कार्यालयको काम, बालगृहको हेरचाह, सहकारी सञ्चालनको चटारो अनि अन्य व्यवसायको चाँजोपाँजो मिलाउन उनलाई भ्याइनभ्याई छ । कहिले त खाना खाने समयसम्म पनि हुँदैन । कार्यालयमा काम गर्दागर्दै समय बितेको पत्तो पनि पाउँदिनन् । अग्लो खाइलाग्दो ज्यान, गहुँगोरो अनुहारकी ती महिला दुःख र पीडामा परेका महिलाका लागि बलियो सहारा बनेकी छिन् । अनाथ र असहाय बालकका लागि दैव बनेकी छिन् अनि आत्मविश्वास, परिश्रम र सफलतालाई आत्मसात् गरेकी छिन् । त्यसैले त हिजो हेप्नेहरू पनि आज सम्मान गर्न थालेका छन् । उनी हुन्, काठमाडौं जोरपाटीकी दुर्गा मैनाली । उनलाई धेरैले दुर्गा दिदी भनेर सम्बोधन गर्छन् । महिलाकै क्षेत्रमा क्रियाशील भएर पनि होला उनी सबैकी दिदी बनेकी छिन् । उनको अधिकांश समय सहकारी सञ्चालन, बालगृहको व्यवस्थापन र महिलाहरूसँग नै बित्ने गर्छ । उनको कार्यालयमा काम गर्ने कर्मचारी पनि महिला नै छन्, एक जना गाडी चालकबाहेक ।
तेह्रथुमकी दुर्गा हिजो काम नपाएर भौँतारिँदै धेरै ठाउँमा पुगिन् तर आज उनी हजारौँ महिलाहरूलाई जीविकोपार्जनका लागि सिप सिकाउने माध्यम बनेकी छिन् । यसै काममा उनी निक्कै व्यस्त पनि छिन् । अहिले बुद्धिष्ट बालगृह र जनज्योति सहकारी संस्थाकी अध्यक्ष हुन् उनी । सहकारी संस्थाबाट महिलाहरूका लागि, नेपाली काजग बनाउने, सिलाइ, कटाइसम्बन्धी तालिम दिने, चप्पल बनाउने तालिम र ऋण दिलाउन उनी व्यस्त छिन् । उनी एकल र विपन्न महिलालाई जीविकोपार्जनका लागि सिप सिकाउन र व्यवसाय सञ्चालनका लागि सहकारीमार्फत ऋण उपलब्ध गराउँछिन् ।
हिजो काठमाडौंमा छाक टार्न उनलाई धौधौ थियो तर समयले कोल्टो फेरेको छ । उनको मिहिनेत र परिश्रमले सार्थकता पाएको छ । त्यसैले आज बालगृहमा ३५ जना बालबालिकाको पालनपोषण गर्दै आइरहकी छिन् । २०२६ सालमा जन्मिएकी दुर्गा अहिले ४७ वर्षकी भइन् । सम्पन्न मैनाली परवारकी चौथी छोरी हुन् । उनीभन्दा अगाडि पनि तीन जना छोरी जन्मिसकेका थिए, छोराको पर्खाइमा रहेका उनका बाबुआमाको चाहनाविपरीत उनी जन्मिइन् । त्यसपछि दुर्गाकी आमाबाट छोराको जन्म नहुने भयो भनेर उनका बुबाले दोस्रो विवाह गरे । परिवारमा बिस्तारै छोरा र छोरीबीच भेदभावको रेखा कोरियो ।
गाउँकै सरकारी विद्यालयबाट एसएलसी पास गरेकी दुर्गालाई नर्स बन्ने ठुलो धोको थियो । तेह्रथुममा राम्रो अस्पताल, नर्स र डाक्टर नभएकै कारण दुर्गाकी काकीले सुत्केरी अवस्थामा ज्यान गुमाइन् । त्यसपछि दुर्गालाई नर्स बन्ने रहर जागेको हो । नर्स पढ्नका लागि जिल्लामा सम्भव नभएपछि उनी २०४७ सालमा नर्स बन्ने लक्ष्यका साथ काठमाडौं आइन् । काठमाडौंले उनको लक्ष्य पूरा ग¥यो गरेन त्यो फरक पाटो हो तर उनले सार्थक जीवनको गोरेटो भने अवश्य कोरिन् । त्यस बेला सामान्य पढाइ खर्च घरबाट धाने पनि पर्याप्त थिएन । दयालु स्वाभावकी दुर्गा बाटोमा माग्ने र गरिब दुःखीलाई भेटिन् भने आपूmसँग भए जति पैसा दिन्थिन् । यसैले उनलाई सधैँ पैसाको अभाव हुन्थ्यो । यसैले कामको खोजी चल्न थाल्यो । यसै क्रममा भौँतारिँदा भौँतारिँदै साथीमार्फत् स्वेटर बुन्ने काम पाइन् । त्यतिबेला एउटा स्वेटर बुनेबापत् उनले ३५ रुयैयाँ ज्याला पाउँथिन् ।
बिस्तारै उनले मैन बत्ती बनाउने तालिम लिइन्, त्यहाँ जाँदा ६० रुपैयाँ पाउने लोभले पनि उनी तालिमका लागि आकर्षित भएकी हुन् । केही समयपछि उनले महिनामा १५ वटा स्वेटर बुन्ने र बिहान बेलुका मैन बत्ती बनाउने र पसल पसलमा बेच्ने काम गरिन् । त्यतिबेला उनी सामाजशास्त्र विषयमा क्याम्पस पढ्दै थिइन् ।
