‘माओवादीसँग नमिल्न तेस्रो समूहको दबाव’

काठमाडौ, ९ वैशाख । सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवसंग असन्तुष्ट बनेका कांग्रेसका नेताहरुले एकीकृत माओवादीसंग सहमति र सहकार्य नगर्न दबाव दिएका छन् ।
कोइराला र देउवा पक्षसंग असन्तुष्ट नेताहरुले आज राजधानीमा छुट्टै भेलाको आयोजना गरेर माओवादीसंग कुनैपनि हालतमा सहकार्य गर्न नहुने निष्कर्ष निकालेका हुन । कांग्रेसका पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य कुलबहादुर गुरुङको अग्रसरतामा भएको भेलाले माओवादी जस्तो उग्रवामपन्थी सोच भएको दलसंग सहकार्य गर्नु कांग्रेसका लागि उचित नहुने ठहर छ । उनीहरुले पार्टीले अहिलेको परिणाम आउनु माओवादीका कारण भएको भन्दै
सचेत हुन नेतृत्वलाई भनेका छन् ।
उनीहरुले पार्टीका हजारौ नेता तथा कार्यकर्ता र नेपाली जनताले माओवादीकै कारण ज्यान गुमाउनु परेको स्मरण गर्दै सत्तामा पुग्नका लागि माओवादीसंग सहकार्य नगर्न पनि नेतृत्वलाई चेतावनी दिएका छन् ।
कांग्रेसमा सैद्धान्तिक विचलन आएको आरोप लगाएका उनीहरुले सत्तासंग पार्टीको पहिचाहन र सिद्धान्त साटिए कांग्रेस समाप्त हुने जनाएका छन् ।
विपी कोइरालाको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीतिबाट कांग्रेस पूर्ण रुपमा विमुख भएको उनीहरुको निष्कर्ष छ । विपीले प्रतिपादन गरेको आदर्श र सिद्धान्तमा पार्टीलाई नै फर्काउन राष्ट्रिय अभियान सञ्चालन गर्ने उनीहरुले जनाएका छन् ।
उनीहरुले द्वन्द्वका क्रममा मृत्यु भएकालाई शहीद घोषण गरी आश्रित परिवारलाई दश लाख दिन सरकारसंग माग गरेका छन् । अङ्गभङ्ग भएका परिवारलाई उचित क्षतिपूर्ती कब्जा सम्पत्ति फिर्ता गर्नपनि उनीहरुको माग छ ।
विस्थापीलाई पुनःस्थापित गर्न पर्ने भन्दै उनीहरुले सत्यनिरुपण र वेपत्ता आयोग तत्काल गठन गर्न माग गरेका छन् । तर उनीहरुले अभियुक्तलाई क्षमायाचनाको प्रवधान खारेज गर्न आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया