चाडपर्वका रूपान्तरित परिदृश्यहरू

niranjan_acharyaतीज सकियो दसैँ आयो । गर्मी सकिएर सबैजना मन्द शितलताको अनुभूति गर्दै दसैँमा र तिहारको स्वागतमा रमाएर बसिरहेका छौँ । दसैँमा राम्रो लगाउन मिठो खान भनेर वर्षभरि दुःख गरेर जोगाएको सम्पत्ति खर्चँदा कसैको मनमा पनि दुःख देखिँदैन । दसैँले सबैमा हर्ष र उल्लास ल्याउँछ नै । नयाँ नेपालको नयाँ संविधानसँगै खेतमा लगाएको नयाँ धान कुटेर मसिनाको भात खान पाउँदा सबै रमाएका छन् । दसैँ सकिन्छ, तिहार आउँछ । तिहारमा पनि मनमा भएको इच्छा आकांक्षालाई दीपावलीसँगै उत्साहमा परिणत गराइन्छ ।

चाडपर्वहरूको सकारात्मक पक्षसँगै नेपालमा धेरैजसो चाडपर्वहरूमा जुवातास खेल्नु, ओखर खेल्नु, कौडा खेल्नु, लंगुर बुर्जा खेल्नु अभिन्न अंग जस्तै भइसकेको छ । तीज आउनु एक महिना अगाडिदेखि नै दर खाने चलन आउनु, दसैँ आउनु दुई महिना अगाडिदेखि नै काठमाडौंका भित्री गल्ली र चोक चोकमा लंगुर बुर्जाको छ्यांछ्याङ आवाजको वरिपरि लागेको घुइँचोले साइकल, मोटर साइकल र मोटरगाडीहरूले बाटो नपाउनु आजकल दैनिकी नै भइसकेको छ । तिहार र दसैँको नाममा चोकमा ठूलाठूला खाल्डा बनाएर छोड्नु अनि अँध्यारोमा साइकल, मोटरसाइकलहरू खाल्डोमा परेर दुर्घटना हुनु, सानासाना केटाकेटीहरू र बुढाबुढी त्यही खाल्डोमा ठेस लागेर लड्नु साधारण मानिसकिएको छ । पहिले पहिले दसैँको स्वागतमा केटाकेटीहरू “ दसैँ आयो, खाउँला पिउँला…’ भन्ने गर्दथे भने आजकल केटाकेटीहरूलाई दसैँको कुरो सम्झायो भने ‘दसैँ आयो, अब तास खेल्नुपर्छ, तास खेलेर धेरै पैसा जित्नुपर्छ ।’ भन्ने जवाफ आउँछ । दसैँ सकिए लगत्तै तिहारमा ओखर र कौडाको बिगबिगी पाइन्छ । कौडामा आफ्नो सम्पत्ति, जायजेथा सबै हारेर उठिबास लागेका र ऋणमा चुर्लुम्मै डुबेका तीतासत्यहरू पनि सुन्नमा आउँछन् ।

2दसैँका नाममा धेरै पशुपक्षीहरू मारिन्छन् । नेपालभित्रका चाडपर्वहरू जस्तै गडीमाई मेला र अन्य जात्राहरूमा पशुबलिको संसारभर नै विरोध भइरहेका बेला मूल चाड दसैँमा पशुपक्षीहरूको बलि दिएर पवित्र मन्दिरहरूलाई रगताम्य बनाउनु, दूषित अनि दुर्गन्धित बनाइनु कहाँसम्मको सभ्यताको परिचय होला हामी सबैले एकपटक सोच्नै पर्ने बेला आइसकेको छ । दसैँका नाममा चिठ्ठा खोल्ने चलन आउनु, चिठ्ठाका नाममा ठगी हुनु, चिठ्ठाको टिकट लिन बाध्य पारिनु, बजारमा महँगी बढ्नु आजका यथार्थ हुन् जुन हामी सबैलाई छर्लंग छँदै नै छ । दसैँ तिहारको बिदामा पिकनिक जानु र रमाइलो गर्नु त राम्रै हो तर रमाइलोलाई मदिरामय बनाई, रमाइलोको नाममा मदिराजन्य वातावरण मौलाउनु भने विकृतिको एक उदाहारणबाहेक अरू केही होइन ।

तिहार नजिकिँदै जाँदा पटका पड्किएर शान्तमय वातावरण खलबलिनु आजको यथार्थ हो । हुन त नेपालमा पटका पड्काउन पाउने व्यवस्था छैन र राज्यले पटकालाई निषेध पनि गरेको छ, तैपनि पटाकाहरू कुन बाटोबाट नेपाल आउँँछन् र हामी सबैको शान्त वातावरण खल्बल्याउछन्, थाहा छैन । द्यौसी र भैलोको नाममा घरभेटीसँग मनमानी तरिकाले पैसा उठाउनु, घरभेटीले आफ्नो गक्ष्य अनुसार पैसा दिएपछि पनि अटेर भई बस्नु, तथानाम गाली गर्नु पनि आजकल सुनिँदै आएका घटनाहरू हुन् ।

1तिहारमा काग, कुकुर, गाई, गोरु आदिको पूजा गरिन्छ । यसर्थ, मानव जीवनमाथि समस्त पशुपक्षीहरूको देन र योगदान कुनै न कुनै रूपमा सम्झिएर यिनीहरूमाथि आस्थाको भावना राख्ने हामीहरू दसैँजस्तो पवित्र चाडमा किन बलि चढाइरहेका हुन्छौँ, एकपटक सोच्नैपर्ने बेला भइसकेको छ । बुद्धको देशमा हिंसा र बलिप्रथा हुनु हामी नेपालीहरूका लागि लज्जास्पद कुरो हो । त्यसैले दसैँ र अन्य चाडपर्वका नाममा पशुबलि अन्त्य गरी पशुहरू प्रति आदर, सद्भाव, माया र स्नेह राख्दै पशुहरूको पनि जिउन पाउने अधिकारको संरक्षण गर्नुपर्दछ । मानिस जन्मजात मांसाहारी नभई साकाहारी प्राणी हो । ‘अहिंसा परमो धर्म’ भन्ने यथार्थलाई हामी सबैले अंगीकार गर्नुपर्दछ ।

नयाँ नेपाल, नयाँ संविधान र नेपालमा शान्त वातावरण अनि सकारात्मक भावनासँगै चाडपर्वका नाममा अनेक नकारात्मक पक्षहरूलाई हटाउनु हामी सबैको जिम्मेवारी हुन आउँछ । त्यसैले सबैजना नकारात्मक सोचको होडमा नलागी जिम्मेवारीपूर्वक बडादसैँ एवं दीपावलीजस्ता चाडपर्वहरूलाई सकारात्मक र अहिंसामय चाडपर्वमा रूपान्तरित गर्नुपर्ने बेला भइसकेको छ । बडादसैँ एवं दीपावली २०७२ ले हामी सबै नेपालीहरूमा शान्ति, शुभेच्छा र सकारात्मक अहिंसावादी सोचको वीजारोपण गरोस् । दुर्गा माताको शुभ आर्शीवादले हामी सबैको कल्याण होस् ।

प्रतिक्रिया