साहित्यीक परिचय दिने भएकी छन् । उनले ‘कथामा अल्झिएको प्रेम’ नामक साहित्यक कथासंंग्रह बजारमा ल्याउन लागेकी हुन् । ‘कथा प्रेमका’ टेलिश्रृंखलाको लेखन तथा निर्देशनबाट आफुलाई चिनाएकी श्रेष्ठको यो पहिलो साहित्यीक कृति हो । उनको यो किताब आउँदो शनिबार सार्वजनिक हुनेछ ।

संगीताका अनुसार टेलिभिजनका दर्शकको प्रेरणा र टेलिश्रृंखलाको कथा लेखनबाट उनी साहित्यतर्फ तानिएकी हुन् । उनले टेलिश्रृंखलाका अलावा करिब पाँच दर्जन म्युजिक भिडियो निर्देशन गरेकी छिन् । कथामा अल्झिएको प्रेममा संगीताले फरक उमेर र परिस्थितिबीच हुने प्रेमका घटनाका वर्णनका साथै विद्यालय, कलेज, छरछिमेकदेखि दश वर्षे द्वन्द्वले सिर्जना गरेका परिस्थिति समेटेकी छिन् ।

किताबका बारेमा संगीताले भनिन ‘मैले ‘कथा प्रेमका’ शिर्षकमा सर्ट फिल्म बनाउन थालेपछि बिना संवाद प्रस्तुत हुने म्युजिक भिडियोको तुलनामा संवादसहितको २० मिनेट लामो फिल्म सशक्त हुने रहेछ भन्ने थाहा पाएँ । त्यसपछि आफैँले पटकथा लेख्दा त्यो झनै मिठोसँग अभिव्यक्त भइदियो । त्यसैले मेरो ध्यान लेखनतर्फ मोडियो । यसरी यो किताब तयार भएको हो ।’

प्रकाशक नेपालयका किरणकृष्ण श्रेष्ठको भनाईमा बेग्लै विधामा परिचय बनाएकी संगीतालाई लेखिकाका रूपमा प्रस्तुत गरेर प्रेम दिवसको मौसममा विविधता खोज्ने पाठकलाई पब्लिकेसनले उपहार दिन खोजेको हो । गुलावी आवरणमा ढाकिएको पुस्तकमा दसवटा कथाहरू समेटिएका छन् ।

प्रतिक्रिया