विश्व क्रिकेट लिग च्याम्पियनसिप

nepali-cricket-teamआयर, १३ साउन । आयरल्यान्ड र स्कटल्यान्डमा सकिएको टी–२० विश्वकप छनोट चरणको खेलमा खराब प्रदर्शन गरेको नेपाली क्रिकेट टोलीले घरेलु टोलीविरुद्ध बुधबार अर्काे महत्वपूर्ण आइसिसी विश्वक्रिकेट लिग च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै छ ।

खेल स्कटल्यान्डको आयरमा नेपाली समयअनुसार बुधबार दिउँसो साढे ३ बजे सुरु हुनेछ । आइसिसीका एसोसिएट र एफिलेटेट राष्ट्रको ५० ओभरमा हुने सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता मानिने च्याम्पियनसिपमा नेपाली टोलीले बुधबार स्कटल्यान्डविरुद्ध उसकै घरेलु मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो । च्याम्पियनसिप आगामी सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट खेलको रूपमा समेत लिइएको छ । त्यस्तै, यस प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा आइसिसीले एसोसिएट टोलीलाई आर्थिक सहायतासमेत प्रदान गर्नेगर्छ ।
टी–२० विश्वकप छनोटमा प्रभावशाली प्रदर्शन गर्दै नेदरल्यान्डसँग उपाधि बाँडेको स्कटल्यान्डसँग उसकै घरेलु मैदानमा खेल्न नेपालका लागि सहज हुनेछैन । तर, टी–२० विश्वकप छनोटमा खराब प्रदर्शन गरेपछि नेपाली टोलीमा केही हेरफेर गरिएको छ । सुवास खकुरेल र विनोद भण्डारीलाई खराब प्रदर्शन गरेका कारण फिर्ता बोलाइएको छ । यस्तै, खेलको दौरान घाइते भएका ओपनर सागर पुन घाइते भएपछि घर बोलाइएको छ । उनीहरूको स्थानमा महेश क्षत्री, पृथु बाँस्कोटा र अविनाश कर्णलाई टोलीमा समावेश गरेको छ ।
एकदिवसीय क्रिकेटका लागि निकै भरपर्दो मानिएका ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले पनि आफ्नो क्षमताअनुसारको खेल देखाउन सकिरहेको छैन । त्यस्तै, टोलीका महत्वपूर्ण सदस्य नरेश बुढाएरको प्रदर्शन पनि कमजोर नै छ । कप्तान पारस खड्काले पनि राम्रो खेल्न सकिरहेको छैन । यस्तोमा विश्वक्रिकेट लिगको सुरुआती खेलमा नेपाललाई निकै कठिन हुने अनुमान गरिएको छ । यस्तोमा नेपाल विश्वकप छनोटमा कमजोर प्रदर्शनलाई बिर्संदै बलियो स्कटल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षाका साथ मैदान प्रवेश गर्नेछ । स्कटल्यान्डविरुद्धको खेलअघि आइसिसीसँग कुरा गर्दै नेपाली टोलीका कप्तान पारस खड्काले लामो युरोप बसाइपछि त्यहाँको वातावरणमा घुलमिल भएकाले बुधबार र शुक्रबार हुने घरेल’ टोलिविरुद्ध राम्रो प्रदर्शनको आश गरेको बताएका छन् । आइसिसीसँगको कुराकानीमा पारसले भने, ‘हामी पछिल्लो केही साता यो पिचमा खेलिरहेका छौँ, त्यसैले यो पिचमा कसरी खेल्नुपर्छ भन्नेबारे बुझ्दै छौँ ।’ उनले थपे, ‘स्कटल्यान्ड राम्रो टोली हो । तर, हामी राम्रो योजनाका साथ मैदानमा उत्रर्दै सम्पूर्ण शक्ति लगाएर खेल्यौँ भने स्कटल्यान्डलाई हराउन सक्छौँ ।’ कप्तान पारसले आयरल्यान्डमा टोलीको प्रदर्शन अत्यन्तै कमजोर रहेको भन्दै प्रदर्शन सुधार गर्नैपर्ने आवश्यक रहेको समेत बताए ।
टी–२० विश्वकप छनोटमा उपाधिसहित अर्काे वर्ष भारतमा हुने विश्वकप छनोट भएका स्कटल्यान्डका कप्तान प्रिस्टन मोमसेनले नेपालविरुद्धको खेल जितकै लागि हुने बताए । ‘टी–२०विश्वकप छनोटको जितबाट हामी उत्साही छाँै ।’ आइसिसीसँगको कुराकानीमा मोमसेनले भने, ‘टोलीमा प्रतिभाशाली खेलाडीहरू रहेकाले नेपालविरुद्ध जित निकाल्न आतुर छ ।’ यो आइसिसीको अन्तिम लिग हो त्यसैले हामी समूहको शीर्ष स्थानमा रहन आतुर छाँै, उनले थपे ।
होम एन्ड अवे प्रणालीमा दुई वर्षसम्म चल्ने च्याम्पियनसिपमा नेपाल र स्कटल्यान्ड दुवैका लागि यो पहिलो खेल हुनेछ । स्कटल्यान्डमा नेपालले खेल्ने दुई अवेमध्ये पहिलो खेलमा बुधबार स्कटल्यान्डसँग खेल्न लागेको हो । दोस्रो खेल शुक्रबार हुनेछ । च्याम्पियनसिपमा दुई खेलमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड चार अंकसहित शीर्ष स्थानमा छ । दुई खेलमा एक जित र एक हार बेहोरेको हङकङ, केन्या, युएई र नामिबिया सबैको समान दुइ–दुई अंक छ । दुवै खेल हारेको पपुवा न्युगिनी अंकविहीन छ ।
च्याम्पियनसिपमा चारवटा एकदिवसीय मान्यताप्राप्त टोली सहभागी छन् । बाँकी चार टोली गत जनवरीमा नामिबियामा भएको डिभिजन–२ बाट छानिएका हुन् । नामिबियामा भएको डिभिजन–२ मा शीर्ष दुईमा पर्न असफल भए पनि नेपालले डिभिजन–१ मा उक्लँदै च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो । यसअघि आइसिसीले डिभिजन–१ मा रहेका टोलीलाई मात्रै च्याम्पियनसिपमा सहभागी गराउँदै आएको थियो । तर, आइसिसीले नामिबियाको डिभिजन–२ का शीर्ष चार टोलीलाई पनि च्याम्पियनसिपमा खेलाउने निर्णय गरेपछि नेपालले यो अवसर पाएको हो । आइसिसीले अफगानिस्तान र आयरल्यान्डलाई एकदिवसीय टोलीको बरियतामा बढुवा गर्दै नेपाल र नेदरल्यान्डलाई यो मौका दिएको हो ।

प्रतिक्रिया