काठमाडौं, ४ फागुन । किरात राई मौलिक कला संस्कृति केन्द्रले वार्षिक रूपमा आयोजना गर्दै आएको सिटिभी मोबाइल मिस राई २०१६ को चौथो संस्करणमा १४ जना सहभागीहरू छनोट भएका छन् । किरातीहरूको नयाँ सम्बत यालेदोङ ५०७६ को अवसरमा आयोजना गरिएको सो प्रतियोगितामा किराती मौलिक संस्कृति कला, संस्कार, किराती इतिहासका बारेमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।
प्रतियोगीहरूलाई किरात राईहरूको उदगम थलोको रूपमा रहेको खोटाङ जिल्लाको तुवाचुङ जायजुम तथा धार्मिक पर्यटकीय स्थल हलेसी गुफाको भ्रमण गराउनका साथै आकर्षक फोटो सुटका साथै विभिन्न किसिमका व्यक्तित्व विकाससम्बन्धी तालिमसमेत दिइने केन्द्रका अध्यक्ष अपर्ण राईले जानकारी दिएका छन् ।
प्रतियोगिताका लागि आँखीसल्ला–४ धनकुटाकी सिर्जना राई, बुइपा–७ खोटाङकी सरिता राई, सप्तेश्वर–५ खोटाङकी सन्तोषी राई, बाहुनी डाँडा–६ खोटाङकी अम्बिका राई, रानीबास–१ भोजपुरकी सन्ध्या राई, धरान–१२ सुनसरीकी निशा राई, कुरुम्वा–९ पाँचथरकी निश्मा राई हलेसी महादेवस्थान–७ खोटाङकी एलिसा राई, बेल्टार–१ उदयपुरकी कबिता राई, थाक्ले–९ ओखलढुंगाकी सीता राई, छिन्ताङ–९ धनकुटाकी निरुता राई रवि–५ पाँचथरकी मीरा दुमि राई, लखनपुर–१ झापाकी रोजिना राई र तोपगाँछी–६ झापाकी मनिला राई छनोट भएका छन् ।
सहभागीलाई ७ फागुनमा प्रजातन्त्र दिवस पारेर भ्रमणका निम्ती पूर्वमा रहेको किरात उत्पत्तीस्थल खुवालुङअर्थात् हलेसी एवं किरात राईहरूको उद्गमस्थल तुवाचुङ जायजुम लैजान लागिएको आयोजकले जनाएको छ । भ्रमणपछि व्यक्तित्व विकास तथा क्षमता अभिवृद्वि तालिम तथा कोरियोग्राफी, ग्रुमिङ गराइने कोरियोग्राफर किरात विन्द्रले जानकारी दिइएका छन् । प्रतियोगिता अन्तिम प्रतिस्पर्धा २९ फागुनमा राष्ट्रिय नाचघर जमलमा हुने उनले बताए ।
प्रतिक्रिया