मैन बत्ती बेच्दै जाँदा असनको मखन बजारमा एक जना बालिका रोइरहेकी थिइन्, उनलाई आफ्नी आमाले छोडेर गएकी रहिछिन् । उनले त्यो बच्चालाई लिइन्, दुर्गाको काखमा आएपछि बालिका रुन छोडिन् अनि वरपरका देख्ने मानिसले दुर्गा माथि शंका गर्न थाले, त्यो बच्चा उनकै हो भन्ने आरोप लगाए दुर्गाले होइन भन्दा पनि स्थानीयले नानाथरीको गाली गरे, उनी आप्mनै शैलीमा भन्छिन्, ‘सिन्दुर पोते फुकाल्दैमा कोही केटी मान्छे हँुदैन, यो बच्चा यही आइमाईको हो भने । त्यो समाजमा म एकजनाको केही उपाय चलेन बच्चा आफैँले लिएर डेरातर्फ लागेँ ।’
उनको डेरा जोरपार्टीमा थियो डेरामा बच्चा ल्याएको देखेर दुर्गालाई घरबेटीले नानाभाती गाली गरे । उनी भन्छिन्, ‘इज्जत नभएकी रै’छे यो, सोझी मान्छे भनेको त यस्ती पो रै’छ भन्दै बाच्चाकै कारण धेरै गाली गरे । एक जनालाई साहारा दिन खोज्दा सहारा गुम्यो, बस्ने बास पाइएन, घरबेटीले निकाली दिए ।’ उनी अर्कै घरमा डेरा सर्न बाध्य भइन् । त्यो बच्चालाई आफ्नै कोेठामा राखेर उनले पालनपोषण गर्दागर्दै झन्डै ५४ सालसम्म १४ जना यस्तै बच्चा जम्मा भए । उनी १४ बच्चाकी आमा बनिन् । ०४८ सालदेखि बालबालिका पाल्न सुरु गरेकी दुर्गाले ०५४ सालमा बुद्धिष्ट बालगृह नै दर्ता गरिन् । अहिले त्यो बालगृहमा १५ जना बालिका र अन्य बालक गरी ३५ जना छन् । उनको बालगृहमा ४ वर्ष देखि २२ वर्षसम्म उमेरका बालबालिका छन् । त्यहाँ बस्ने बालबालिकाका लागि ८ वर्षदेखि हायात होटलले एक महिनामा दुई सय किलो चामल, पिउने पानी र बालबालिकाको जन्म दिन मनाइदिने गरेको छ । अन्य व्यक्तिहरूले पनि बालबालिकाका लागि चामल, कपडा र विद्यालयले ५० प्रतिशत छुटमा पढाइरहेको छ । २२ वर्ष उमेर पुगेका युवाहरूले भने कलेज पढ्नका लागि आफैँ काम गर्दै पैसा जुटाउँदै गरका छन् । जन्म दिनको अवसरमा बालगृहलाई एक बोरा चामल दिने ३० जना व्यक्तिहरू छन् ।
उनी जन्मेदेखि नै आँखा राम्रोसँग देख्दिनथिन् । कलेज पढ्दा साथीहरूसँग हिँड्दा धेरै ठाउँमा समस्या हुन्थ्यो । बाटोमा हिँड्दा समस्या भएका कारण त्यो आफ्नो कमीकमजोरी उनी साथीहरूलाई सुनाउन चाहन्नथिन् । उनलाई साथीहरू टाढा हुने डर थियो । उनी समस्या आपूmभित्रै राख्थिन् । आँखाले राम्ररी काम नगरेकै कारण सहरमा बसेर पनि उनी साथीको अगाडि पत्रिका पढिनन् तर स्वेटर बुन्ने, लुगा सिलाउने, अचार बनाउने जस्ता धेरै कामहरू उनी गर्नपछि परिनन् । उनले २५ वर्षदेखि अचार व्यवसाय पनि गर्दै आइरेकी छिन् । लप्सी, आँप, आलु, अमला, कागतीलगायतको आचार बनाएर बेच्थिन् । यिनै पेसा बालबालिका पाल्ने आवश्यक खर्च जुटाउने माध्यम बनेको छ । उनले सुरु गरेका हरेक व्यवसायलाई निरन्तरता दिनु पनि उनको सफलताको कडी हो । बच्चा पालेको सुनेपछि घर परिवारले पनि राम्रो नजरले हेरेन । उनले सुनाइन्, ‘तँ घरमा आउनै पर्दैन, तँ त हाम्रा लागि मरिसकिस् भने । मेरा कुनै कुरा सुनेनन् । कुरै नबुझी गाली गरे ।’ अनाथ बालबालिकाको हेरचाह गर्ने क्रममा धेरै नै समस्या आएको उनको अनुभव छ । घर परिवार समाजदेखि काठमाडौंमा सँगै बस्दै आएका साथीहरू पनि टाढिए । अरु पनि धेरै समस्या आएका थिए । यावत् समस्यासँग जुध्दै आप्mनो लक्ष्यमा अडिग रहेकी दुर्गा अहिले धेरै महिला र बालबालिकाको जीवन सुधार्न सफल भएकी छिन् । उनको सहकारी पनि अहिले राम्रोसँग सञ्चालन भइरहेको छ । उनलाई आत्मसन्तुष्टि छ, आपूmले गरेका कामबाट निकै खुसी छिन् । जन्म दिने बाबुआमाले आप्mनो कामलाई नरुचाए पनि आ्फना पतिले आपूmलाई बुझेकोमा उनको आत्मबल अभैm बढेको छ ।
प्रतिक्रिया