काठमाडौं, ३ फागुन । चर्चित नाटक ‘मान भर्सेज मति’ पोखरामा पनि मञ्चन भएको छ । सुस्केरा–थिएटर मलको सो नाटक पोखरामा नाटकघर निर्माणको सहयोगार्थ युथ क्रियसन थिएटरको आयोजनामा मञ्च गरिएको हो ।
केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशन रहेको नाटक ‘मान भर्सेज मति’ काठमाडौं मल सुनधारास्थित थिएटर मलमा १० पुसदेखि २ माघसम्म गरी २३ पटक मञ्चन भएको थियो । पोखरा सभागृहमा शुक्रबार भएको यसको २४औँ मञ्चन रहेको निर्देशक श्रेष्ठले जनाएका छन् । पोखरामा निर्माण भइरहेको नाटकघरलाई आर्थिक सहयोग जुटाउन काठमाडौंमा चर्चा कमाएको नाटक पोखराका दर्शकहरूका लागि मञ्चन गरिएको युथ क्रियसन थिएटरका अध्यक्ष कपिल शर्माले बताए । नाटकबाट उठेको रकमबाट नाटक मञ्चनको खर्च कटाएर सबै रकम नाटकघर निर्माणमा खर्चिने नाटकघर निर्माण समितिका संयोजक सौगात पोखरेलले जानकारी दिए । उनका अनुसार शुक्रबारको सोमा करिब १ हजारभन्दा बढी दर्शकले उत्साहजनक रूपमा नाटक हेरेका थिए ।
पोखरामा नाटकघर बनेपछि नियमित नाटक मञ्चन हुने पोखरेलले बताए । पोखरामा नाटक मञ्चन गर्दा खुसी भएको बताउँदै निर्देशक श्रेष्ठले, ‘पोखरामा रंगमञ्चको इतिहास र सक्रियता निकै पुरानो हो, पोखरामा रंगमञ्च फेरि तात्दै छ, यो ताप कायम रहिरहोस् । हामीले यस अभियानमा सानो साथ दिन पाएकोमा औधी खुसी छौँ ।’ र थिएटर मलका नाट्य टोली पोखरामा शुक्रबारै सुरु भएको नेपाल लिटेरेचर फेस्टिबलमा सहभागी भएर आइतबार काठमाडौं फर्कदैछ । नाटक ‘मान भर्सेज मति’ मध्यम वर्गको सामान्य परिवारको अति सामान्य कथामा बुनिएको छ । अझ निश्चित सोच र समय बोकेका निश्चित पात्रको असामान्य लाग्ने सामान्य व्यवहारलाई नै दृश्यात्मक बनाउने प्रयत्न गरिएको छ । एकै परिवारभित्रका फरक उमेर र फरक भोगाइका बीच फरकफरक चाहनाको झोला भिरेका केही पात्रहरू अभिमान र विवेकबीचको द्वन्द्व बोकेर सल्बलाउने प्रयत्न गरेका छन् । नाटकमा अभय बराल, प्रेमवर्षा खड्का, कुशल पाण्डे, सवीर चुरौटे, शारदा अधिकारी, रोजिना श्रेष्ठ र रोशन सुवेदीले अभिनय गरेका छन् । त्यस्तै प्रकाश परिकल्पना घनश्याम श्रेष्ठ, कोरियोग्राफी सुमनसागर जंग केसी, ध्वनी तथा संगीत संयोजन देव न्यौपाने, भिडियो संयोजन विभू पौडेल, सेट निर्माण सुरेश कार्की, रामशरण रेग्मी र शिवशंकर भण्डारीले गरेका हुन् ।
प्रतिक्रिया