टोकियो, ९ भदौ । संयुक्त राज्य अमेरिकाले जापानी राजनीतिज्ञमाथि जासुसी गरेको भनी विकीलिक्सले सार्वजनिक गरेको सूचनाका लागि अमेरिकाले जापानसँग माफी मागेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बुधबार विहान जापानी प्रधानमन्त्री सिन्जो आबेलाई टेलिफोन गरी क्षमा मागेको बताइएको छ ।
बुधबार बिहान अमेरिकी राष्ट्रपति ओबामाले जापानी प्रधानमन्त्री आबेलाई टेलिफोन गरी ‘आरोपमा कुनै सत्यता नभएको भन्दै यदि त्यसबाट दुई देशको सम्बन्धमा कुनै असजिलो महसुस भएमा आफूले अमेरिकी जनताका तर्फबाट क्षमा माग्छु’ भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् ।
उनले यस्ता आरोपबाट आफू बिचलित नभएको र यसले अमेरिका र जापानबीचको असल र सुमधुर सम्बन्धमा कुनै असर नपर्ने धारणा पनि राखेको जापानी सरकारका प्रवक्तालाई उद्धृत गर्दै समाचार आएको छ ।
जापानी सरकारका प्रवक्ता योसिहिदे सुगाले भने, ‘उहाँहरुबीच बुधबार बिहान फोनमा कुराकानी भयो र आगामी दिनमा विश्वव्यापी रूपमा आर्थिक मुद्दामा एक भएर काम गर्ने विषयमा सहमति भएको छ ।’
‘म धेरै नै क्षमा चाहन्छु कि यस हल्लाले जापानी राजनीतिमा पनि नराम्रो प्रभाव पार्न खोजेको छ र एउटा ठूलो बहसको सुरुवात गरेको छ,’ अमेरिकी राष्ट्रपति ओबामाको भनाई उद्धृत गर्दै प्रवक्ता सुुगाले भनेका छन् ।
जापान सरकारको नियमित पत्रकार सम्मेलनका क्रममा बुधबार बिहान प्रवक्ता सुगाले भने, ‘त्यस विषयमा जापानी प्रधानमन्त्रीले पनि गहिरो चासो व्यक्त गर्नुभएको थियो ।’
प्रधानमन्त्री आबेले यस्ता विषयमा जापानी नागरिकले चासो लिए र अमेरिकाका तर्फबाट यी कामहरू भएका थिए भन्ने कुरामा बहस चलाए भने यसले दुई देशबीचको सम्बन्धमा नै दरार उत्पन्न हुनसक्ने आशंका व्यक्त गरेका थिए । यसअघि जापानी प्रधानमन्त्री आबेले अमेरिकी उपराष्ट्रपति जो बाइदेनसँगको वार्ताका क्रममा पनि यस्तै चासो व्यक्त गरेका थिए ।
अमेरिकी राष्ट्रिय सुरक्षा निकायले वर्षाैँदेखि जापानी राजनीतिज्ञका साथै त्यहाँका मुख्यमुख्य कम्पनीबारे अमेरिकाले जासुसी गरेको सूचना केही समयअघि विकीलिक्सले सार्वजनिक गरेको थियो ।
त्यस विषयमा हाल जापानमा ठूलो बहस चलेको छ । जापानी सञ्चारमाध्यमहरुमा यस विषयले बडो चर्चा पाएको छ र त्यहाँका नागरिकले पनि यस विषयको विरोध गरिरहेका छन् ।
जापान एसिया प्रशान्त क्षेत्रका लागि अमेरिकाको सबैभन्दा विश्वासिलो देश हो । यी दुई देशले व्यापार, सुरक्षा एवं प्रतिरक्षाका क्षेत्रमा व्यापक सरसल्लाह र परामर्श गर्ने गर्दछन् ।
प्रतिक्रिया