बामाको, ५ मंसिर । मालीको एक होटलमा बन्धक बनाइएका व्यक्ति मुक्तगर्ने प्रकरणमा २७ जनाको ज्यान गएको छ । मालीको राजधानी बामाकोमा रहेको ¥याडिसन ब्लु होटलमा पाहुना र होटल कर्मचारी गरी १४० जनालाई हतियारधारीहरुले शुक्रबार बन्धक बनाएका थिए । ती बन्धकलाई मुक्त गर्ने प्रक्रियामा परी कम्तीमा पनि २७ जनाको ज्यान गएको छ । त्यस्तै अरु केही घाइते भएका छन् ।
मालीको सैनिकको विशेष कमाण्डोका साथै फ्रान्सेली र अमेरिकी सेनाको कमाण्डोले पनि सो बन्धक प्रकरणमा काम गरेका थिए । ती सुरक्षाकर्मीहरुको निरन्तर नौ घन्टाको प्रयासपछि बन्धकलाई मुक्त गर्न सकिएको हो । शुक्रबार बिहानै बन्दुकधारी समूहले एकाएक होटलमा प्रवेश गरी पाहुनाहरू बसेका कोठाबाट होटल बाहिर जाने मार्गलाई बन्द गरी अन्धाधुन्ध गोली चलाएका एक प्रत्यक्षदर्शीले बताए ।
सुरक्षाकर्मीले करिब १० जनाको समूहमा बन्दुकधारीले होटलमा धावा बोलेका जानकारी दिएका थिए । उनीहरुले कुनै शर्त नराखी लामो समयसम्म ती पाहुनालाई बन्धक बनाएका हुन् । सुरक्षाकर्मीले करिब नौ घन्टाको निरन्तर प्रयासपछि सम्पूर्ण होटलालाई नियन्त्रणमा लिई अनुसन्धानपछि होटलभित्र फसेका मानिसलाई सुरक्षित बाहिर ल्याएका हुन् । मालीको सुरक्षा निकायले दिएको जानकारीअनुसार १४० जनालाई बन्धक बनाएको सो समूहबाट सबैलाई छुटाउन नसकिएको र त्यस क्रममा २७ जनाको ज्यान गएको बताएको छ ।
साथै सो क्रममा तीनजना आतंककारीको पनि ज्यान गएको छ । उनीहरुलाई कारबाहीमा मारिएको हो वा उनीहरुले आफैमाथि बम विस्फोट गराएका हुन् भन्नेबारे भने प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ । सो आतंककारी कार्यको जिम्मेवारी अल मुराबीटाउन नामक एक आतंककारी समूहले लिएको छ । सो समूह अल कायदाआवद्ध संस्था हो ।
मालीको सरकारले दश दिनको संकटकालको घोषणा गरेको छ । देशैभरिका लागि दश दिने सो सङ्कटकालको घोषणा गरेको समाचारमा जनाइएको छ । त्यसैगरी सरकारले शनिबारदेखि तीन दिनसम्मका लागि राष्ट्रिय शोकको पनि घोषणा गरेको जनाइएको छ । मारिने व्यक्तिको पहिचान खुलिसकेको मालीको गृहमन्त्रालयले जानकारी दिएको छ ।
चौतर्फी निन्दा
यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार अमेरिकी राष्ट्रपति बाराक ओबामाले सो आक्रमणको निन्दा गरेका छन् । उनले यस्ता आतंकवादी क्रियाकलापबाट संसारमा कोही पनि बिचलित नभई आतंकवादविरुद्ध एक भएर लड्न पनि आग्रह गरेको समाचारमा जनाइएको छ । सो हमलाको संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले पनि निन्दा गरेका छन् । उनले ‘सो घटना मालीमा शान्ति खल्बलाउने र नागरिकलाई त्रासमा बाँच्न बाध्य बनाउने एक दुस्प्रयास हो’ भनी टिप्पणी गरेका छन् ।
प्रतिक्रिया