परिवर्तनको संघारमा नेपाली टेनिस

tennisकाठमाडौं, ३ भदौ । अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यापक सहभागिता, युवा टेनिसको उत्थान र सातदोबाटो टेनिस कोर्टको संरचनामा परिवर्तन । अखिल नेपाल लनटेनिस संघका अध्यक्ष मनोजशमशेर राणाको कार्यकालका महत्वपूर्ण उपलब्धीहरू हुन, यी । लगभग एक दशक नेपाली टेनिसको नेतृत्व गरेका राणाको कार्यकालको महत्वपूर्ण उपहार भनेको जेटिआई(जुनियर टेनिस इन्सेटिभ) परियोजना हो । जसका कारण टेनिस आमव्यक्तिको खेलका रूपमा परिणत भयो । मनोजकै भाषामा ‘टेनिस अब समृद्धको मात्र होइन सबैको खेल हो ।’

सन् २०१५ मा एसियाली स्तरको टेनिस प्रतियोगितामा नेपाली युवा खेलाडीको प्रदर्शनपछि नेपाल अब अन्तर्राष्ट्रिय स्तरको टेनिसमा प्रतिस्पर्धा गर्न सक्षम देशको रूपमा रहेको छ । यी नै महत्वपूर्ण सफलतापछि नेपाली टेनिस अब नयाँ दिशामा प्रवेश गरेको छ । मनोज राणाको स्वर्णिम कार्यकालको समाप्तीसँगै शुक्रबारदेखि नेपाली टेनिस नयाँ युगमा प्रवेश गर्नेछ । शुक्रबार नै टेनिस संघले नयाँ नेतृत्व चयन गर्नेछ ।

गत वर्ष कतारको दोहामा भएको एसियाली राष्ट्रको आइटिएफ यु–१६ टेनिस प्रतियोगितामा तेस्रो स्थान पाउँदै सफलताको सुरुआत गरेको नेपाली टेनिसले त्यसको लगत्तै अर्को सफलता पायो । भियतनाममा भएको आइटिएफ यु–१४ टेनिस च्याम्पियनसिपमा संरक्षक भूषण बज्रचार्यले तेस्रो स्थान पाए । २२ देश सहभागी त्यसै शृंखलामा इरा राउत र एनि माथेमाले पहिलो स्थान पाए । भियतनाममा भएको राष्ट्रिय च्याम्पियनसिपमा संरक्षकले पहिलो स्थान पाए । थाइल्यान्डमै भएको टोयटा रोड टु ओलम्पिक कार्यक्रमअन्तर्गतको प्रतियोगितामा संरक्षकले रजतपदक पाए । त्यस शृंखलामा सक्षम कार्कीले रजतपदक जिते । मलेसियामा भएको वल्र्ड जुनियर च्याम्पियनसिपको गल्र्स स्पर्धामा नेपाली टोली चौथो भयो । यसैगरी, छनोट चरण पार गर्दै माहिका राणा र इरा राउतले रोड टु सिंगापुरका लागि छनोट भए ।

सिनियर प्रतियोगितामा भने नेपाल सहभागितामा सीमित भयो । एसियाड र युनिभर्सिर्टी खेलमा नेपालको उपस्थिति सहभागितामा सीमित भयो । आसन्न कार्यसमितिका लागि केही चुनौती पनि छन् । युवा टोलीले दिलाएको उत्कृष्ट प्रदर्शनलाई अझ निखार्नु आगामी नेतृत्वका लागि पहिलो चुनौती हो । साथै मनोज राणाको नेतृत्वमा रहेको संघले सुरु गरेको भौतिक पुनर्संरचनालाई अघि बढाउनु अर्को चुनौती रहेको छ । ‘हाम्रो युवा खेलाडी र माथिल्लो खेलाडीको बीचमा एउटा ग्याप छ । पछिल्लो समयका राम्रा खेलाडीलाई अझ बढी अवसर दिँदै स्तरीय बनाउनसके हाम्रो भविष्य पनि उज्वल छ ।’ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी ज्योति राणा भन्छिन् । उनी भन्छिन्, ‘५ देखि ८ वर्षको उमेरमै प्रशिक्षण गराउँदै टेनिस परिवारले सबै बच्चालाई पारिवारिक वातावरण दिँदै स्तर वृद्धीमा संघले सहयोग गरेको छ । यसलाई अझ स्तरीय बनाउन हामी लागि पर्नेछौँ ।’

प्रतिक्रिया