‘ब्याट फर नेपाल’ का लागि टोलीको घोषणा

काठमाडौं, १९ साउन । मलेसियाको किन्नरा ओभलमा आगामी आइतबार हुने ‘ब्याट फर नेपाल’का लागि विश्व–११ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान)ले मंगलबार पारस खड्काको कप्तानीमा १३ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेसवाकर, भूवन कार्की, मेहबुब आलम, राजु रिजाल, सिद्धान्त लोहनी, राजेश पुलामी मगर, सोमपाल कामी, अनिल मण्डल, शक्ति गौचन र करन केसी छन् ।
सुवास खकुरेल र विनोद भण्डारी खराब फर्मका कारण टोलीमा नराखिएको तथा सागर पुन र वसन्त रेग्मी चोटका कारण मलेसिया नजाने भएको नेपाल क्रिकेट संघ(क्यान) ले जनाएको छ । उनीहरूको स्थानमा भूवन कार्की, राजु रिजाल र मेहबुब आलमले ठाउँ पाएका हुन् । महेश क्षेत्री र सुवास खकुरेलको अनुपस्थितिमा यू–१९ कप्तान राजु रिजालले विकेट किपरको भूमिका निभाउने छन् ।
‘ब्याट फर नेपाल’ अभियानबाट उठेको करिब ७० प्रतिशत रकम भूकम्पपीडितका लागि तथा ३० प्रतिशत जति रकम नेपाली क्रिकेटकै विकासमा खर्च गरिने क्यानले जनाएको छ ।
यसैबीच विश्व–११ बट तीव्र गतिका श्रीलंकन बलर लासिथ मालिंगाले ‘ब्याट फर नेपाल’ मा नेपालविरुद्व नखेल्ने भएका छन् । मलेसिया क्रिकेट संघका अनुसार टोलीमा मालिंगा नरहेको स्पष्ट पारेको छ । मालिंगाले नेपाल भूकम्पबाट प्रभावित हुने बित्तिकै सुरुआत देखिनै ‘ब्याट फर नेपाल’ अभियानको समर्थन गर्दै खेल्ने बताउँदै आएका थिए । तर, प्रतियोगिता हुने अन्तिम समयमा उनी विश्व–११ को टोलीमा रहेनन् । विश्व–११ टिमको कप्तानी अर्काे श्रीलंकाली लेजेन्ड सनथ जयसूर्याले गर्ने मलेसिया क्रिकेट संघले जानकारी गराएको छ । विश्व–११ को टोलीमा पाकिस्तानका पूर्व विकेटकिपर रसिद लतिफ, बंगलादेशका पहिलो टेस्ट कप्तान अमिनुल इस्लाम, अब्दुल रज्जाक, शोहाग गाजी, अस्ट्रेलियाका स्टिभ ओकिफे, मार्कुस स्टाइनिस, मलेसियाका सुरेश नभरत्नम, अहमद पैmज, वेणुगोपाल राव र सिंगापुरका चेतन सूर्यवंशी छन् ।

प्रतिक्रिया