‘पुरानो डुंगा’मा दयाहाङ र प्रियंका

purano-dhunga-1 copyकाठमाडौं, २५ माघ । चलचित्र ‘कबड्डी र कबड्डी कबड्डी’ बनाएर चर्चा कमाएका निर्देशक रामबाबु गुरुङको नयाँ बन्ने चलचित्र ‘पुरानो डुंगा’मा दयाहाङ राई र प्रियंकाको जोडी देखिने भएको छ । नयाँ चलचित्रको नाम तथा कलाकारहरूको बारेमा जानकारी दिन काठमाडांैमा पत्रकार सम्मेलन गर्दै निर्माण टोलीले चलचित्रको घोषणा गरेको हो ।

तालको किनारमा डुंगा चलाएर आफ्नो परिवारको जीवोकोपार्जन गरिरहेको भक्तबहादुर भुजेलको भाइ बतासबहादुर भुजेलले अंशमा डुंगा लगिदिएपछि उसको परिवारमा आउने समस्याको वरिपरि यो चलचित्र घुम्नेछ । चलचित्रमा माओत्से गुरुङ, दयाहाङ राई, प्रियंका कार्की, मेनुका प्रधान, वुद्धि तामाङ, पुष्कर गुरुङ, धनबहादुर गुरुङ, सजन थापा, नौजङ गुरुङ, विश्वास गुरुङ र पूर्णिमा गुरुङको मुख्य भूमिका रहनेछ ।

Dayahang-Rai copyरौनक विक्रम कँडेल, ओमचन्द्र रौनियार, धनबहादुर गुरुङ निर्माता रहेको चलचित्रमा बाल्मिकी पोख्रेल र अर्जुन कार्की कार्यकारी निर्माता छन् । रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रमा माओत्से गुरुङको कथा छ । कार्यक्रममा बोल्दै नायिका प्रियंका कार्कीले एउटा राम्रो टिमसँग जोडिन पाउनु आफ्ना लागि सबैभन्दा खुसीको क्षण भएको बताइन् । नायक दयाहाङ राई भने बिरामी भएका कारण कार्यक्रममा उपस्थित भएनन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले चलचित्रलाई सफलताको शुभकामना दिएका थिए । चाँडै नै छायांकनमा जाने यो चलचित्रलाई नेपाली परिवेश अनुसार बनाउने निर्देशकको कथन छ । नायिका प्रियंका कार्की र नायक दयाहाङ राइको जोडी अहिले अधिकांश चलचित्रमा देखिन थालेको छ । यी दुईले आफूहरूलाई मिल्ने साथी बताएका छन् ।

प्रतिक्रिया