लिभरपुलको विवादास्पद जित

लिभरपुल । इंग्लिस प्रियिमर लिग फुटबलअन्तर्गत सोमबार राती भएको खेलमा लिभरपुलले एएफसी बर्नमाउथलाई १–० ले हराएको छ । लिभरपुलको लागि क्रिस्चियन बेन्टेकेको पहिलो गोलसँगै लिभरपुलले जित दर्ता ग¥यो ।

आफ्नै मैदान एन्फिल्डमा लिभरपुललाई विजयी गराउन बेन्टेकेले २६औँ मिनेटमा गोल गरे । उक्त गोल निकै विवादास्पद बन्यो । अफसाइड पोजिसनमा रहेका फिलिप काउन्टिनोको पासमा गोल भए पनि रेफ्रीले गोल दिए । एस्टनभिल्लाबाट आएका बेल्जियमका स्ट्राइकर बेन्टेक खेल अवधिभर निकै हावी भए । उनले खेलको ९०औँ मिनेटमा पनि गोल गर्ने अवसर गुमाएका थिए ।

बर्नमाउथविरुद्धको खेलमा नायक बनेका बेन्टेकेले लिभरपुलको लागि गोलसँगै डेब्यू निकै राम्रो भएको बताए । दोस्रो हाफमा पनि बर्नमाउथले गोलका लागि अवसर गुमायो । उसका लागि टोमी इल्फिकले गोल गर्नुपूर्व लोभ्रेनविरुद्ध फल गरे । खेलको अन्तिम मिनेटमा पनि उसले गोलका लागि अवसर गुमाएसँगै खेल लिभरपुलको हातमा गइसकेको थियो । यसअघि पनि लिभरपुल लिसेस्टरसँग १–० गोल अन्तरले विजयी भएको थियो ।

जितसँगै लिभरपुल प्रिमियर लिगको अंक तालिकामा दुई खेलबाट ६ अंक बटुल्दै तेस्रो स्थानमा उक्लिएको छ । समान ६–६ अंक जोडेका म्यानचेस्टर सिटी र लेस्टर सिटी क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । प्रियिमर लिगको नवप्रवेशी क्लब बर्नमाउथ भने सुरुआती दुई खेलपछि अंकविहीन रहँदै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । (एजेन्सी)

प्रतिक्रिया