निःशुल्क झुलको खुलेआम बिक्री

रौतहट, ९ वैशाख । रौतहटका ११ गाविसका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क वितरणमा आएका झुल जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीकै मिलेमतोमा बजारमा महंगो मूल्यमा बिक्री भइरहेको छ । जिल्ला अस्पताल गौरका औलो तथा कालाजार फाटका प्रमुख नन्देश्वर चौधरीलगायत अस्पतालकै कर्मचारीको मिलोमतोमा झुल स्थानीय पसलमा बिक्री गरी गोदामबाट झुल चोरी भएको विवरण बनाइएको छ । चौधरी १५ दिन बिदामा बसेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकी महिला जागरण समाज धनुषामार्फत सात हजार चार सय झुल जनस्वास्थ्य कार्यालयलाई उपलब्ध गराएको थियो । प्राप्त झुलमध्ये चार बोरा झुल कर्मचारीले बजारका व्यापारीलाई आठ सय रुपियाका दरमा बेचेको व्यापारीले स्विकारेका छन् । जिल्ला स्वास्थ्य प्रमुख डा. अखिलेश्वर सिंहले झुल चोरी भएको अस्पताललाई जानकारी नभएको बताए । उनले फाटवालाले झुलको पूर्ण विवरण नदिएको बताए । औलो तथा कालाजार फाटका सहायक हरिश्चन्द्र चौधरीले भने एक महिनाअघि चार बोरा मेडिकेटेड झुल गोदामबाट चोरी भएको बताए  ।
जिल्ला जनस्वास्थ्यका कर्मचारी तथा रौतहटका ११ गाविसमा निःशुल्क झुल बाड्ने जिम्मेवारी पाएको जानकी महिला जागरण समाजका कर्मचारीको पनि झुल बिक्रीमा मिलेमतो पाइएको छ । कालाजार पीडित तथा गर्भवतीलाई वितरणका लागि उपलब्ध मेडिकेटेड झुल पिएसआई नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले  समाजलाई रौतहटमा वितरणका लागि उपलब्ध गराएको हो ।

प्रतिक्रिया